Suvadin, Home

प्रश्नपत्र आउट भएकाेबारे यसरी छानबिन गरिदैछ, के सबै प्रश्नपत्र बाहिरिएको हाेला त ?

जनकपुर,चैत्र १५– प्रदेश २ मा एसइईको सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गर्दै छानबिन सुरु गरिएको छ । यसले बाँकी परीक्षा अन्योलमा परेका छन् भने यसअघि सम्पन्न भएको परीक्षामा पनि प्रश्न उठेको छ ।

प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा एसएलसी तथा एसइई परीक्षाको सवालमा विगतदेखि नै समस्या देखिएको छ । ‘यति परीक्षार्थी निष्कासित, यति परीक्षार्थीको परीक्षा रद्द, यति निरीक्षक अमर्यादित क्रियाकलाप गर्दागर्दै पक्राउ परे, बोराको बोरा चिट बरामद’ जस्ता समाचारहरु आइरहे ।

आइतबारदेखि सुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो। मंगलबार बिदा थियो भने बुधबार गणित विषयको परीक्षा सकियो । बिहीबार र शुक्रबार प्रश्नपत्र आउट भएपछि यसअघि भएको परीक्षाबारे पनि प्रश्न उठेको छ।

यसरी आउँछ केन्द्रबाट प्रश्न

एसइईको प्रश्नपत्र पहिले देशभरि एउटै हुन्थ्यो। संघीयता कार्यान्वयनसँगै प्रदेशगत प्रश्नपत्र बनाउन थालियो। यद्यपि प्रश्नपत्र निर्माण संघबाटै हुन्छ। परीक्षा नियन्त्रण कार्यालयले प्रदेशगत प्रश्नपत्र बनाएर प्रत्येक जिल्ला सदरमुकाममा पठाउँछन्। शिक्षा विकास तथा समन्वय इकाइ समेतको समन्वय रहने गरी जिल्ला प्रहरी कार्यालयमा प्रश्न पत्र राखिन्छ।

जिल्ला प्रहरी कार्यालयमा आएको प्रश्नपत्र शिक्षा विकास समन्वय इकाइका प्रतिनिधि समेतको संलग्नतामा जिल्लाभरिका प्रहरी इकाइहरुमा पुर्‍याइन्छ। प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले भने, ‘अन्य कुनै निकायलाई यसबारे जानकारी हुँदैन। प्रहरी र शिक्षा विकास तथा समन्वय इकाइका पदाधिकारीले प्रश्नपत्र परीक्षा केन्द्रसम्म पुर्‍याउने काम गर्छन्।’

प्रहरी भन्छः शिल खोलिएको छैन

विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो। यो घटनालगत्तै सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले प्रहरीबाट प्रश्नपत्र आउट नभएको प्रतिक्रिया दिए। उनले भने, ‘यो हुँनै सक्दैन। परीक्षा केन्द्र बाहेकका ठाउँमा प्रश्नपत्रको शिल खोलिएकै छैन।’ 

प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले पनि उस्तै प्रतिक्रिया दिए। उनले भने, ‘प्रहरीबाट कुनै किसिमको त्रुटि भएको छैन।’ 

सबै जिल्ला प्रहरी प्रमुखसँग यस विषयमा बुझेको र प्रहरीबाट कतै पनि त्रुटि नभएको देखिएको उनको भनाइ छ।  उनले प्रश्नपत्र कहाँबाट बाहिरियो भन्ने अनुसन्धान भइरहेको बताए । ‘

सबै प्रश्नपत्र बाहिरिएको आशंका

विज्ञान विषयको प्रश्नपत्र एक दिनअगाडि बाहिरिएको र प्रश्नहरुको उत्तर तयार गरी वितरण गरिएको दृष्टान्त सप्तरीमा देखियो। लिक भएको प्रश्नपत्रको उत्तर सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई सेयर गरिएको पाइएको छ।

विभिन्न जिल्लाबाट परीक्षा हलमै विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको अवस्थामा पक्राउ पर्नुले यसको पुष्टि हुन्छ। परीक्षा सुरु भएकै दिनदेखि विद्यार्थीहरुले मोबाइलबाट चिट चोर्नुले सुरुमै प्रश्नपत्र आउट भएको अनुमान गर्न सकिन्छ। अधिकारीहरुले एकसाथ सबै विषयको प्रश्नपत्र आउट भइसकेको पनि आशंका गरेको छ।

 

 

 

 

 


 

More form the Internet

loading...