Suvadin, Home

Cover Image

बर्ड फ्लू सन्त्रासः सरकार भन्छ, - कुखुराको मासु र अण्डा निर्धक्क खानुस्

फर्ममा काम गर्ने वा मासु, अण्डा बिक्रेता कसैलाई पनि हालसम्म नेपालमा बर्ड फ्लूको संक्रमण नदेखिएको व्यवसायीले बताएका छन् । बर्ड फ्लूका कारण निधन भएका व्यक्तिमा बर्ड फ्लू कुन पंक्षीबाट कसरी सर्‍यो भन्ने तथ्य सार्वजनिक नगरिएकोमा भ्याली कोल्ड स्टोरका सञ्चालक रावलले आपत्ति जनाए ।

Author's Commentary

बर्ड फ्लूको संक्रमणलगत्तै सरकारले देशभरमा करिब १० लाख कुखुरा नष्ट गरेको र अहिले देशका कुनै पनि भागमा यस्ता संक्रमण नरहेको श्रेष्ठले प्रष्ट पारे ।

Sb Saud |

काठमाडौं, बैशाख ३१ - बर्ड फ्लूको कारण पहिलोपटक नेपालमै एक व्यक्तिको मृत्यु भएको सरकारले नै पुष्टि गरेपछि कुखुराको मासु र अण्डाका पारखी झस्किएक छन् ।  रोग संक्रमणको डर आफ्ना उपभोक्तामा उब्जेपछि साना र मझौला एवं ठूला व्यावसायी पनी यस क्षेत्रमा थप लगानीका लागि हच्किएका हुन् ।

मासुको खपत घट्यो

नेपालको ठूलो कुखुरा सप्लायर्स मध्येको एक भ्याली कोल्ड स्टारका सञ्चालक हरिकृष्ण रावलकाअनुसार बर्ड फ्लूको समाचारपछि मासु र अण्डा किन्ने ग्राहक निकै घटेका छन् । सामान्य अवस्थामा भन्दा बर्ड फ्लूबाट मानिसको मृत्यु भएको हल्लापछि ३० प्रतिशतले मासुको खपत घटेको उनले बताए ।

व्यवसायीहरु थप चल्ला पाल्ने कि नपाल्ने भन्ने दोधारमा रहँदा कुखुराको चल्लाको मूल्यमा पनि भारी ह्रास आएको छ । अरुबेला ८५ रुपैयाँ पर्ने कुखुराको चल्ला अहिले ३० रुपैयाँमा झरेको छ । तत्काल कुखुराको मासुको मूल्यमा ह्रास नआए पनि ग्राहकमा त्रास र व्यवसायीमा जोखिम लिन नचाहने प्रवृत्तिले यो क्षेत्र धरासायी हुनसक्ने रावलको  भनाइ छ ।

अण्डाको मूल्यमा भारी गिरावट

नेपालमा सरदर दैनिक २६ देखि २७ लाख अण्डा उत्पादन हुने नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसी बताउँछन् ।

प्रतिगोटा १३ रुपैयाँमा बिक्री भइरहेको अण्डा बर्ड फ्लूको हल्लाले यतिबेला ६ रुपैयाँ १५ पैसामा झरेको उनले जानकारी दिए ।

अण्डा र कुखुराको मासु उत्पादनमा नेपाल आत्मनिर्भर मात्रै होइन, निर्यात गर्ने क्षमतामै रहेको व्यवसायीको भनाइ छ । तर राज्य र विषय विज्ञले उचित सहयोग नगर्दा हल्लैहल्लाले व्यवसायको जोखिम बढेको उनीहरु बताउँछन् ।

हल्लैहल्ला, तथ्य खोई ?

जनतालाई सही र पूर्ण सूचना दिन सरकार पनि चुकेको छ । बर्ड फ्लुले एक व्यक्तिको मृत्यु भएको जानकारी दिएर सरकार चुप छ ।

फर्ममा काम गर्ने वा मासु, अण्डा बिक्रेता कसैलाई पनि हालसम्म नेपालमा बर्ड फ्लूको संक्रमण नदेखिएको व्यवसायीले बताएका छन् । बर्ड फ्लूका कारण निधन भएका व्यक्तिमा बर्ड फ्लू कुन पंक्षीबाट कसरी सर्‍यो भन्ने तथ्य सार्वजनिक नगरिएकोमा भ्याली कोल्ड स्टोरका सञ्चालक रावलले आपत्ति जनाए ।

 

यसैबीच बर्ड फ्लूको संक्रमण देशका बिभिन्न भागमा देखिए पनि अहिले पूर्ण नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठले बताए । बर्ड फ्लूकै कारण कुखुरा र हाँसको मासु तथा अण्डा प्रयोग गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

बर्ड फ्लूको संक्रमणलगत्तै सरकारले देशभरमा करिब १० लाख कुखुरा नष्ट गरेको र अहिले देशका कुनै पनि भागमा यस्ता संक्रमण नरहेको श्रेष्ठले प्रष्ट पारे । बर्ड फ्लूका कारण ज्यान गुमाएका युवकलाई भएको संक्रमणबारे अनुसन्धान जारी रहेको भन्दै उनले मासु र अण्डा प्रयोगमा निर्धक्क बन्न आग्रह गरे ।

 

 

 


 

More form the Internet

loading...