Suvadin, Home

बैतडीमा सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या १२१

बैतडी, 

बैतडीको दशरथचन्द नगरपालिका–७ थालिगाडामा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा आएको छ । यो सँगै बैतडीमा सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या एक सय २१ पुगेको छ । 
दशरथचन्द नगरपालिका–६, ७ र २ का केही बस्तीलाई लक्षित गरी बुधबारदेखि थालिगाडामा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको थालिगाडा स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र पन्तले जानकारी दिनुभयो । सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनका लागि कालिका मावि थालिगाडाले भवन उपलब्ध गराएको छ । 

गर्भवती महिलाले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउन र हरेक जन्म सुरक्षित होस् भन्ने उद्देश्यले स्वास्थ्य संस्था बाहिर पनि सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । जिल्लालाई आगामी २०७४ साल असार मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाका लागि सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या विस्तार गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य संस्था टाढा हुनाले पनि कतिपयले सेवा लिन नसक्ने भएकाले सेवाग्राहीलाई नजिकै सुरक्षित प्रसूति सेवा प्रदान गर्नका लागि एक गाविसमा कम्तीमा दुई ठाउँबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको डा अवस्थीले बताउनुभयो । 

दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माको अध्यक्षतामा भएको सुरक्षित प्रसूति सेवा केन्द्र उद्घाटन कार्यक्रममा बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो । बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्दले स्वास्थ्य क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताउनुभएको छ । दशरथचन्द नगरपालिका–७ थालिगाडामा सुरक्षित प्रसूति सेवा केन्द्रको उद्दघाटन गर्दै सांसद चन्दले सुरक्षित प्रसूति सेवा केन्द्रका लागि आवश्यक उपकरण खरिदमा आफूले सहयोग गर्ने बताउनुभएको हो । शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्न सकेमा नागरिकलाई सहज हुने बताउँदै सांसद चन्दले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि आफूले पहल गर्ने बताउनुभयो । 

एक अर्को प्रसङ्गमा सांसद चन्दले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि पनि निर्वाचन आवश्यक रहेकाले तोकिएकै मितिभित्र निर्वाचन हुने कुरामा शङ्का नगर्न आग्रह गर्नुभयो । निर्वाचनका लागि सबै राजनीतिक दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सांसद चन्दले आवधिक निर्वाचनले मात्रै लोकतन्त्र बलियो हुने बताउनुभयो । रासस 
 


 

More form the Internet

loading...