Suvadin, Home

Cover Image

अंगुरबाबा जोशी
नेपालकै पहिलो महिला क्याम्पस प्रमुख

अंगुरबाबाले कहिल्यै विद्यालयमा पाइला टेकेकी छैनन्। घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरिन्। सन् १९४८ मा उनले श्रीमानसँगै एसएलसी पास गरिन्। अंगुरबाबासँग एसएलसीदेखिहरुमा सहाना प्रधान, साधना प्रधान, भुवनराज्यलक्ष्मी राणा थिए। उनले घरमै पढेर सरस्वती सदनमा मानविकी संकायबाट आइए पूरा गरिन्।भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र संस्कृत विषयमा स्नातक गरिन्। एमए को एडुकेसनबाट गरिन्। र, बेलायतमा पढाईसम्पन्न गरी पद्मकन्या क्याम्पसमा अध्यापन सुरु गरेकी हुन्।
अंगुरबाबा जाेशी।

काठमाडौं, वैशाख ८ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदैछ। देशविदेशमा निर्वाचनको चासो र चिन्ता छ। गणतन्त्र नेपालमा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनले रिटायर्ड जीवन बिताइरहेकी नेपालकी पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीलाई पनि चुनावको चासो उत्तिकै छ।

उनी भन्छिन्, ‘म चुनावको पक्षमा छु, असन्तुष्ट संघीय लोकतान्त्रिक मधेसी मोर्चासँग प्रष्ट कुरा गरेर चुनाव गर्नुपर्छ।’ जोशीले लोकतन्त्रको आाधारभूत तत्व नै चुनाव भएको उल्लेख गर्दै यसलाई अवसरकै रुपमा सदुपयोग गर्नु पर्ने बताएकी छिन्।

‘सार्वभौम सत्ता सम्पन्न जनताले आफ्नो हकको उपयोग गर्न पाउनुपर्छ,’ उनले भनिन्, ‘संविधान संशोधनमा कसरी सहमति गर्ने हो, त्यसको जिम्मा नेताहरुले लिनु पर्छ, नेताहरु स्पष्ट हुनुपर्छ, गोलमटोल कुरा गरेर हुँदैन।’

शुभदिनसँग बिहीबारसँग भएको सम्वादमा जोशीले आफू धेरै बोल्न नसक्ने बताइन्। तीन महिनादेखि बिरामी परेर थलिएकी जोशी केहीदिन मात्रै हुँदैन उठेर हिँड्डुल गर्न थालेको। ‘मलाई तीन वटा समस्या छ,’ जोशीले थप प्रष्ट पारिन्, ‘यादव भट्टले मुटुको, निरज जोशीले पेटको र फोक्सोको उपचार गर्दै डा. चोखकीले गर्दै हुनुहुन्छ।’

बिरामी भए पनि पुस्तक लेखनमै व्यस्त

अंगुरबाबा जति नै बिरामी परुन्, उनको पढ्ने र लेख्ने कार्य रोकिँदैन। उनी अहिले पनि पुस्तककै तयारीमा छिन्। वार्षिक रुपमा एउटा पुस्तक अनिवार्य निकाल्ने जोशीले अहिले दीक्षाको अंग्रेजी संस्करण तयार गरिरहेकी छिन्।

‘र, मेरो जीवनी पनि आउँदैछ,’ उनले भनिन्। ८५ वर्षीया जोशीको उत्साह र जोश अहिले पनि कायम छ। ‘इन्टरनेशनल डे’मा पनि लेखिरहेको उनले जनाइन्। अग्रेजी संस्करणमा आउन लागेको दीक्षाक एउटी लाटीमैया नामकी पात्रको चामत्कारिक चत्रिण हो।

आत्मविश्वास र कडा परिश्रमबाटै सफलता हात लाग्छ भन्ने प्रमाण उनले ‘दीक्षा’मार्फत प्रस्तुत गरेकी छिन्। सकेसम्म पढ्ने र लेख्ने अंगुरबाबाको दैनिकी हो। उनी भन्छिन्, ‘म सबै तयारीमै हुन्छु, पुस्तक र अन्य अध्ययनका काम गरिरहन्छु।’

पहिलो महिला क्याम्पस प्रमुख

अंगुरबाबा जोशी अध्ययनशील छिन्। अध्ययनका लागि बेलायत गइन्। नेपाल फर्किएपछि वि.सं. २०१९ मा पद्मकन्या क्याम्पसको प्रमुख भइन्। शिक्षा क्षेत्रमा क्रान्तिकारी कदमको नेतृत्व गरिन्।

करिब दुई दशकसम्म पद्म कन्यामा उनले सेवा गरिन्। १२ वर्षसम्म त उनी क्याम्पस प्रमुखकै जिम्मेवारीमा थिइन्। तर, ‘छोरी भएर’ जन्मिएकै कारण अंगुरबाबाले सानैमा धेरैको धारे हात सहनु परेको थियो।

सानैदेखि मेधावी विद्यार्थी

नेपाली समाजमा अहिले पनि छोरी नजन्माएको दोष लगाएर महिलामाथि आक्रमण गर्ने प्रवृत्ति छ। ‘नेपालका सहरी क्षेत्रमा पनि त्यस्ता अवस्था छ,’ जोशीले भनिन्, ‘त्यति बेला झन कस्तो थियो होला!’

छोरीलाई लक्ष्मी, दुर्गा, महाकाली भनेर पूजा गर्ने यही समाजमा उनी छोरी भएकै कारण अवहेलित हुने स्थिति थियो नै। अंगुरबाबाभन्दा अगाडि नै उनकी दिदी जन्मिसकेकी थिइन्। आफू जन्मिँदा नाति जन्मिने आशामा रहेकी हजुरआमाले, ‘हरे, साहिँली दुलैले फेरि छोरी पाइछे’ भनेको प्रसंग जोशी बेला–बेला सम्झिने गर्छिन्।

उनका बुवाको चिन्ता पनि छोरीको ‘गरिखाने’ विषयमै केन्द्रित थियो। तर, उनले गरि मात्रै खाइनन्। नेपालकै पहिलो महिला क्याम्पस प्रमुख भएर सामाजिक र शैक्षिक रुपान्तरणको मियो नै बनिन्। 

काठमाडौंको बागबजारस्थित घरमा अंजुरबाबासँग कुराकानी गर्दा उनले आफ्नो बाल्यकाल कहिले उत्साहका साथ र कहिलेकाही अनुहारमा अलिकति तनाव लिएर सम्झिने गर्थिन्।

‘घरमै शिक्षक राखेर पढाउने गरिन्थ्यो,’ उनले भनिन्, ‘छोरी अर्कैको घर जाने जात भनेर पढाउने चलन थिएन, अलि सम्पन्न परिवारका छोरीलाई मात्रै पढ्ने सुबिधा थियो।’ यतिसम्म विभेद थियो कि, छोरालाई अंग्रेजी पढाउने र छोरीलाई हिन्दीसम्म पढ्ने सुबिधा थियो।

यही परिवेशमा उनी हुर्किंदै थिइन्। अंगुरबाबा, आफ्ना भाइहरु पढेको हेरेर बस्थिन्। कसैले नदेख्नेगरी किताब पढेर बस्थिन्। संयोगबश, एकदिन शिक्षकले उनका भाइहरुलाई प्रश्न गरे। भाइहरुले शिक्षकले सोधेको प्रश्नको जवाफ दिन सकेनन्।

तर, अलिपरबाटै अंगुरबाबाले प्रश्नको जवाफ दिइन्। ‘संयोगवंश मैले दिएको जवाफ आमाले सुन्नु भएछ,’ उनले हर्सित भावमा भनिन्, ‘त्यही दिनदेखि मैले पढ्न पाएँ।’ उनले अंग्रेजी पनि पढ्न पाइन्।

सानैदेखि जिज्ञाशु स्वभावकी थिइन्, अंजुरबाबा। भाइको ब्रतवन्धका बेला पण्डितले गायत्री मन्त्र सिकाएको देखिन्। उनले पनि गायत्री मन्त्र जान्ने इच्छा व्यक्त गरिन्। भाइलाई सोधेपनि उनले जान्न सकिनन्।

शिवरात्रिका बेला गायत्री मन्त्र लेखिएको तस्बिर किनिन्। र, आउदो पारिन्। गायत्री मन्त्र उनले आउदो मात्रै पारिनन्, सबैलाई सुनाउँदा उनकी हजुरआमा आश्चर्यचकित भएको उनी सम्झिन्छिन्। प्रतिकात्मक रुपमा सामाजिक सुधारको अभियान यसरी नै सुरु भएको थियो।

प्राध्यापन सुरु गरेपछि उनले धर्मशास्त्रमा भएका गल्ती र महिलालाई गरिएको विभेदको अध्यापन नै सुरु गरिन्। अन्धविश्वासविरुद्ध यो उनको मिसाल थियो। 

१० वर्षमै विवाह

‘जति बेला मेरो विवाह भयो, विवाह भनेको के हो भन्ने पनि थाहा थिएन,’ अगुरबाबाले भनिन्, ‘दिदीको त ९ वर्षमै विवाह भयो।’ महिनावारी नहुँदै विवाह गरिदिने त्यतिबेलाको समाजमा उनको विवाह पनि त्यही कुरीतिकै उपज थियो।

डिल्लीबजारका जोशी परिवारका छोरासँग अंगुरबाबाको विवाह निश्चित भयो। सानैमा विवाह भएपछि पनि अंगुरबाबाले सासूआमा र श्रीमानको माया पाएको बताउँछिन्। शिक्षामा पनि उनको ध्यान थियो। 

अंगुरबाबाले कहिल्यै विद्यालयमा पाइला टेकेकी छैनन्। घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरिन्। सन् १९४८ मा उनले श्रीमानसँगै एसएलसी पास गरिन्। अंगुरबाबासँग एसएलसीदेखिहरुमा सहाना प्रधान, साधना प्रधान, भुवनराज्यलक्ष्मी राणा थिए। उनले घरमै पढेर सरस्वती सदनमा मानविकी संकायबाट आइए पूरा गरिन्।

भारतकको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र संस्कृत विषयमा स्नातक गरिन्। एमए को एडुकेसनबाट गरिन्। र, बेलायतमा पढाइसम्पन्न गरी पद्मकन्या क्याम्पसमा अध्यापन सुरु गरेकी हुन्।


 

More form the Internet

loading...