Suvadin, Home

सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

बाजुराका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताएका छन्। 
बाजुराकाे एक सामुदायिक विद्यालय ।

बाजुरा, चैत ८ – जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताएका छन्। 

पौडेलले एक विद्यालयको खेल मैदान बनाउनका लागि रु तीन लाखदेखि रु २० लाख सम्म आएको जानकारी दिए। कार्यक्रममा चैतभित्र ६० प्रतिशत रकम खर्च गरिसक्नुपर्ने प्रावधान रहेको बताउँदै खेल मैदान निर्माण हुनेमा कैलाश तथा पार्वती उच्च मावि, बडिमालिका, मानाकोट, तोली देवल, चोयाकोट र त्रिभुवनेश्वरीका लागि रु २० लाख विनियोजित भएर आएको पौडेलले बताएका छन्।

यस्तै, जीवन ज्योति मावि, धौलपुरी, मष्टेश्वरी, नन्देश्वरी तथा दुर्गा भवानी मावि र गायत्री प्राविले रु १५ लाख पाउने भएका छन्। त्रिभुवन प्राविमा रु चार लाख र पाण्डप प्राविमा रु तीन लाख रूपैयाँ छुट्याइएको छ।

जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हीरेन्द्र रोकायाले जिल्लामा खेलकुदको विकासका लागि यस वर्ष ठूलो रकम आएको बताएका छन्। बजेटले छतारा, कैलाशमाडौं र तोली गाविसमा रहेका विद्यालयलाई बढी प्राथमिकता दिइएको छ।

खेल मैदान अभावका कारण जिल्लाका खेलकुदका कार्यक्रम प्रभावित हुँदै आएका थिए। तर, यो वर्षदेखि खेल मैदान बन्ने भएपछि खेलप्रेमीमा आशा पलाएको छ। 


 

More form the Internet

loading...