Suvadin, Home
Bridge Water

मागअनुसारको आपूर्ति बढ्न नसकेपछि जिल्लामा रगतको अभाव

जिल्लाको सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र सरकारी भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुने गरेको छ। दुर्घटनाका घाइतेका लागि पनि रगत आवश्यक पर्ने गर्छ। 

चितवन, २८ जेठ – चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसम लगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ। 

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १ सय युनिटभन्दा बढी रगतको माग हुने गर्छ। 

जिल्लाको सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र सरकारी भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुने गरेको छ। दुर्घटनाका घाइतेका लागि पनि रगत आवश्यक पर्ने गर्छ। 

जिल्लाका ३ सय संघसंस्थाले तालिका बनाएर रक्तदान गर्ने गरेको भए पनि वैशाख १५ देखि भदौ १५ गतेसम्म विगतका वर्षहरुमा झैँ यस वर्ष पनि रगतको अभाव हुन थालेको उनले बताए। जिल्लामा स्वतःस्फूर्तरुपमा संगठित युवाको संस्था ‘युथ फर ब्लड’, अन्य स्वयंसेवी संस्था र बिरामीका आफन्तले दिएको रगत बिरामीलाई दिइँदै आएको छ। 

क्षेत्रीय रक्तसञ्चार केन्द्रले रगतको माग बढ्ने र मागअनुसारको आपूर्ति बढ्न नसकेपछि प्रोत्साहनका कार्यक्रम शुरु गरेको छ। जसका लागि स्थानीय निकायसँग समन्वय गरी रक्तदान गर्ने संस्थालाई सहयोग गर्न थालिएको छ। 

भरतपुर महानगरपालिकाले एकजना रक्तदाता बराबर रु ५० र भरतपुर महानगरकै वडा नम्बर ३, ४, १२ र २२ ले रु एक–एक सय र वडा नम्बर ६ र ९ ले रु १५० आ–आफ्नो वडामा हुने रक्तदान कार्यक्रमको आयोजकलाई सहयोग उपलब्ध गराउँदै आएका छन्। 

त्यसैगरी रत्ननगर नगरपालिकाले रु १००, खैरहनी नगरपालिकाले रु १००, राप्ती नगरपालिकाले रु ५० र माडी नगरपालिकाले खर्चको आधारमा सहयोग गर्ने जनाएका छन्। 

यससँगै रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्थालाई आर्थिक सहयोगका लागि अन्यत्र भौँतारिनु पर्दैन। नेपाल अण्डा उत्पादक संघले एक रक्तदाता बराबर रु २५ सहयोग उपलब्ध गराउँदै आएको छ। 

१८ वर्षदेखि ६० वर्ष उमेरसम्मकाले रक्तदान गर्न उपयुक्त हुन्छ। रातो रक्तकोषको आयु ९० दिनको हुने गर्छ। सधैँ यो शरीरमा उत्पादन भइरहने र नष्ट पनि हुने गर्छ।

त्यही नष्ट हुने रगत दिएर बिरामीलाई जीवनदान गर्न सकिने भएकाले यसलाई पुण्य कामका रुपमा लिएर रक्तदान गर्ने गर्छन्। पछिल्ला वर्षहरुमा युवा पलायन हुने कारणले रक्तदाताको संख्यामा कमी आएको हो।