Suvadin, Home
Citizen Bank 35.1k

बिपी राजमार्गकाे सडकखण्ड अब दायाँबायाँ १५–१५ मिटर मात्रै कायम गरिने

कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिएका छन्।

सिन्धुली, वैशाख २ – बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५–२५ मिटरबाट १५–१५ मिटर बनाइने भएको छ। 

कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिएका छन्। 

उक्त नगरपालिका वडा नम्बर–७ को बुकापुलदेखि वडा नम्बर–४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५–१५ मिटर कायम गर्न नेपाल सरकारलाई आग्रह गरिने उनको भनाइ थियो। 

नगरपालिकाले यसअघि सडकको दायाँबायाँ ३१–३१ मिटरको क्षेत्रमा जग्गा किनबेच तथा घर निर्माणमा लगाएको रोक अब १० मिटर घटेर २१ मिटरमा कायम गर्न पहल गरिने भएको छ। 

त्यस क्षेत्रमा २०७२ सालभन्दा अघि घर नक्सापास नगरी बनेका घरलाई तत्काल सम्पन्नताको प्रमाणपत्र तथा नियमित भवनको नक्सापास गराउन जग्गाधनी तथा घरधनीलाई समय प्रदान गरिने पनि नगरपालिकाले जनाएको छ।

नक्सा पास नगरी बनेका घरलाई घरधनीको निवेदन, वडाको सिफारिस र घरको नक्सा लिएर ३५ दिनभित्र नगरपालिकामा आए त्यस्ता घरले सम्पन्नताको प्रमाणपत्र पाउने र निर्माण रोकिएका घर तथा नयाँ घरको नक्सा सहजै पास हुने उनको भनाइ थियो। 

नगरपालिकाको यो निर्णयले यस क्षेत्रका दर्जनौँ जग्गा धनीको जग्गा किनबेच, घर निर्माण हुने भएको छ। यसअघि नगरपालिकाले सडकको दायाँबायाँ ३१–३१ मिटरका जग्गा किनबेच तथा घर निर्माण गर्न रोक लगाउँदै आएको थियो। 

बिपी राजमार्गमा पहिला १५ मिटर जग्गाको मात्र मुआब्जा पाएका जग्गा धनीहरु भएको उक्त क्षेत्रमा मात्र सडकको क्षेत्राधिकार दायाँबायाँ १५–१५ मिटर र सडक सुरक्षाका लागि ६ मिटर गरी २१ मिटर कायम गर्ने र अन्यन्त्रको हकमा नेपाल सरकारको निर्णयअनुरुप नै काम हुने उनको भनाइ थियो। 

नगरपालिकाले जग्गा किनबेच तथा घर नक्सा पास नगरिदिँदा दर्जनाैँ भूकम्पपीडितले घर बनाउन पाएका थिएनन्। सरकारले दोस्रो किस्ताको समयावधि थप गरेकाले अब त्यस्ता लाभग्राहीले सहजताका साथ दोस्रो किस्ता लिन पाउने भएका छन्। 

यस्तै नगरपालकाले वडा नम्बर २ को वडा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्ने पनि निर्णय गर्नुका साथै विभिन्न ऐन निर्माण तथा कार्यविधि तयार गरेको छ।


 

More form the Internet

loading...