Suvadin, Home
Nepal life 2.6M

शहरी क्षेत्रमा मोतीविन्दुको समस्या बढ्यो

केही दिन अघि वडानम्बर ११ मा गरिएको शिविरमा ३ सय ५६ जनाको चेकजाँच गर्दा २ सय बढीमा मोतीविन्दुको समस्या देखिएको छ जसमध्ये १ सय १५ जनाको त अप्रेसन गर्नु पर्ने देखिएको छ।

काठमाडाैं, १६ मंसिर – सिद्धार्थनगर नगरपालिका विभिन्न वडाहरुमा गरिएको आँखा शिविरका क्रममा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएका छन्। शहरी क्षेत्रमा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएपछि चिकित्सकहरुले यसको अवस्था जटिल बन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

मारवाडी सेवा संघ, मारवाडी महिला मंच तथा मारवाडी युवा मंच भैरहवाको संयुक्त आयोजना तथा नेपाल नेत्र ज्योति संघ रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा सिद्धार्थनगर वडानम्बर पाँचमा आयोजित आँखा शिविरमा चेकजाँच गराएका दुई सय जनामध्ये सय जनामा मोतीविन्दु भएको पाइएको। तीमध्ये ३८ जनाको तत्काल अप्रेसन गरियो।

केही दिन अघि वडानम्बर ११ मा गरिएको शिविरमा ३ सय ५६ जनाको चेकजाँच गर्दा २ सय बढीमा मोतीविन्दुको समस्या देखिएको छ जसमध्ये १ सय १५ जनाको त अप्रेसन गर्नु पर्ने देखिएको छ। यी दुई शिविरलाई आधार मान्दा पनि पछिल्लो समय मोतीविन्दुको समस्या भयावह बन्दै गएको प्रष्ट हुन्छ।

चिकित्सकका अनुसार मोतीविन्दु जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ। कतिपयमा जन्मजात नै समस्या देखिने गरे पनि विशेष गरी उमेर ढल्कँदै गरेका मानिसहरुमा मोतीविन्दुको समस्या बढी देखिन्छ। अप्रेशनका लागि लामो पर्खाइ, उमेरका कारण अप्रेशन गर्न नमिल्ने अवस्था, महँगो शुल्क, जनचेतनाको अभाव लगायतका कारणले मोतीविन्दुको समस्या नेपालीहरुमा बढ्दै गएको बताइन्छ। 

मोतीविन्दुको रोकथामका लागि कुनै भरपर्दो उपाय छैन तथापी मोतीविन्दु विकसित हुने दर अल्ट्रा भाइलेट किरणबाट बचाउने चश्मा वा गगल्सको प्रयोगबाट कम गर्न सकिन्छ। यस्तै आँखा धमिलो बन्दै गएमा अस्पताल गई समयमै उपचार गरेमा, नियमित चेकजाँच गरेमा पनि मोतीविन्दुबाट बच्न सकिन्छ।

अप्रेसन मोतिविन्दुको एकमात्र उपचार भएकाले सचेत रही समयमै अप्रेसन गरे अन्धोपनबाट बच्न सकिन्छ। खासगरी विपन्न, पिछडा, अस्पतालको पहुँचमा नआएकाहरुलाई लक्षित गरी शिविर राखिएको आयोजकले जनाएका छन्। आयोजकले शिविर भेटिएका विरामीको निःशुल्क अप्रेसन गर्ने समेत जनाएका छन्। उमेरका कारण विकसित हुने मोतीविन्दुले मानिसलाई अन्धोपनसम्म पुर्याउँछ। 

मानिसको उमेर ढल्किंदै जाँदा अल्ट्रा भाइलेट किरण र विकिरणको प्रभाव, धुलोधुँवा, मधुमेह, उच्च रक्तचाप एवं चोटपटक आदि अनेक कारणले मोतीविन्दुले आक्रमण गर्न थाल्छ। चिकित्सकहरुले शहरी क्षेत्रमा नजिकै अस्पताल हुँदाहुँदै पनि धेरैको संख्यामा मोतीविन्दुका विरामी भेटिनुले दुर्गम क्षेत्रमा यसको स्मस्या झनै भयावह हुनसक्ने औल्याएका छन्।


 

More form the Internet

loading...