Suvadin, Home

Cover Image

पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : उपप्रम

उपप्रधानमन्त्री पोखरेलले पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं, ९ मंसिर - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आइतबार बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्दै उनले सार्क र बिम्स्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरीद गर्न लागेको साधनका बारेमा नकारात्मक टिप्पणी गरेको बताए। 

“महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौती सार्न २० वर्षअघि नै ७०० रोपनी जग्गा खरीद भइसकेको थियो, त्यसलाई सञ्चारमाध्यमले अहिले नै भए जसरी प्रचारप्रसार गरेका छन्”, उनले भने। 

१५ वर्षअघिदेखि शुरु भएको यस कलेजलाई उपप्रधानमन्त्री पोखरेलले पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वार्षिक एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेशिने गरेकाले सरकारले प्राविधिक र रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्न लागेको जानकारी पनि उनले गराए। 

राष्ट्रियसभाका सांसद कोमल ओलीले सांसद, मन्त्री, कर्मचारीलगायत जोसुकैले गल्ती गरे पनि पत्रकारिता जगतले खबरदारी गर्नुपर्ने बताइन्। “सञ्चारजगतले सरकारका कमीकमजोरी लेख्ने तर उद्योगपतिले कर नतिरेको समाचार विज्ञापनको स्रोत बन्द हुन्छ भन्ने भयले नलेख्ने गर्नुहुँदैन, पत्रकारले समाचार लेख्दैमा के–के न हुन्छ भन्ने भयबाट कोही पनि डराउनुहुँदैन” उनले भनिन् । 

राजनीति गर्नेले स्पष्ट र इमान्दार हुनुपर्ने सांसद ओलीको भनाइ थियो । कलेजका संस्थापक क्याम्पस प्रमुख डा मञ्जु मिश्रले सन् २००१ जनवरीदेखि अध्यापन शुरु भएको कलेजलाई आमसञ्चार विश्वविद्यालयका रुपमा विकास गर्र्न पूर्वाधार तयार पारिएको बताइन् । 

निजी क्षेत्रलाई समेत विश्वविद्यालय खोल्ने गरी नीति निर्माण गर्न उनले माग गरिन्। सात रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा छ तला र ३४ कोठा छन् । कलेजका लागि चीन र नर्वेले पत्रकारितालाई उपयोगी हुने उपकरण उपलब्ध गराएको जनाइएको छ । 
 


 

More form the Internet

loading...