Suvadin, Home

Cover Image

डेंगु 'एटम बम' बन्‍नु अगावै सरकार गम्भीर बनोस्

सरकारले भने आफू एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने लाचार जवाफ दिइसकेको छ । यी अभिव्यक्तिबाट राज्य यसमा गम्भीरतापूर्वक नलागेको प्रस्टिन्छ। नियन्त्रणका उपाय खोजिएका छैनन् । यही गतिमा  डेंगुको प्रभाव विस्तार हुने हो भने यसले ‘एटम बम’ कै रूप लिन सक्ने खतरासमेत यहाँका चिकित्सकले औंल्याइसकेका छन्। त्यसकारण सरकार गम्भीर हुन आवश्यक छ ।

मौसम परिवर्तनका कारण अहिलेको मानवलगायतका प्राणीले विभिन्‍न खाले चुनौतीको सामना गर्नुपरेको छ । यतिबेला एक विशेष किसिमको लामखुट्टेको टोकाइबाट हुने  डेंगुको त्रास फैलिएको छ । यसले मानवको रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्छ र कालान्तरमा अन्य रोग लाग्‍नसक्ने अवस्थामा पुर्‍याउँछ । विशेषगरी तराईमा बढी देखिने यस रोगको संक्रमण अहिले चिसो हुने ठाउँमा समेत देखिन थालेको छ । 

सन् १९७० भन्दाअघि ९ देशमा मात्र  डेंगु फैलिएको थियो। अहिले यसको प्रभाव सयभन्दा बढी मुलुकमा छ। एडिस एजिप्टाई लामखुट्टेले  डेंगु फैलाएको हो। पोथी लामखुट्टेले मानिसलाई टोकेपछि यसको संक्रमण हुन्छ। यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र त्यही फुल पार्छ। गमलाका थाली, कुलर, चाउचाउका खोल, सडकका खाल्डाखुल्डीमा जमेको पानीमा यस्ता लामखुट्टेले फुल पार्छन्। यस्ता लामखुट्टे ३० देखि ४६ दिनसम्म बाँच्छन् र आफ्नो जीवनकालमा ९ पटकसम्म अन्डा पार्छन्। एक पटकमा डेढ सयभन्दा बढी अन्डा पार्ने यो लामखुट्टे ७ देखि १० जना मानिसलाई टोकेपछि मात्र अघाउँछ। यसको अन्डा लामो समयसम्म सुक्खा ठाउँमा सुरक्षित रहन सक्छ र पानीसँग सम्पर्क हुनासाथ लामखुट्टेमा परिणत हुन्छ। खासगरी यसले मानिसलाई दिउँसो टोक्छ। यसको टोकाइबाट विश्व जनसंख्याको आधा भाग मानिसमा संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ले जनाएको छ।

१५ वर्षपहिला पहिलो पटक झापामा एक विदेशी नागरिकमा डेंगु देखा परेको थियो । यो हरेक वर्ष बढ्दै गएको छ । यसपालि अहिलेसम्म देशका ४२ जिल्लामा पुगेको सरकारी अध्ययनले देखाएको छ । तर, प्रभाव सबैतिर छ । झण्डै ३ हजार ४ सय व्यक्ति यसबाट प्रभावित भइसकेका छन् । केही महिनापहिला धरानबाट फैलिँदै गएको यो रोग अझै नियन्त्रणमा आएको छैन । सुरु भएको थलो धरानमा समेत थप विकराल बनिरहेकै छ। निरन्तर फैलिँदो यसको स्वरूपले सर्वसाधारणमा त्रास फैलाएको छ ।

अहिल  डेंगु हाम्रा लागि नयाँ स्वास्थ्य चुनौती बनेको छ । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने आगामी वर्षहरुमा यसले झन् विकराल रुप लिन सक्छ। यही गतिमा काठमाडौंमा  डेंगुको प्रभाव विस्तार हुने हो भने यसले ‘एटम बम’ कै रूप लिन सक्ने खतरासमेत यहाँका चिकित्सकले औंल्याइसकेका छन्। नेपालमा देखिएका ४ प्रकारका  डेंगु भाइरसमध्ये ‘टाइप टु’ देखिएको छ । यसबाट एकपटक संक्रमित व्यक्ति अर्कोपटक पनि संक्रमण भएमा जटिल रूप लिई मृत्युसमेत हुन सक्ने अवस्था देखिएको छ । 

डेंगु रोग नियन्त्रणबारे छलफल गर्न केही दिनअघि बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपस्थित सांसदहरु आफैंलाई हुने भन्‍नमा त्रसित देखिन्थे । सरकारले भने आफू एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने लाचार जवाफ दिइसकेको छ । यी अभिव्यक्तिबाट राज्य यसमा गम्भीरतापूर्वक नलागेको प्रस्टिन्छ। नियन्त्रणका उपाय खोजिएका छैनन् । यस रोगबारे पर्याप्त अवगत नहुँदा पीडितहरू स्वास्थ्य संस्थामा चेकजाँच गर्नुको सट्टा ‘पेनकिलर’ र ज्वरो निको पार्ने औषधि सेवन गरिरहेका छन् । 

यस्ता औषधिले रोग निको हुनेभन्दा पीडितको स्वास्थ्य अवस्था झन् बिग्रने गर्छ । खेलाँची गर्दा बिरामीको मृत्युसमेत हुने डर हुन्छ। सुरुवाती चरणमै पहिचान भए सजिलै निको हुन सक्छ भन्‍ने सन्देशसमेत सर्वसाधारणसम्म पुग्‍न सकेको छैन। फलतः अज्ञानताकै कारण कोही गम्भीर अवस्थामा पनि वास्ता गर्दैनन् भने कतिपय सामान्य अवस्थामै चिन्तित हुन्छन्। यसबारे जनचेतना जगाउने दायित्व सरकार र सरकारी स्वास्थ्य संस्थाहरूको हो। त्यसमा अभाव खट्किएको छ।

डेंगु नियन्त्रणका लागि आवश्यक बजेट नभएको लाचार जवाफ सरकारका विभिन्न निकायले दिइरहेका छन्। सरकारका निकायबीच आवश्यक सूचना व्यवस्थापन र समन्वयको अभाव देखिन्छ । किट छैन, उपचार छैन, चिकित्सकको अभाव छ जस्ता उत्तर जवाफदेहिता होइनन् ।

यो रोगका लागि नागरिकको ज्यान जोखिममा रहेका बेला बजेटको चिन्ता गरेर पन्छिनु जायज मान्‍न सकिदैन । डेंगु नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सरकारका सबै तहबीच समन्वय गरी एकीकृत कार्यक्रम गर्ने, विपन्नलाई डेंगुबाट बच्न झुल वितरण गर्नेजस्ता कार्य अविलम्ब सञ्चालन गर्नुपर्छ। घरका झ्यालढोकामा जाली लगाउने, बच्चालाई दिउँसो सुताउँदा पनि झुल प्रयोग गर्ने, करेसाबारी र गमलामा पानी जम्न नदिनेजस्ता जनचेतनामूलक कार्यक्रमको खाँचो छ।

यसले मन्त्री र सांसदलाई समेत संक्रमित पारेपछि यसप्रति थोरै चासो गए पनि मुर्तरुप पाउन सकिएको छैन । विभिन्‍न स्थानीय तहले औषधी छर्ने काम गरिरहेका छन् । तर, यो व्यवस्थित बनाउन सकिएको छैन । यसलाई जथाभावी औषधी छर्कँदा यसले पार्ने वातावरणीय तथा अन्य असरका विषयमा सचेतना दिन आवश्यक छ । लामखुट्टे मार्ने उद्देश्यले छर्किएको यस्तो औषधीले पार्ने अन्य प्रतिकुलताका विषयमा पनि ख्याल गरी डेंगुविरुद्ध राष्ट्रिय अभियान सञ्‍चालन गर्न आवश्यक छ । 


 

More form the Internet

loading...