Suvadin, Home
Nepal life 1.831M

आँखा उपचारमा क्रान्ति
को हुन् लाखौं मानिसको ज्योति फर्काउने डा. सन्दुक रुइत?

हो, आँखाको उपचार सेवा नेपाली चिकित्सा क्षेत्रमा माइलस्टोनकै रुपमा स्थापित भएको छ। र, विश्वले नै नेपाली नेत्र चिकित्सकमाथि नजर लगाइरहेका छन्, नेपाली चिकित्सकको कामलाई सलाम गरिरहेका छन्। प्रश्न उठ्छ, कसरी सम्भव भयो त यो? उत्तर सहज छ, ‘नेपालमा डाक्टर सन्दुक रुइतजस्ता नेत्र चिकित्सक छन्, अनि कसरी नहोस्, आँखाको उपचारमा क्रान्ति?’
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइत।

काठमाडौं, वैशाख ८ – प्रायः शरीरका कुनै पनि अंगमा समस्या आए, जटिल स्वास्थ्य समस्या भए, नेपाली नागरिक आफ्ना अस्पताल जाँदैनन्। आर्थिक रुपमा सम्पन्नहरु थाइल्याण्ड, सिंगापुर ताक्छन्।

मध्यम् वर्गीय परिवारका नेपाली भारतको नयाँ दिल्लीदेखि भेल्लोर हुँदै बेङ्लोरसम्म पुग्छन्, स्वास्थ्य उपचार गराउनकै लागि। तर, नेपालमा एउटा यस्तो चिकित्सा सेवा पनि छ, जुन सेवा लिन भारतका सबैजसो राज्यका सहित बंगलादेश, भूटान, चीनको तिब्बत, म्यानमार लगायतका मुलुकबाट बर्सेनि हजारौं मानिस आउने गर्छन्।

हो, आँखाको उपचार सेवा नेपाली चिकित्सा क्षेत्रमा माइलस्टोनकै रुपमा स्थापित भएको छ। र, विश्वले नै नेपाली नेत्र चिकित्सकमाथि नजर लगाइरहेका छन्, नेपाली चिकित्सकको कामलाई सलाम गरिरहेका छन्। प्रश्न उठ्छ, कसरी सम्भव भयो त यो? उत्तर सहज छ, ‘नेपालमा डाक्टर सन्दुक रुइतजस्ता नेत्र चिकित्सक छन्, अनि कसरी नहोस्, आँखाको उपचारमा क्रान्ति?’

सुदूर पूर्वको हिमाली जिल्ला ताप्लेजुङ, जहाँका आमनागरिकलाई आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएर उज्ज्वल भविश्य निर्माण गर्ने कुरा कल्पनाभन्दा निकै टाढाको विषय बन्छ। पढेर असल र सफल नागरिक बन्ने चाहना बोकेका धेरै युवा ताप्लेजुङका गाउँहरुमा हलो जोत्दैछन्।

कोही सदरमुकाम र सडक पुगेको ठाउँदेखि ढाँकरमा भारी हालेर उकालो चढ्दैछन्। कोही चाहिँ अबरको मरुभूमिमा घर फिर्तीको दिनगिन्ती गर्दैछन्। बाकसमा रहेको प्रथम श्रेणीमा एसएससी पास भएको अथवा प्लसटुको प्रमाणपत्र हेरेर आफ्नो कर्मलाई धिक्कार्नु बाहेक उनीहरुसँग अरु कुनै बाटो छैन।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको काउण्टरमा अन्धकारयुक्त जीवन बोकेर हातमा राहदानी थाप्दै गरेका ती युवाहरुले पढ्न पाएका थिए भने कति धेरै मानिसको सेवा गर्न सक्थेहोला। जुन कार्य अहिले डा. सन्दुक रुइत गरिरहेका छन्। 

काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइत लाखौं सर्वसाधारणका आँखाका नानी बनिसकेका छन्। अध्यारो जीवन बाँचिरहेका कयौंका लागि रुइत भगवान हुन्। 
नेत्रचिकित्सक डा. रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गरे।

रुइत यति चर्चित छन् कि, नेत्र चिकित्सासम्बन्धी कुनै पनि मञ्चमा उनको नाम नआएको हुँदैन। विश्वप्रसिद्ध प्रणालीको विकास गरेर उनले लाखौंलाई मोतिबिन्दुको समस्याबाट मुक्त गराइसकेका छन्।

उनले विकास गरेको चिकित्सापद्धति ‘रुइतेक्टोमी’ अहिले विश्वका धेरै मुलुकले अपनाउन थालेका छन्। फलेको वृक्षको हाँगो निहुरिन्छ भनेझैं रुइत पनि सरल छन्, असल छन् र कर्ममा विश्वास गर्छन्। शुभदिनसँगको सम्वादका क्रममा डा. रुइतमा देखिएको शालिनताले यसको पुष्टि गर्छ।

ओलाङचुङगोलाबाट दार्जीलिङ हुँदै काठमाडौं

ताप्लेजुङको अन्तिम हिमाली गाउँ ओलाङचुङगोलाको सीमाना चीनसँग जोडिएको छ। ओलाङचुङगोलाबाट जिल्ला सदरमुकाम आउन ५–६ दिन लाग्छ। भौगोलिक रुपमा विकट, तमोरको शिरमा डा. रुइतको जन्म सन् १९५४ को सेप्टेम्बर ४ तारिखका दिन भएको हो। सन्दुकका बुवा सोनाम रुइत र आमा केसाङ रुइत हुन्। उनकी श्रीमती नन्दा रुइत हुन्। 

कखरा एक जना भन्सार कर्मचारीसँग सिकेका डा. रुइतको पढाई उनको गाउँबाट हिँडेर जाँदा १५ दिन लाग्ने भारतको दार्जीलिङबाट अघि बढ्यो। डा. रुइतका बुवा सोनामले दार्जीलिङस्थित सेन्ट रोबर्ट्स स्कूलमा उनको भर्ना गरिदिए। सन् १९६२ मा चीन र भारतबीच युद्ध हुँदा दार्जीलिङमा सञ्चालित स्कुलहरु बन्द हुन पुगे।

स्थिति तनावपूर्ण भएपछि रुइतलाई काठमाडौं ल्याइयो। ‘बुवाले अहिलेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा भर्ना गरिदिनुभयो, त्यति बेला वनस्थली स्कुल मात्रै भनिन्थ्यो,’ उनले भने।

प्रतिभावान रुइतले कक्षा ८ पढेनन्। उनी ७ बाट सिधैं ९ कक्षामा भर्ना भएका हुन्। र, उनले सन् १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रमथ श्रेणीमै प्रवेशिका परिक्षा एसएलसी पास गरेका हुन्।

काठमाडौंको  त्रिचन्द्र क्याम्पसबाट विज्ञान विषय राखेर प्रविणता प्रमाणपत्र तह (आइएस्सी) पूरा गरे। आइएस्सी सकेपछि कोलम्बो प्लानअन्तरगतको छात्रवृत्तिमा एमबिबिएस पढ्न भारत गए।

‘त्यसपछिको पढाई लखनऊस्थित किङ जर्ज मेडिकल कलेजबाट अघि बढ्यो,’ डा. रुइतले शुभदिनसँग भने। एमबिबिएस पास गरेपछि पनि उनी त्यहाँ अल्मलिएनन्। नेपाल फर्किए। र, वीर अस्पतालमा जनरल फिजिसियन’को जिम्मेवारीमा सेवा सुरु गरे।

‘त्यहाँ मेरो यात्रा केही वर्ष चल्यो,’ उनले भने। तर, उनको पढाईको भोक मेटिएको थिएन। फेरि, भारत गए। अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा एमडी पढ्न सुरु गरे। सन् १९८० देखि सन् १९८४ सम्म एमडी गरेपछि उनी नेपाल आए। र, त्रिपुरेश्वर आँखा अस्पतालमा सेवा सुरु गरेका हुन्। 

एकै परिवारका ६ जनामा मोतिबिन्दु!

डा. रुइत वीर अस्पतालमा काम गर्थे। प्रायः शिविरहरुमा उनी गइरहन्थे। ‘वीर अस्पतालमा काम गर्दा जुनियर डाक्टरको जिम्मेवारीमा शिविरमा गइरहन्थें,’ उनले भने, ‘एकै परिवारका ६ जना मोतिबिन्दु भएको थाहा पाएँ, यस्तो स्थिति देखेपछि नै यही विषयमा विशेषज्ञता हासिल गर्ने सोच आएको हो।’

छोटो अवधिको शल्यक्रियाले पनि मानिसको जीवन उज्यालो आउने थाहा पाएपछि डा. रुइतले आँखाको पढाई थप महत्व दिएका हुन्। 

डा. रुइतले त्रिपुरेश्वर आँखा अस्पतालमा करिब आठ वर्ष काम गरे। सन् १९८७ मा अध्ययनकै लागि अष्ट्रेलिया गए। एक वर्ष अष्ट्रेलियामा अध्ययन गरे। रुइतको दृढता, आत्मविश्वास र कामप्रतिको लगाव देखेर संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक र अष्ट्रेलियाकै अस्पतालका सञ्चालक पनि उनको कामसँग लोभिएका थिए।

प्रस्ताव पनि गरे। तर, उनलाई त्यस्ता प्रस्तावले लोभ्याउनै सकेन। उनी फराकिलो आत्मविश्वास, स्वदेशप्रतिको अग्लो आस्था र आमनागरिकको भरोसा बोकेर नेपाल फर्किए।

अनि खुल्यो आँखा अस्पताल

डा. रुइतलाई लाखौं मानिसको ज्योति फर्काउनु थियो। लाखौंका आँखाबाट संसार हेर्नु थियो। आँखाको उपचार गरिसकेपछि जीवनमै पहिलो पटक रुइतलाई देख्नेहरु धेरै छन्। उपचार सफल भएपछि आफ्ना आँखाको शल्यक्रिया गर्ने डाक्टर अगाडि देख्दा धेरै बिरामी उनका अगाडि मुस्कुराएका छन्, कति त खुशीले रोएका पनि छन्। 

रुइतले यही अभियानका लागि अस्पताल स्थापना गर्ने सोच बनाएका थिए। रुइतका अनुसार अष्ट्रेलियाली नागरिक डाक्टर हलोजले उनको योजना पूरा गर्न सहयोग गरे। त्यसैको उपजस्वरुप सन् १९९४ मा तिलगंगा आँखा प्रतिष्ठानको स्थापना भयो। तिलगंगा अस्पताल मानव संसाधन तालिम केन्द्रको रुपमा स्थापित भएको छ।

अस्पताल स्थापनाकै लागि अष्ट्रेलियको फ्रेड हलोज फाउण्डेशन, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, साहित्यकार जगदीश घिमिरे, उद्यमी रवीन्द्र श्रेष्ठ, उद्योगी दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ, डा. रीता गुरुङको साथ पाएपछि उनको अभियानले नयाँ उचाई लिन बेर लागेन।

सन् २००६ मा विश्व प्रसिद्ध पुरस्कार रमन म्यागसेसे पुरस्कार विजेता डा. रुइतले कयौं सम्मान प्राप्त गरिसकेका छन्।

आँखाको हेरचाह कसरी गर्ने?

डा. रुइतका अनुसार आँखाको हेरचाह गर्ने धेरै मेहनत गर्नु पर्दैन। सानो होसियारीले पनि आँखा स्वास्थ्य राख्न सकिन्छ। ‘आँखा स्वास्थ्य राख्न केही सहज विधि छन्,’ उनले थपे, ‘सानो सजगताले पनि हामी सुरक्षित रहन सक्छौं।’

रुइतका अनुसार आफ्ना बालबालिकालाई स्कुलमा भर्ना गर्दा नै आँखा परीक्षण गराउनु पर्छ। शिक्षकले बालबालिकालाई एउटा आँखा छोप्न लगाएर परीक्षण गर्नु पर्ने उनले बताएका छन्।

‘एउटा आँखामा समस्या आइरहेको हुन्छ,’ उनी भन्छन्, ‘यसरी जाँच गर्दा बालबालिकाको समस्या थाहा हुन्छ, र उपचार गर्न सहज हुन्छ, यो कार्य कक्षा एक वा नर्सरीमै हुनुपर्छ।’ खेतीपाती वा अरु कुनै काम गर्दा आँखामा धुलो पस्ने उल्लेख गर्दै रुइतले अन्य केही समस्या आए स्वास्थ्य केन्द्र जान सुझाव दिएका छन्।

‘नयाँ जीवन शैली र खानपान पनि आँखाको समस्याको कारक भइरहेको छ,’ डा. रुइतले भने, ‘त्यसैले खानपानमा सुधार, शारीरिक अभ्यास र नियमित आँखा परीक्षण गर्नुपर्छ।’ उनले चिकित्सकको सल्लाहबिना औषधि प्रयोग नगर्न सुझाव दिएका छन्।

सरकारसँगको अपेक्षा

डा. रुइतले विकास गरेको आँखाको उपचार पद्धति एशियाली मुलुकदेखि अफ्रिकासम्म पुगेको छ। ‘तर, नेपालमा आँखाको उपचारका लागि जति काम भयो, त्यो सबै संघ–संस्थाकै प्रयासमा भएको छ,’ उनले भने, ‘सरकारको योगदान एकदमै थोरै छ।’ सरकारले ती संघ–संस्थालाई परिचालन गर्नुपर्ने, प्रोत्साहन गर्नुपर्ने र हातेमालो गर्नु पर्ने उनले बताए। 

मोतिबिन्दुको शल्यक्रियालाई सरलीकरण गर्ने मूल्यमा कमी गर्ने र समुदायमा पुर्याउने योजना पनि रुइतले सुनाए। ‘यो सेवालाई दीगो तरिकाले विकास गर्नु पर्ने छ,’ उनले भने, ‘आर्थिक रुपमा सबलबाट रकम लिने र त्यो रकम आर्थिक रुपमा विपन्नलाई स्वास्थ्य पहुँच पुर्याउने हाम्रो लक्ष्य छ।’


 

More form the Internet

loading...