Suvadin, Home

फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित

नियमितरुपमा फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित बन्दै गएको छ। सदरमुकामभित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर वस्तु थुप्रिँदै गएको छ। बजार क्षेत्रका तरकारी तथा फलफूल पसलमा बेच्न राखिएका खाद्य वस्तुसँगै जोडेर फोहोरले भरिएका बोरा राख्न थालिएको छ भने जिल्ला समन्वय समितिको कार्यालयकै अघि पर्ने सडक छेउमा फोहोर सडेर दुर्गन्ध नै आउन थालेको छ।
ताप्लेजुङ।

सन्तोष पुर्कुटी ताप्लेजुङ, वैशाख ७- नियमितरुपमा फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित बन्दै गएको छ। सदरमुकामभित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर वस्तु थुप्रिँदै गएको छ।

बजार क्षेत्रका तरकारी तथा फलफूल पसलमा बेच्न राखिएका खाद्य वस्तुसँगै जोडेर फोहोरले भरिएका बोरा राख्न थालिएको छ भने जिल्ला समन्वय समितिको कार्यालयकै अघि पर्ने सडक छेउमा फोहोर सडेर दुर्गन्ध नै आउन थालेको छ।

दैनिक दर्जनौं सवारीसाधन पार्किङ गरिँदै आएको तोक्मेस्थित बसपार्क फोहोरले भरिएको छ। वरिपरिबाट फोहोर वस्तु फालिएको पाइएको छ भने यात्रुले प्रयोग गरेका प्लास्टिकजन्य वस्तु यत्रतत्र छरिएर रहेका पाइन्छन्। सडकका पेटीमा वारपार फोहोर भरिएका बोरालाई नै राखिएको छ भने बजार बीचमा नै फोहोर जलाउने गरिएकाले धुवाँधुलोसमेत बढ्दै गएको छ।

करिब तीन महिनादेखि फोहोर सङ्कलन नभएको गुनासो गर्दै तोक्मे बजारका व्यापारी घनश्याम तिमल्सिनाले फोहोरले आफ्नै पसलको स्टोर भरिएपछि नजिकै लगेर जलाएको बताए।

यसरी बढ्दै गएको फोहोरका कारण स्थानीयवासी त मारमा परेका छन् नै दैनिक सयौँको सङ्ख्यामा आउने पाथीभरा जाने तीर्थयात्री एवम् पर्यटकले समेत फोहोरको समस्या बेहोर्न बाध्य बनेका छन्। महिनैपिच्छे फरक-फरक मान्छे फोहोर सङ्कलन गरेको पैसा भन्दै माग्न आउँछन् तर नियमित फोहोर सङ्कलन नहुने गरेको स्थानीयवासीको भनाइ छ।

फोहोर सङ्कलनका लागि एउटा टिपर थन्क्याएर बसेको नगरपालिकाको कार्यालयले भने स्थानीयवासीले पैसा नदिएर समस्या भएको बताएको छ। नगरपालिकाका सूचना अधिकारी बिमला थापाले फोहोर सङ्कलनका लागि जिम्मा दिएर खटाएको मान्छेलाई स्थानीयवासीले पैसा नै नतिरेपछि समस्या भएको बताइन्।

विभिन्न समयमा केही मान्छेलाई ठेक्का दिएको तर मासिकरुपमा फोहोर सङ्कलन गरेबापत बुझाउनुपर्ने शुल्क स्थानीयवासीले नबुझाएपछि नियमित फोहोर सङ्कलन नभएको थापाको भनाइ छ। अहिले पनि एक स्थानीयवासीलाई तीन दिनदेखि फोहोर सङ्कलनका लागि जिम्मा दिएको थापाले बताए पनि बजार क्षेत्रमा फोहोर उठ्न सकेको छैन।

नगरपालिकाको कार्यालयसँग फोहोर सङ्कलनका लागि एउटा टिपर भए पनि टुविल मात्रै भएकाले कच्चीमा गुडाउन समस्या भएको बताइएको छ। कच्ची रोडमा नजाने भएपछि सो टिपर पनि कमै मात्र प्रयोग हुने गरको छ।

अर्कातिर ड्राइभर नहुँदा थप समस्या भएको छ। एक वर्षअघि नै सो टिपर फोहोर सङ्कलनका लागि खरिद गरिएको थापाले बताइन्। तर, यता फोहोरकै थुप्रोअघि बस्न बाध्य बनेका स्थानीयवासीले भने नगरपालिकाको कार्यालयले फोहोर सङ्कलन तथा व्यवस्थापनमा गम्भीरता नदेखाएकाले समस्या बढ्दै गएको आरोप लगाएका छन्। रासस


 

More form the Internet

loading...