Suvadin, Home

गरिब, दलित बालबालिकालाई शैक्षिक सामग्री

इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई आज रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ।

इटहरी, चैत ४ - इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई आज रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ।

लामो समयदेखि इटहरी१ को टेङ्ग्रा खोला किनारमा निःस्वार्थ भावनाले प्रेरित भई शिक्षासेवी चन्द्र भण्डारीको सक्रिय निगरानीमा शैक्षिक ज्ञान प्राप्त गरिरहेका विभिन्न विद्यालयका विभिन्न कक्षामा अध्ययनरत ३२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो।

रोट्र्याक्ट सबिना श्रेष्ठको नेतृत्वमा रहेको रोट्र्याक्टर युवाको सक्रियतामा ती बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्रीसँगै उनीहरुलाई मिठाईसमेत प्रदान गर्दै उच्च शिक्षा आर्जनका लागि शैक्षिक उत्प्रेरणासमेत प्रदान गरिएको छ।

इटहरी४ को कचना माविको कक्षा ७ मा अध्ययनरत कमला चौधरीले बिहानी निःशुल्क ट्युसन कक्षामा दाताले एकाएक आवश्यक शैक्षिक सामग्री दिनुभएकोमा औधी खुसी लागेको बताइन्।

कमला मात्र होइन त्यहीँ बिहानै हातमा कापीकिताब च्यापेर खोला किनारको बालुवामाथि चन्द्र भण्डारी सरको शिक्षण सिकाइमा रहेकी सरस्वती माविको कक्षा ६ मा अध्ययनरत काजल राजवंशी, गणेश साहु, सन्तोषी राजवंशी लगायतले पनि कापीकलम लगायतका शैक्षिक सामग्री पाएर खुसी लागेको बताएका छन्।

विसं २०५१ देखि नियमितरुपमा टेङ्ग्रा खोला किनारमा बसेर बालबालिकालाई निःशुल्क शिक्षण सिकाइमा अभ्यस्त हुने प्रेरणास्रोतका रुपमा इटहरीका अग्रज सञ्चारकर्मीको प्रोत्साहन नै आफ्ना लागि प्रेरणाको स्रोत बनेको चन्द्र भण्डारीले बताए। ‘आफू निख्रिएर भएपनि यी गाउँघरका बालबालिकाको उच्च शिक्षाका लागि खुड्किलो चढाउने शिक्षा दिनु अब त मेरो अभिन्न पेसा नै भइसक्यो, उनले भने। शिक्षासेवी भण्डारीले कलिला बालबालिकालाई देखाउँदै उनीहरुको सुन्दर भविष्य नै मेरो जीवनको लक्ष्य रहेको बताए।

मैले यी बालबालिकालाई शिक्षा दिइरहेको छु, तर मलाई गाउँघर र यो देशमा चिनाउने काम तपाईंबाट भएको छ, अहिले मेरो घरको कोठा सम्मानका खातले भरिएको छ, त्यो तपार्इंले हेरिदिनैपर्छ, यस संवाददातालाई भण्डारीले भने। रासस


 

More form the Internet

loading...