Suvadin, Home

आँखाको रोग पालेर बस्‍न बाध्य बालबालिका र वृद्धवृद्धा 


चितवन । आँखाको रोग लागेको थाहा नपाएर र परिवारका मानिसले बेवास्ता गर्दा समुदायमा ठूलो संख्यामा बालबालिका र वृद्धवृद्धा रोग पालेर बस्न बाध्य छन् । यी दुवै उमेर समूहलाई अस्पतालसम्म पुर्‍याउन सहयोगी चाहिने भएकाले उपचारमा कठिनाइ भएको बताइएको छ ।  

तीन दशकदेखि आँखा उपचारमा सक्रिय भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा डा रघुनन्दन बैन्जु बालबालिकासँगै वृद्धवृद्धामा समस्या रहेको बताउछन् । बालबालिका बोल्न सक्ने भए पछि एक पटक आँखा जाँच गराउनुपर्ने उनको सुझाव छ । 

सात वर्षभित्रमा समस्या पहिचान भएमा जीवनभर आँखा धमिलो बनाएर बस्नु नपर्ने उनले बताए । चिकित्सकको भनाइमा यस्तो समस्या ग्रामीण क्षेत्रमा चार प्रतिशत र शहरी क्षेत्रमा १० प्रतिशतसम्म देखिने गरेको छ । छड्के आँखाको समस्या पनि केही हदसम्म चस्माले समाधान गर्न सकिने उनले जानकारी दिए । एउटा आँखा हत्केलाले छोपेर पालैपालो आँखा परीक्षण गर्न पनि उनले सुझाए ।

मधुमेह र उच्च रक्तचाप भएकाले समय समयमा आँखाको परीक्षण गर्नुपर्ने हुन्छ । ४० वर्ष उमेर पुगेपछि त्यस्ता बिरामीको पर्दामा खराबी हुनसक्ने भएकाले समय समयमा परीक्षण गर्न चिकित्सकको सुझाव छ । सामान्यतया मानिसले शरीरको रक्तचाप नाप्ने गरेको भए पनि आँखाको नाप्ने प्रचलन कम छ । समय समयमा आँखाको चाप नाप गरेमा समयमानै समस्या पहिचान गर्न सकिने छ । डा बैन्जुले ६० वर्ष कटेपछि सबैले आँखाको परीक्षण गर्नुपर्ने बताए ।

सामान्यतया मानिसलाई उमेर पाको भएसँगै आँखामा समस्या उमेरकै कारण भएको भान हुने गर्दछ तर डा बैन्जु उमेरसँगै हुने मोतियाबिन्दु शल्यक्रिया गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने बताए । जलबिन्दु देखिएमा त्यस्ता बिरामीलाई समस्या थपिनबाट रोक्न सकिने उनको भनाइ थियो । यसका लागि समयमा नै अस्पताल पुग्नुपर्दछ । 

अस्पतालका सूचना अधिकारी रमेश घिमिरे नियमितरुपमा शिविरमार्फत सेवा गरिरहेको भए पनि अपुग भएको बताउछन् । अस्पतालले हरेक वर्ष चितवनसहित सात जिल्लाका एक लाख ५० हजार बालबालिकालाई विद्यालयमा नै पुगेर आँखाको परीक्षण गर्ने गरेको घिमिरेको भनाइ छ । छ प्रतिशत हाराहारी बालबालिकामा समस्या देखिने गरेको छ । अस्पतालले एक दिने शिविरमार्फत २० हजार र शल्यक्रिया शिविरमार्फत १५ हजार बिरामीको आँखाको परीक्षण र शल्यक्रिया गर्दै आएको छ । 

यस अस्पताल र सेवा केन्द्रमार्फत हरेक वर्ष एक लाख ७० हजार हाराहारीको आँखा परीक्षण गर्ने गरेको घिमिरेले जानकारी दिए । अस्पतालका प्रशासक दयाशंकर चौधरी मुख्य अस्पताल, सेवा केन्द्र र शिविरमार्फत सेवा पुर्‍याइरहेको भए पनि जनचेतनाको कमीका कारण रोग पालेर बस्नेको सङ्ख्या धेरै रहेको बताउँछन् । शिविरमा लिइएको तथ्याङ्कको आधारमा ग्रामीण क्षेत्रमा रोग लिएर बस्नेको सङ्ख्या बढी रहेको उनको भनाइ छ । 

आँखा अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघका सभापति कृष्णराज धरेल स्थानीय तहले समन्वय र आवश्यक सहयोग गरेमा गाउँ गाउँमा शिविरमार्फत उपचार गराउन सकिने बताउछन् । स्थानीय तहका जनप्रतिनिधिलाई बजेट विनियोजन गरी अभियानको रुपमा गाउँगाउँमा पुगेर उपचार गर्न अस्पतालले प्रस्तावसमेत गरेको धरेलले जानकारी दिए ।


 

More form the Internet

loading...