Suvadin, Home

विद्यार्थी नपाएपछि किस्टले सूचना निकाल्यो
आइओएमले चार पटक डाक्दा किस्ट मेडिकल कलेजमा जम्मा छ विद्यार्थी

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले चार पटक आह्वान गर्दा पनि विद्यार्थी नआएपछि किस्ट मेडिकल कलेजले आफैं सूचना निकालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबाबमा मेडिकल काउन्सिलबाट सिट बढाएको उक्त कलेजले बुधबार सूचना निकालेर विद्यार्थी बोलाएको हो।

खिलानाथ ढकाल

काठमाडौं, पुस ६

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले चार पटक आह्वान गर्दा पनि विद्यार्थी नआएपछि किस्ट मेडिकल कलेजले आफैं सूचना निकालेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबाबमा मेडिकल काउन्सिलबाट सिट बढाएको उक्त कलेजले बुधबार सूचना निकालेर विद्यार्थी बोलाएको हो।

किस्टले प्रकाशित गरेको सूचनामा आइओएमबाट प्रवेश परीक्षा दिएका विद्यार्थीलाई भर्ना हुन आउन ‘बिन्ति’ गरिएको छ। किस्ट लोकमानका भतिजा नाता पर्ने बलमानसिंह कार्कीको मेडिकल कलेज हो।

सूचनामा एमबिबिएस तथा बिडिएसका विद्यार्थीलाई चाँडै कलेजमा राख्न अनुरोध गरिएको छ। आइओएमले हालसालै सार्वजनिक गरेको तथ्यांक अनुसार किस्ट मेडिकल कलेजमा एमबिबिएसमा ६ जना विद्यार्थी भर्ना भएका छन्।

आइओएमका अनुसार किस्टमा एमबिबिएस सिटमा भर्ना भएका चार जना सबै विदेशी विद्यार्थी हुन्। बिडिएसमा दुई जना नेपाली भर्ना भएका छन्। किस्टले एमबिबिएसमा ११० र बिडिएसमा ४५ सिट पाएको थियो।

पूर्वाधार नपुगेको भन्दै मेडिकल काउन्सिलले यसपालि किस्टको सिट घटाउन खोजेको थियो। तर, मेडिकल काउन्सिलका तेह्र जना पदाधिकारीलाई एकैपटक अख्तियारले ‘तेह्र पाने’ भराएर तर्साएको थियो। अख्तियारमा मुद्दा खेपेका कतिपयले सफाइ पाइसकेका छन्, कोही धाइरहेका छन्।

किस्टलगायत आफू अन्तर्गतका देशैभरिका  मेडिकल कलेजमा आइओएमले तेस्रोपटक प्रवेश परीक्षा लिँदा विद्यार्थी मेडिकल कलेजमा भर्ना हुन तर्सिएका छन्। स्रोतका अनुसार मेडिकल कलेजले एमबिबिएस/बिडिएस भर्नामा सरकारले तोकेको भन्दा दोब्बर शुल्क असुल्ने गरेकाले विद्यार्थी झस्किएका हुन्।

विगतमा चर्को शुल्क तिरेर भर्ना भए पनि यसपालि विद्यार्थी एमबिबिएस/बिडिएसमा सरकारले तोकेको शुल्कमा पढ्न चाहेका छन्। सरकारले राजधानीमा एमबिबिएस शुल्क ३८ लाख ५० हजार, राजधानीबाहिर ४२ लाख ४५ हजार र बिडिएसमा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकेको छ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको दसौं सत्याग्रह अन्त्यका बेला सरकारले एमबिबिएस/बिडिएसमा सो शुल्कबारे सम्झौता गरेको थियो। 

आइओएमले यसपालि एमबिबिएस भर्नाका लागि कात्तिक २२ गते पहिलोचोटी दरखास्त आह्वान गरेको थियो। तोकिएको समयमा विद्यार्थी नआएपछि आइओएमले दोस्रोपटक मंसिर २ गते फेरि आह्वान गर्यो। दोस्रोपटक पनि विद्यार्थी नआएपछि मंसिर १२ गते तेस्रो र चौथोपटक मंसिर २६ गते अर्को सूचना निकालेको थियो।

एमबिबिएस बिडिएसमा यसरी चार-चार पटक विद्यार्थी दरखास्त आह्वान गर्नुपरेको यो आइओएम इतिहासमै पहिलो हो। आइओएम स्रोतका अनुसार चौथोपटक आह्वान गर्दा पनि विद्यार्थी आएका छैनन्।

पूर्वाधार नपुगेको भन्दै मेडिकल काउन्सिलले यसपालि किस्टको सिट घटाउन खोजेको थियो। तर, मेडिकल काउन्सिलका तेह्र जना पदाधिकारीलाई एकैपटक अख्तियारले ‘तेह्र पाने’ भराएर तर्साएको थियो। अख्तियारमा मुद्दा खेपेका कतिपयले सफाइ पाइसकेका छन्, कोही धाइरहेका छन्।

‘चार पटक आह्वान गर्दा पनि विद्यार्थी आएका छैनन्, मेडिकल कलेजको सिट संख्या रित्तै छ,’ आइओएम स्रोतले भन्यो, ‘यतिकै सिटमै पठन-पाठन गराउन गाह्रो पर्ने भएकाले सकेसम्म विद्यार्थी बढाउनुको विकल्प छैन। यसो गर्दा शैक्षिक क्यालेन्डर परिवर्तन हुने भइहाल्यो।’

तिहारलगत्तै पठन-पाठन सुरू हुनुपर्नेमा यो पटक विद्यार्थी नआएपछि शैक्षिक क्यालेन्डर नै परिवर्तन गर्ने तयारीमा आइओएम छ। चार पटकको आह्वानमा पनि मेडिकल कलेजको सिट पूरा नभएपछि आइओएम फेरि अर्को सूचना निकाल्ने तयारीमा छ।

आइओएम अन्तर्गतका सबै मेडिकल कलेल विद्यार्थी नपाएर फसादमा परेका छन्।

११० सिट पाएको गन्डकी मेडिकल कलेजमा हालसम्म विद्यार्थी भर्ना भएका छैनन्। २५ सिटको बिडिएसमा पनि गन्डकीले विद्यार्थी भर्ना गर्न सकेको छैन।

जानकी मेडिकल कलेजले ८० सिटमा एक जना विद्यार्थी भर्ना गरेको छ। नेशनल मेडिकल कलेजले ११५ सिटमा २३ जना विदेशी विद्यार्थी भर्ना गरेको छ। बिडिएसको ३५ सिटमा २ जना नेपाली भर्ना गरेको छ।

चितवन मेडिकल कलेजले ११५ सिटमा ११ जना विद्यार्थी भर्ना गरेको छ। तीमध्ये पाँच जना विदेशी हुन्। बिडिएसमा दुई जना नेपाली विद्यार्थी भर्ना भएका छन्। युनिभर्सल मेडिकल कलेजले ११५ सिटमा ४६ जना विद्यार्थी भर्ना गरेको छ। तीमध्ये तीन जना नेपाली छन्। बिडिएसमा १० जना नेपाली विद्यार्थी भर्ना भएका छन्।

पिपुल्स डेन्टल मेडिकल कलेजमा ६५ सिटमा १३ जना, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११५ सिटमा १५ जना, महाराजगञ्ज क्याम्पसमा ७६ सिटमा ६३ जना भर्ना भएका छन्।


 

More form the Internet

loading...