Suvadin, Home
NMB Bank Ltd 275.5k

डाक्टरले भने, ‘दस मिनेट अगाडि आइपुगेको भए...’

 सुगर र प्रेसरकी रोगी हरिमायाले दुई महिना अगाडि नर्भिक अस्पतालमै जाँच गर्दा मुटुसम्बन्धी रोग रहेको पत्ता लागेको थियो। त्यसयता नियमित औषधी खाइरहेकी थिइन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाका अनुसार हृदयाघातका बिरामीलाई तत्काल उपचार चाहिन्छ, तर राजधानीमा सवारीजामकै कारण लिम्बूजस्ता धेरैको ज्यान गइसकेको छ।  
७७ वर्षीय दयाप्रसाद लिम्बू।

काठमाडौं, पुस १८


मंसिर २० गते अनामनगरका ७७ वर्षीय दयाप्रसाद लिम्बू दिउँसो साढे ४ बजे श्रीमती हरिमायासँग घरमै थिए। भर्खर खाजा खाएर गफिइरहेका थिए दुबै जना।

७० वर्षीया हरिमाया कुर्चीमा बसेकी थिइन्। त्यसैबेला उनी लडिन्।

दयाप्रसाद आत्तिए। ‘लौन के भयो’ भन्दै हरिमायालाई उठाए। तर, हरिमाया अचेत भइसकेकी थिइन्।

मुटुको गति मन्द बन्दै गएको थाहा पाएपछि दया हत्तपत्त बाहिर निस्के र एउटा ट्याक्सी बन्दोबस्त गरेर थापाथलीस्थित नर्भिक अस्पताल दौडाए।

एम्बुलेन्स बोलाउँदा ढिलो हुने भएकाले उनले ट्याक्सी खोज्नुपरेको थियो।

श्रीमतीको अनुहार हेर्दै कतिबेला थापाथली पुगिएला भनेर उनी छट्पटाइरहेका थिए। जब माइतीघर देखियो, त्यहाँ सवारीको लामो जाम थियो।

उपचारका लागि जति सक्दो चाँडो अस्पताल पुर्याउन जरुरी थियो। जब ट्याक्सी माइतीघरमै रोकियो, हरिमायाको जीवनको यात्रा छोटिँदै गयो।

‘एम्बुलेन्सले बाटो नपाउने यो काठमाडौंमा ट्याक्सीले जति हर्न बजाए पनि हुनेवाला केही थिएन,’ दयाप्रसादले निन्याउरो अनुहार पारे।  
 
बिरामी बोकेको ट्याक्सीले बाटो पाएन। पैंतीस मिनेटपछि जाम खुल्यो।

आफैं कार हाँकेर हिँड्ने उनी श्रीमतीको मृत्युपछि कार लिएर कतै गएका छैनन्। ‘लामो जाम देख्दा क्रोधले रातो हुन्छु, उही घटनाको याद आउँछ। त्यसकारण कारलाई ग्यारेजमै थन्क्याएको छु, चुपचाप पैदल हिँड्छु,’ उनी भन्छन्। 

साँझ ५ बजेर ४५ मिनेट भइसकेको रहेछ। झमक्क साँझमा नर्भिक अस्पतालको इमरजेन्सीमा श्रीमतीलाई पुर्याए तर हरिमाया संसारबाट बिदा भइसकेकी रहिछन्।

अस्पतालका डाक्टरले हृदयाघात भएको बताए। ‘समयमा ल्याउनुभएन, बाटोमै मृत्यु भइसकेको रहेछ,’ डाक्टरले भने।

डाक्टरले यसो भन्दा उनलाई गह्रौं भारीले थिचेजस्तो महसुस भयो। अस्पताभित्र रहेका बिरामी र कुरुवालाई उनले देख्न सकेनन्। वाक्य निस्क्यो, ‘भगवान तिमीले यो के गर्यौ।’

डाक्टले ‘दस मिनेट छिटो ल्याएको भए...,’ भनेको दिमागमा फनफनी घुमिरह्यो।
 
लामो सवारी जाम र त्यसको व्यवस्थापन गर्र्ने ट्राफिक प्रहरीसँग रिस उठ्यो । अस्पताल जाँदा बाटोमा लामो जामको गरौंजस्तो पनि लाग्यो,’ उनले भने, ‘तर, यहाँ कसलाई दोष लगाएर के पो हुन्छ र जीवनमा यति ठूलो मूल्य चकाइसकेपछि।’
 
सुगर र प्रेसरकी रोगी हरिमायाले दुई महिना अगाडि नर्भिक अस्पतालमै जाँच गर्दा मुटुसम्बन्धी रोग रहेको पत्ता लागेको थियो। त्यसयता नियमित औषधी खाइरहेकी थिइन्। वरिष्ठ मुटुरोग

विशेषज्ञ डाक्टर भगवान कोइरालाका अनुसार हृदयाघातका बिरामीलाई तत्काल उपचार चाहिन्छ, तर राजधानीमा सवारीजामकै कारण लिम्बूजस्ता धेरैको ज्यान गइसकेको छ।  

उपचारपछि श्रीमती निको होलिन् भन्ने आश व्यर्थ बन्यो।
 
बेलायतमा रहेका तीन छोरा घरमा आइपुग्न समय लाग्ने भएकाले श्रीमतीको शव तीन दिनपछि बुझ्ने कवुल गरेर घर फिरे उनी। मनले नमानेपछि छोरालाई आमा सिकिस्त बिरामी भएकोले तुरुन्त घर आउने सन्देश पठाए।


श्रीमती गुमाएको झन्डै एक महिनामा पुस १७ गते दिउँसो उनको घरमा पुग्दा उनी भावुक र उदास देखिए।

जामका कारण श्रीमती गुमाउँदाको पीडा खोतल्न थाले।

बैठक कोठामा गए, श्रीमतीको दुई वटा तस्बिरर देखाउँदै गर्दा उनी कतै हराए।

उनको मन थामिएन। विवाह भइसकेपछिको साधारण परिहन, अर्काे सिंगारपटार र गहनाले सजिएको पम्पलेट आकारको फोटो थियो। त्यही फोटो हेरेर उनले मन बुझाएका रहेछन्।
 
२९ वर्ष वेलायती सेनामा कार्यरत् लिम्बू क्याप्टेन पदबाट रिटायर्ड भएपछि नेपाल आएर बसेका रहेछन्। उनले बुढेसकालमा उपचार र सुविस्ता हुन्छ भनेर तेह्रथुम जिल्ला छाडेर ०४९ सालमा

काठमाडौंमा घर बनाएका थिए। तर, सुविधासम्पन अस्पतालमा जान खोजे पनि उपचार गर्न नपाउँदा श्रीमतीको ज्यान गयो।

‘म काठमाडौंमा होइन, तेह्रथुमको कुनै विकट गाउँमा बसेजस्तो लागेको छ यो घटनाले,’ उनले भने।

श्रीमतीको माया कस्तो हुन्छ भन्ने उनलाई पहिलेभन्दा अहिले महसुस हुन्छ। तीन तलाको घरमा नाति–नातिना र भतिजाहरू छन्। तर, उनलाई घर रितो भएजस्तो भान हुन्छ। ‘बुढेसकालसम्म

जीवनसँगै काटिएला भन्ने लाग्थ्यो। मलाई छाडेर गई। अब जसरी पनि यो जीवनको रथ हाँक्नुपर्ने छ। घरमा पैसा, नातागोता सबथोक छन् तर जीवनमा के नपुगेजस्तो भइरहेको छ,’ उनी भावुक भए।

सामाजिक काममा सधै घर बाहिर रहने दयाप्रसादलाई खानपिनको त्यति वास्ता हुँदैनथ्यो। श्रीमतीले फोन गरेर बोलाउँथिन्, जबरजस्ती खुवाउँथिन्। ‘प्रेसर भएको हुनाले उनको चासो थियो मलाई, म रोगी भए पनि बुढा रोगी नहोस् भनेर उनी मेरो ख्याल राख्थिन्,’ उनले श्रीमतीको माया सम्झिए।


 
स्वस्थ खाना र आहारमा ध्यान दिने श्रीमतीको बानी थियो। बिहान सँगै एक घन्टा मनिङ वाकमा पनि निस्किन्थे।
 
२०१५ सालमा बेलायती सेनामा भर्ना भएका थिए दया। त्यसको सात वर्षपछि बिहे गरे।

सेनामा रहँदा पनि बीस वर्षसम्म श्रीमती सुख–दुःखको साथी बनिन्। श्रीमतीको स्नेहले सेनाको जीवन उनले सजिलै कटाए।
 
हिजोआज श्रीमतीबिनाको जीवन उनलाई फिक्का लागिरहेको छ। श्रीमतीको याद मेटाउन आजकल पुस्तक पढ्ने र सामाजिक काममा व्यस्त राख्ने गरेका छन्। ‘घरमा केही नगरी बसे पनि यादले पोल्छ, अनि कि त पढ्छु कि त साथीभाइसँग काममा सक्रिय रहन्छ,’ उनी भन्छन्।
 
दया सिरिजङ्गा सहकारीको अध्यक्ष छन्, सामाजिक संघ–संस्थामा पनि सक्रिय छन्।

आफैं कार हाँकेर हिँड्ने उनी श्रीमतीको मृत्युपछि कार लिएर कतै गएका छैनन्। ‘लामो जाम देख्दा क्रोधले रातो हुन्छु, उही घटनाको याद आउँछ। त्यसकारण कारलाई ग्यारेजमै थन्क्याएको छु, चुपचाप पैदल हिँड्छु,’ उनी भन्छन्।

‘जीवनका उकाली–ओरालीहरूमा सँगै हिँडे पनि अब मन थामेर साहसका साथ जीवनको रथ एक्लै हिँड्नुपर्ने भएको छ। यसबाट भाग्न पनि भएन। अझ जिम्मेवारी छ, छोराछोरी, नातिनातिनालाई अभिभावकत्व दिने,’ उनले भने।  

कामको सिलसिलामा एसिया र युरोपका १२ मुलुक घुमेका लिम्बूलाई काठमाडौंको ट्राफिक जामले सर्वसाधारणको अमूल्य समयका साथै जीउधनको नोक्सान हुँदा पनि राज्य चुपचाप बसिरहेकोमा आक्रोश छ। उनका अनुसार अन्य देशमा बसका लागि छुट्टै, टयाक्सीका लागि र अरु सवारी साधनका छुटाछुट्टै रुट बनेकाले सर्वसाधारणले जामको सास्ती भोग्नु पर्दैन।
 
सार्वजनिक गाडीमै धेरै व्यक्ति निर्धारित समयमा गन्तव्यमा पुग्न सक्छन्। यहाँ सार्वजनिक सवारी साधनभन्दा निजी गाडी धेरै भएकाले जामको समस्या बढेको उनको बुझाइ छ। ‘यस्तो जटिल समस्याको समाधान गर्न उचित तालिम र तथा गाडी थप्ने काम बन्द गर्नुपर्छ। नत्र मेरो श्रीमती जसरी धेरैले अकालमा मृत्युवरण गर्नुपर्छ,’ उनी भन्छन्, ‘मैले जसरी अरुले श्रीमती गुमाउनु नपरोस्।’ 

 

More form the Internet

loading...