Suvadin, Home

डेंगु परिक्षण गर्ने किट नै अभाव, के हो डेंगु, यसरी अपनाउन सकिन्छ सतर्कता

यतिवेला देशैंभरी डेंगुको प्रकोप देखिएको छ । करिव दुई महिना पहिले देखिएको डेंगु संक्रमण अझै रोकिँएको छैन । झनै यसले भयावह रुप लिइरहेको छ ।

काठमाडौं । यतिवेला देशैंभरी डेंगुको प्रकोप देखिएको छ । करिव दुई महिना पहिले देखिएको डेंगु संक्रमण अझै रोकिँएको छैन । झनै यसले भयावह रुप लिइरहेको छ ।

तीन दिन अघि (बिहीबार) मात्रै कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ लाई डेंगुको संक्रमण देखिएको थियो । यसरी डेंगु संक्रमण बढे पनि सरकारले भने डेंगु परीक्षण गर्ने किटको अभाव भएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै र्‍यापिड डाइग्नोस्टिक टुलका रूपमा प्रयोग गरिने किट अभाव भएको भन्दै वैकल्पिक उपाए अपनाउन आग्रह गरेको छ । उसले लक्षणका आधारमा रगतमा सेता रक्तकोषका जाँच, प्लेटलेटको काउन्ट र हेमाटोक्रिट परीक्षण गरी रोग पहिचान गर्न आग्रह गरेको हो । 

किटको प्रयोगबाट परीक्षण गर्दा तत्काल रोग पोजेटिभ वा नेगेटिभ थाहा हुने भए पनि किट अभाव भएपछि संक्रमित मर्कामा पर्ने भएका छन् ।

महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. प्रकाशप्रसाद साहले विभिन्न अस्पतालबाट किटको माग अत्यधिक भएपछि अभाव भएको हो ।

सरकारले गत वर्ष १० हजार किट खरिद गरेकोमा अब ५ सय हाराहारीमा मात्रै बाँकी रहेको उनले बताए । 

केहो डेंगु

डेंगु पोथी लामखुट्टेको टोकाइबाट आउने एक प्रकारको ज्वरो हो । यो संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि यो रोग सर्छ ।

सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले यसको संक्रमण सहरी क्षेत्रमा बढी हुन्छ ।

डेंगु सार्ने प्रजातिको लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । यसले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ यस्तो अवस्थामा उचित उपचार नपाए मान्छेको ज्यानै जान सक्छ ।

लक्षणहरू

  • अचानक ठूलो ज्वरो आउनु
  • आँखाको वरिपरि तथा कन्चटमा धेरै दुख्नु
  • सबै शरीर दुख्नु
  • घाँटी बस्‍नु
  • साना बिमिरा आउनु
  • शरीर चिलाउनु
  • वाकवाकी लाग्‍नु / बान्ता आउनु
  • छटपटी हुनु
  • रिँगटा लाग्‍नु
  • निद्रा नलाग्‍नु
  • हड्डी तथा मांसपेशी निकै दुख्नु
  • आँखा तथा घाँटी रातो हुनु

बच्ने उपाय

  • लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
  • लाम्बाहुले कपडा लगाउने
  • डेङ्गु लाग्ने लामखुट्टे day biter अर्थात् दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने
  • भिडभाडमा सकभर नजाने
  • घर वरिपरि पानी जम्‍ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्‍ने, बाथरुम ओभानो राख्‍ने, टायर / पाइप आदिमा पानी जम्‍न नदिने
  • पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ । १ चम्चा पेट्रोल राख्‍न पनि सकिन्छ ।
  • माथिका लक्षण देखिएमा तुरुन्त जाँच तथा उपचार गर्ने
  • प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।

 

More form the Internet

loading...