Suvadin, Home

जाडो समयमा कसरी स्वस्थ रहने ? 

काठमाडौं । सामान्यतया चिसो मौसममा वातावरण प्रदूषण हुने र हावामा ब्याक्टेरीया रहने हुँदा अन्य समयको तुलनामा यो समयमा स्वास्थ्य जटिलता धेरै देखिन्छन् । वृद्धवृद्धा, बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् ।

छातीको समस्या भएका व्यक्तिमा रोग बढेर जाने  जोखिम रहन्छ ।

रुघाखोकी

सामान्यतया यस समय रोगका कीटाणु हावामा तैरिरहने भएकाले रोगको संक्रमण छिटो हुने गर्छ । रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिमा रुघाखोकीको संक्रमण छिटो हुन्छ । यो एउटा भाइरल संक्रमण हो । रुघाखोकी  एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा धेरैजना प्रभावित हुन्छन् । बालबालिका (शिशुहरू), वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ । शरीरलाई न्यानो राख्न सकेमा भाइरल संक्रमणबाट बच्न सकिन्छ । 

निमोनिया

निमोनियाबाट प्रायः दुई वर्षमुनिका बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । निमोनिया भाइरस ब्याक्टेरिया र फंगल्सका कारण हुने गर्छ । निमोनिया हुँदा रुघाखोकी र स्वासप्रश्वासको पनि समस्या आउने हुँदा उपचारमा जटिलता हुने गर्छ । 

फोक्सोमा संक्रमण

जाडो मौसममा फोक्सोको संक्रमण बढ्ने सम्भावना अत्यधिक हुन्छ । वायुमण्डल चिसो हुने हुँदा रोगका कीटाणु बढी समय सक्रिय रहन्छन् । खासगरी स्वासप्रश्वासका बिरामी वृद्धवृद्धामा फोक्सोमा समस्या देखिन सक्छ । उनीहरूमा प्रतिरोधी क्षमता पनि स्वतः कम हुने हुँदा बढी प्रभावित हुने गर्छन् । 

श्वास–प्रश्वासमा समस्या

श्वास–प्रश्वासको समस्या भएका व्यक्तिका लागि चिसो मौसम निकै कष्टकर हुने गर्छ । खासगरी दम, आस्थमा र अन्य समस्या यो मौसममा बल्झिन सक्छन् । थोरै काम गर्दा पनि दम फुल्ने, काम गर्न गाह्रो हुने, सास फेर्नै समस्या हुनेजस्ता जटिलता देखापर्छन् । दम धेरै बढेमा मुटुमा पनि समस्या देखिने हुँदा दमका बिरामीले जाडोको मौसममा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । 

हृदयाघात

जाडो मौसममा हृदयाघातको जोखिम पनि बढेर जाने गर्छ । चिसोले गर्दा रगतमा कोलेस्ट्रोल, सिपिआर, फ्रिब्रिनोजेन र फ्याक्टर सेभेनजस्ता तत्व बढेर जान्छन् । जसले गर्दा नसा खुम्चिन्छ र हृदयाघातको जोखिम बढेर जान्छ । 

कसरी स्वस्थ रहने ?

चिसो लाग्नबाट बच्नका लागि न्यानो पारेर बस्नुपर्छ । बालबालिका र वृद्धवृद्धालाई पनि न्यायो लुगा लगाइदिनुपर्छ । तर, कोठा न्यानो बनाउँदा उचित भेन्टिलेसन पनि राख्नुपर्छ, अर्थात् कोठा गुम्स्याएर राख्नुहुँदैन ।

गाउँघरमा न्यानो बनाउन आगो ताप्ने चलन छ । आगो बाल्दा कोठा बन्द राख्नुहँुदैन । धुवाँमा कार्बनमोनोअक्साइड हुने हुदाँ शरीरमा प्रतिकूल असर पर्छ । 

बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्स्याउनुहुँदैन । भित्रभित्रै तातो भएर पसिना आँउछ र त्यसैको चिसोले अन्य समस्या निम्त्याँउछ ।  

 बिहानको समयमा हिँड्डुल गर्नुपरेमा बाक्लो लुगा लगाउनुपर्छ । 

 भाइरल संक्रमण भएका व्यक्तिबाट टाढै बस्नुपर्छ ।

 झोलिलो खानेकुरा र भिटामिन सीयुक्त फलफूल बढी सेवन गर्नुपर्छ । 

 छाला सुक्खा हुनबाट बचाउन मोस्चराइजरको प्रयोग गर्नुपर्छ । चिसोका कारण धेरै नुहाउने गर्नुहँुदैन । यसले छालामा समस्या देखिन सक्छ । 

श्वासप्रश्वासका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । केही समस्या देखिएमा चिकित्सकको परामर्श लिन सकिन्छ । 

 


 

More form the Internet

loading...