Suvadin, Home

इलाममा एक वर्षभित्र २१ हजारले गराए स्वास्थ्य बीमा

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा इलाम जिल्लामा  २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन्। 
सांकेतिक तस्वीर।

इलाम , कात्तिक २५ - स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा इलाम जिल्लामा  २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन्। 

सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया सुरू गरी भदौ १ गतेबाट सेवा दिन थालेको थियो। 

स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार ८६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिए।

बिमितमध्ये दुई हजार ९३७ जनाले झापा र १२० जनाले काठमाडौँबाट र ११ हजार ८ सय जनाले जिल्लाकै प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पतालबाट सेवा लिएका छन्। 
सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनी पहिलो चरणमा बागलुङ र दोस्रो चरणमा इलाममा स्वास्थ्य बीमा सञ्चालन गरेको थियो।

जिल्लाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ गरी चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल बिर्ताबजार प्रथम सेवा बिन्दुका रूपमा छन्।

झापाको बिएन्डसी अस्पताल, कोशी अञ्चल अस्पताल र काठमाडौँका विभिन्न अस्पताल रिफरल अस्पतालका रूपमा राखी सेवा प्रदान गरिँदै आएको छ। 

बिमितहरूको सेवा प्रारम्भ भएको एक वर्ष पुगेपछि पुनः बीमाबापतको रकम तिरेर नवीकरण गर्नुपर्ने अधिकारीले बताए। इलाममा ५२ जना दर्ता सहयोगी नियुक्ति गरेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ। 

स्वास्थ्य बिमा गराउनेमध्ये अधिकांश दीर्घ रोगीका बिरामी बढी देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ। जसमध्ये उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या बढी देखिएको समितिले जनाएको छ।रासस


 

More form the Internet

loading...