Suvadin, Home

सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल।

धनुषा, भदौ ९ –स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्।  

जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आएका उनले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्रियामा निर्देशन दिँदै भने, ‘निजी क्लिनिक नचलाई दिनोस्। यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ।’

जनकपुर अञ्चल अस्पतालबारे निकै गुनासो आएपछि स्वास्थ्यमन्त्री पोख्रेलले डाक्टर रामपरीक्षण यादवलाई मेडिकल सुपरिटेन्डेन्ट  बाट हटाइ दुई साताअघि मात्र नियुक्त भएकी  मेसु डाक्टर कल्पना बछारलाई लक्षित गर्दै भने, ‘निजी क्लिनिक बन्द गर्ने कामको शुरुवात मेसुबाटै हुनुपर्दछ। आफै निजी क्लिनिक सञ्चालन गर्नेले अरुलाई निर्देशन दिनसक्दैन। त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ।’ 

बिरामीको अत्याधिक चाप रहने यस अस्पताल सुधार गर्नुपर्नेमा जोड दिंदै उनले अब हामीले क्षेत्रीय होइन, प्रान्तीय दृष्टिकोणले नीति बनाउनुपर्ने र यहाँ रहेका क्षेत्रीय प्रयोगशालालाई प्रान्तीय प्रयोगशालाको रुपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गरे।

 विगत करिब दुई वर्षदेखि सञ्चालन हुननसकेको यस अस्पतालको आइसीयु सेवा शीघ्र सञ्चालन हुने बताउँदै मन्त्री  गिरिराजमणि पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए।

 अन्तक्रियामा सहभागी चिकित्सकले यस अस्पतालमा भौतिक पूर्वाधारका साथै जनशक्ति अभाव रहेको गुनासो गरेका थिए। ‘दैनिक झण्डै एकसय महिलालाई प्रसूति सेवाका लागि दुई विज्ञ, चार मेडिकल अधिकृत र १६ जना नर्स मात्र छन्। सयजना बिरामीलाई तीन नर्सले कसरी स्याहार गर्ने ?’ प्रसूति रोग विशेषज्ञ डाक्टर रामनरेश पण्डितको गुनासो थियो।रासस 


 

More form the Internet

loading...