लापुमा भाइरल ज्वरोको प्रकोपः एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी
गोरखा, कात्तिक ६– गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ।
दुई सयभन्दा बढी मानिस बिरामी छन्। ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो। गुरुङ एक सातादेखि ज्वरोबाट पीडित भए।
गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए। गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी छन्। बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ।
स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भने, ‘गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएन।’
धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताए।