Suvadin, Home

गर्मी, लू र चिसो पेय पदार्थ

प्रकाश अधिकारी

असारमा तराईका आधाभन्दा बढी बासिन्दा तातो हावा ‘लू’का कारण स्वास्थ्य समस्यासँग जुधिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बताउँछ । सन् १९८७ देखिको जानकारीलाई विश्लेषण गर्दा तापक्रम बढ्दै गएको छ । लू चल्ने ३ जिल्लामा गरिएको अध्ययनमा तातो हावाले ५० प्रतिशतमा स्वास्थ्य समस्या ल्याएको र अधिकांशमा छालासम्बन्धी समस्या देखिने गरेको छ । ३० प्रतिशत जनतामा तातो हावा र बढ्दो तापक्रमबाट बच्ने उपाय र साधन प्रयोग नगरेको देखिएको छ ।

अन्य वर्षको तुलनामा यस वर्ष प्रचण्ड गर्मी र तातो हावाले पूर्व मात्र नभई पश्चिम तराईको जनजीवन बढी प्रभावित भएको छ । तापक्रम विगत २ सातादेखि ४१ देखि ४५ डिग्री सेल्सियसको आसपासमा छ ।  उड्दै गरेका चरा मर्न थालेका छन् । पठनपाठन प्रभावित भएको छ, बिहानी कक्षा सञ्चालन भए पनि घर फर्कने बेलाको गर्मीले आक्रान्त छन्, विद्यार्थी । पानीको सतह सुक्दै गएपछि खानेपानी र उपकरण बिग्रिरहँदा विद्युत् आपूर्तिमा समस्या छ । काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फीलगायतका चिसो तथा पेय पदार्थको अत्यधिक उपभोग भई आपूर्तिमा समस्या आएको छ ।

जलवायु परिवर्तनका कारण लामखुट्टे पहाड र हिमालतिर पनि उक्लिएका छन् । जापानिज इन्सेफलाइटिस, फिलेरिया, मेनेन्जाईटिस, डेंगु, चिकन गुनिया, लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखा परिसकेको छ । नयाँ नयाँ स्थानमा नयाँ नयाँ रोग र समस्या देखिन थालेका छन् । जनसंख्या वृद्धि, वातावरण प्रदूषण, बाक्लो बस्ती तथा फोहोरमैलाका कारण तराई क्षेत्रमा मात्र नभई पहाडी भूभागमा समेत गर्मीले समस्या उत्पन्न गर्दै छ । गर्मी मौसममा हुने प्राय सरुवा रोग केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणाली र छालास“ग सम्बन्धित हुन्छन् । गर्मी मौसममा धेरैजसो रोग लापरबाही, सचेतना अभाव, फोहोर, आनीबानी, खानपिन र गर्मीबाट लाग्छ ।

बिरामीको चाप ह्वात्तै बढेको छ

गर्मीसँगै टाइफाइड, झाडापखाला, भाइरल फ्लु, पेटको दुखाइ, रुघाखोकी, वान्ता हुने, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, आँखा चिलाउने, धागो जस्ता चिरा आउने, एलर्जिक कन्जफ्टाइभाइटिस तथा आ“खाको संक्रमणका बिरामी बढेका छन् । सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या तथा लू बढ्दै छ । टाउको दुख्ने, आलस्य हुने, वान्ता आउने, पानीको मात्रा कम हुने, बिरामी पर्ने सम्भावना बढी हुन्छ भने केहीको त मृत्यु पनि हुने गर्छ ।

विशेषगरी, काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थ र चिल्लोले फुड प्वाइजनिङ हुन्छ । भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले आन्द्रामा संक्रमण गर्दा हैजा लाग्छ । तीन पटकभन्दा बढी पातलो दिसा हुनुलाई झाडापखाला भनिन्छ । वान्ता र पखालास“गै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानी अभाव, भिँगा र अन्य कीरा फट्याङ्ग्राको बढी प्रकोप भएको ठाउ“मा बढी देखिने संक्रामक रोग टाइफाइड हो ।

हात्तीपाइले, गोलो जुका, फित्तेजुका, अंकुसे जुका र चुर्ना जुका दिसाबाट उत्सर्जित हुने हुनाले दिसाबाट सम्पर्कमा आउने माटो, सागसब्जी, फलफूल, पानी, दूध र अन्य खाद्यपदार्थ तथा दिसा बसिसकेपछि राम्रोस“ग हात नधु“दा, मासु काचै खाँदा, जुकाका फूलहरू लार्भा र जुका परजीवी निरोगीको मुखमा पर्छन् । बढी देखिने अर्को रोग आउ“ हो । आउँ परेको बेलामा बिरामीलाई पटक–पटक पातलो चिप्लो दिसा हुन्छ र रगत देखा पर्छ । ज्वरो आउने तथा पेट दुख्ने हुन्छ । बिरामीको दिसामा रगत मिसिएको सेतोमासी देखा पर्दछ ।

अधिक पसिना आउने, केटाकेटीलाई घमौरा आउने तथा ठूला मानिसमा समेत छालामा विभिन्न प्रकारका संक्रमण तथा समस्या देखा पर्छन् । केटाकेटीमा घमौरा आउने बढी नै देखिन्छ । त्यसैमा बाक्ला कपडा लगाएर गुम्साउने चलनले पसिना आउने ग्रन्थीहरू थुनिएर घमौरा धेरै आई बढ्दै जान्छ र पाक्छ । शरीरबाट पसिना बढी निस्कँदा, सरसफाइमा ध्यान नदिँदा, गुम्सिँदा, धुवाँधुलो टासिएर डन्डीफोर र फंगस संक्रमण हुन्छ । छालाबाट चिल्लो बढी निस्कन्छ । घाम कडा हुने भएकाले अल्ट्राभाइलेट ए र बी किरणले छाला चिलाउने र छाल डढ्ने गर्छ ।  

हिट स्ट्रोक अर्थात् लू लाग्‍नू

जेठको अन्तिम शुक्रबार विराटनगरको प्रहरी तालिम केन्द्रको सात किमि पपेड प्रतियोगिताको क्रममा दौड पूरा हुन लाग्दा १३५औं आधारभूत तालिममा सहभागीमध्ये तीनजना तालिमेले होस गुमाएर शरीर कडा भयो । धेरै तातो भई अनौठो व्यवहार देखाउँदै छटपटाउन थाले । स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचार गर्दा दुई जना ठीक भए तर एक जनाको दुई घण्टासम्म पनि होस नआएपछि हिट स्ट्रोक भएको भन्दै नोवेल मेडिकल कलेजमा प्रेषण गरियो ।

अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ । यसले लू लाग्न सक्छ । लू लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानी कम हुन गई उत्पन्न हुने समस्या र अंगले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी महसुस हुन्छ । अत्यधिक गर्मी स्थानमा गर्मी मौसममा तातो बतास चल्दा शरीरको तापक्रम १०६ डिग्री फरेनहाइटभन्दा बढी भई दिमागले काम गर्न नसक्ने र शरीरमा तापक्रमको सन्तुलन बिग्रने अवस्था हिट स्ट्रोक हो । वयष्क व्यक्ति जो कडा परिश्रम, व्यायाम, खेलकुदमा सहभागी हुँदा देखिने हिट स्ट्रोक इक्र्जसनल हो । अत्यधिक गर्मी हुने ठाउँमा बालबालिका र बढी उमेरका (वृद्धवद्धा) तथा लुगा खोलेर काम गर्नेमा हुन सक्ने हिट स्ट्रोक क्लासिकल अर्थात् नन इक्र्जसनल हिट स्ट्रोक हो ।
 
आइसक्रिम सेवन

गर्मी भगाउन आइसक्रिमको सहारा लिने चलन छ । प्रायः बालबालिका र युवती जुनसुकै मौसममा पनि आइसक्रिमप्रति आशक्त हुन्छन् । सामान्यतया दूध, क्रिम, ग्लुकोज, चकलेट आदिको मिश्रण गरी फ्रिज गरेर आइसक्रिम बनाइन्छ । आइसक्रिममा क्याल्सियम, भिटामिन, ऊर्जा र प्रोटिनको मात्रा धेरै हुन्छ । एक आइसक्रिममा करिब १३७ क्यालोरी रहने भएकाले तौल बढाउन चाहने र कमजोर महसुस भएकाले आइसक्रिम सेवन गर्दा लाभदायक हुन्छ ।

क्याल्सियम, पोटासियम र फस्फोरसको राम्रो स्रोत भएकाले रक्तचापको स्तर कायम, दाँत, हड्डी र मांशपेसी बलियो बनाउँछ । आइसक्रिमको असन्तुलित प्रयोग र गुणस्तरहीनताले शरीरमा भने गम्भीर असर पुर्‍याउँछ । बढी खाएमा मोटोपना, उच्च कोलेस्टेरोलका कारण रक्तधमनीमा रोकावट आउने, हृदयाघात, पक्षाघातको सम्भावना बढाउँछ । मधुमेहमा सुगरको मात्रा बढाउँछ । हिस्टेरियाको संक्रमणको सम्भावना बढी देखिने गरेको छ । गुणस्तरहीन भइदिँदा पानीजन्य, रसायनजन्य अनेकन संक्रमण हुन सक्छ ।

चिसो पेय पदार्थ

कोल्ड ड्रिंक्स जंक फुड भएकाले यस्ता खानेकुरामा धेरै चिनी र अम्ल हुन्छ । तर, भिटामिन, खनिज, फाइबर र पोषक तत्‍व खासै हुँदैन त्यसैले यस्ता खानेकुरा प्रायः हानिकारक हुन्छ । यसबाट अम्ल, दा“त खिइने, कुपोषण, मोटोपना, क्यान्सर, मुटुरोग, मधुमेह, दीर्घकालीन श्वास प्रश्वास समस्या निम्त्याउन सक्छ ।

कोकाकोला र पेप्सी जस्ता पेय पदार्थमा यसलाई खैरो बनाउन मिसाइने रंग कारामेलले शरीरमा क्यान्सर निम्त्याउन सक्ने क्यालिफोर्निया युनिभर्सिटी, अमेरिकाले जनाएको छ । पेय पदार्थमा मिसाइने रसायन साइक्लोमेट अम्लले पित्तमा क्यान्सर गराउन सक्छ, मिर्गौलामा पत्थरी पार्छ ।

अन्त्यमा, मौसमी रोगबाट बच्न खानेकुरा राम्रोस“ग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पुग्दैन । दैनिक प्रयोग गर्ने भा“डाकुडा सफा, खाना खानु अघि र पछि साबुन पानीले राम्रोसँग माडेर हात धुन अति जरुरी छ । त्यति मात्र होइन, बजारमा पाइने बिनामापदण्डका खाद्यपदार्थ, पेयपदार्थ जस्ता जंक फुडबाट टाढै रहनुपर्छ ।

 


 

More form the Internet

loading...