Suvadin, Home

पत्रकारिता क्षेत्रः गुणस्तरभन्दा सङ्ख्या वृद्धि

पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन्। आव २०७२/०७३ सम्म सात सय दुईले मात्र अनुमति लिएका थिए। सात सय ३१ मध्ये पाँच सय ८० नियमित सञ्चालनमा छन्। आव २०७२/०७३ सम्म पाँच सय ६५ मात्रै नियमित सञ्चालनमा थिए।

काठमाडौँ, २५ माघ -  पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन्। आव २०७२/०७३ सम्म सात सय दुईले मात्र अनुमति लिएका थिए। सात सय ३१ मध्ये पाँच सय ८० नियमित सञ्चालनमा छन्। आव २०७२/०७३ सम्म पाँच सय ६५ मात्रै नियमित सञ्चालनमा थिए।

विसं २०६३ साउनसम्ममा ५० वटा एफएम रेडियोले मात्र इजाजत लिएको देखिन्छ। यो तथ्यलाई हेर्ने हो भने २०६२/०६३ पछि दश वर्षका अवधिमा नेपालमा रेडियोको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ।

इजाजत लिएकामध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका लागि मात्र करिब ३६ रेडियोले इजाजत लिएका छन्। कास्कीमा ३० रेडियो सञ्चालनको इजाजत लिइएकामा अधिकांश सञ्चालनमा छन्।

नेपालको प्रसारण इतिहासमै २००७ सालमा ‘रेडियो नेपाल’ स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा ‘रेडियो सगरमाथा’ ले २०५४ सालमा सञ्चालनको अनुमति पाएको थियो।

एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारिको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति अनुमति भने लिइएको छ। नेपालमा रेडियो प्रसारणको करिब ६५ वर्षको इतिहासमा रेडियो सञ्चालन मात्रै गर्नेभन्दा पनि ती रेडियोले दिने सन्देश कति महत्वपूर्ण छ भन्ने हो।

मन्त्रालयका उपसचिव तथा नीति, योजना, अनुगमन तथा मूल्ङ्याङक शाखा प्रमुख रुद्रादेवी शर्माले चालु आवको प्रथम चौमासिकसम्म ९८ टेलिभिजनले अनुमति लिएको र २६ नियमित प्रसारणमा रहेको जानकारी दिए।

आव २०७२/२०७३ सम्ममा ९३ ले मात्र अनुमति लिएका थिए भने २५ नियमित सञ्चालनमा थिए । सूचना विभागका अनुसार दैनिक, साप्ताहिक र वार्षिकलगायत सबै गरी २०७२ चैत मसान्तसम्म सात हजार एक सय ९७ पत्रपत्रिका दर्ता भएका छन्। विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलना वृद्धि हुँदै गएको छ ।

प्रेस काउन्सिल नेपालका अनुसार हालसम्म पाँच सय ४८ अनलाइन काउन्सिलमा सूचीकरण भएका छन्। काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले हरेक हिसाबले नेपालमा यति धेरै मिडियाको आवश्यकता नभएको हुँदा ती मिडियाबीच एकीकरण गर्नेबारे काउन्सिलले छलफल अगाडि बढाएको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भएअनुसार गुणस्तरमा वृद्धि नभएको पक्कै हो, तर पहिलाको तुलनामा पत्रकारिताको गुणस्तर खस्कियो भन्ने नभएको बताए। ‘समग्रमा पत्रकारिता क्षेत्रको गुणस्तर कमजोरभन्दा पनि विषयवस्तु र प्रविधिअनुसार गुणस्तरीय हुन नसकेको हो,’ उनले भने।

काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की मिडियाको सङ्ख्यामा भने तीव्र रूपमा वृद्धि भएको छ, तर गुणस्तर घट्दै गएको बताउँछन्। ‘मिडिया सञ्चालन गर्ने पूर्वाधार र आवश्यकताबिना नै सम्बन्धित निकायले अनुमति दिएका कारण पनि सङ्ख्यामा अस्वाभाविक वृद्धि भएको छ, अब यसलाई व्यवस्थापन गर्न एकापसमा एकीकरण गर्नु आवश्यक छ,’ कार्कीले भने। रासस


 

More form the Internet

loading...