Suvadin, Home

निजी बोर्डिङबाट सामुदायिक विद्यालयमा फर्किन थाले विद्यार्थी

विभिन्न सामुदायिक विद्यालयहरुमा यस शैक्षिकसत्रमा तल्लो कक्षामा भन्दा माथिल्लो कक्षामा भर्ना हुने विद्यार्थीको संख्या निकै बढी रहेको छ। भीमदत्त नगरपालिकाको महेन्द्रनगर माध्यमिक विद्यालयमा कक्षा १ मा ६५ विद्यार्थी मात्रै भर्ना भएका छन्। ९ कक्षामा एक सय २० विद्यार्थी भर्ना भएका छन्। विद्यालयका प्रधानाध्यपक ललितसिंह साउदले सामुदायिक विद्यालयबाट माध्यमिक तह पास गरेका विद्यार्थीले उच्च शिक्षामा सहुलियत पाउने व्यवस्थाका कारण आकर्षण बढेको बताएका छन्। 
घटाल माविका विद्यार्थी।

मदन गिरी, महेन्द्रनगर, ८ जेठ – सरकारको नीतिले रातारात परिदृश्य नै बदल्न सक्छ भन्ने सत्य कञ्चनपुरमा प्रमाणित भएको छ। सरकारले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति र आरक्षण पाइने नीति अंगालेपछि त्यसको असर यहाँका सामुदायिक विद्यालयमा पनि पर्न थालेको छ।

सामुदायिक विद्यालयहरुमा कक्षा ९ मा भर्नादर ह्वात्तै बढेर गएको छ। कतिपय सामुदायिक विद्यालयले त भर्ना हुन चाहने विद्यार्थीको संख्या थामिनसक्नु भएपछि प्रवेश परीक्षा लिएर आफूले थेग्न सक्ने विद्यार्थी मात्रै भर्ना गरेका छन्।

विभिन्न सामुदायिक विद्यालयहरुमा यस शैक्षिकसत्रमा तल्लो कक्षामा भन्दा माथिल्लो कक्षामा भर्ना हुने विद्यार्थीको संख्या निकै बढी रहेको छ। भीमदत्त नगरपालिकाको महेन्द्रनगर माध्यमिक विद्यालयमा कक्षा १ मा ६५ विद्यार्थी मात्रै भर्ना भएका छन्।

९ कक्षामा एक सय २० विद्यार्थी भर्ना भएका छन्। विद्यालयका प्रधानाध्यपक ललितसिंह साउदले सामुदायिक विद्यालयबाट माध्यमिक तह पास गरेका विद्यार्थीले उच्च शिक्षामा सहुलियत पाउने व्यवस्थाका कारण आकर्षण बढेको बताएका छन्। 

तल्लो कक्षा निजी विद्यालयमा पढ्ने गरेपनि ९ कक्षामा नयाँ भर्ना हुने विद्यार्थी धेरै रहेको प्रधानाध्यापक साउदको भनाई छ। उनको विद्यालयमा ९ कक्षा भर्ना हुन क्षमताभन्दा धेरै संख्यामा विद्यार्थीले आवेदन दिएपछि प्रवेश परीक्षाबाट छनोट गरिएको थियो। 

भीमदत्त नगरपालिकाकै निंगलाशैनी माध्यमिक विद्यालयमा पनि १ कक्षामा भन्दा ९ कक्षामा बढी  विद्यार्थी भर्ना भएका छन्। उक्त  माविका प्रधानाध्यपक घनश्याम भट्टका अनुसार यस वर्ष कक्षा १ मा १५ विद्यार्थी मात्रै भर्ना भए भने ९ कक्षामा ६० विद्यार्थीले भर्ना लिएका छन्। भर्ना अभियान चलिरहेकाले संख्या बढ्न सक्ने प्रधानाध्यपक भट्टको भनाई छ। 

भीमदत्तकै लक्ष्मी माध्यामिक विद्यालय खैरभट्टीमा पनि ९ कक्षामा पढ्ने विद्यार्थी कक्षा १ मा भन्दा बढी छन्। विद्यालयका प्राधानाध्यापक बिर्खबहादुर मल्लका अनुसार एक कक्षामा २० विद्यार्थी पढिरहेकोमा ९ कक्षामा ३२ विद्यार्थी अध्ययनरत छन्। उनका अनुसार सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता हुने भएकाले उनीहरु यसतर्फ आकर्षित भएका हुन्।

त्यस्तै सुडास्थित घटाल माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्ण भण्डारीले तल्लो कक्षाभन्दा माथिल्ला कक्षामा विद्यार्थीको आकर्षण बढिरहेको बताए। उनको विद्यालयमा कक्षा १ मा १७ जना मात्रै अध्ययरत छन् भने ९ कक्षामा ८० विद्यार्थीले भर्ना लिएका छन्। उनका अनुसार उच्च शिक्षामासहज हुने भएकाले सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण बढिरहेको छ।

बेलौरी गोरखनाथ माध्यमिक विद्यालयका लेखापाल भानदेव भट्टले सामुदायिक विद्यालयहरुका माथिल्लो कक्षामा आर्कषण बढिरहेको बताए। उनका अनुसार सामुदायिक विद्यालयतर्फ आकर्षित हुने बिभिन्न कारण भए पनि उच्च शिक्षामा छात्रवृत्ति मुख्य कारण हो। एक कक्षामा २२ विद्यार्थी रहेको गोरखनाथ माविमा ९ कक्षामा भने ३५ विद्यार्थी अध्ययनरत छन्।

कञ्चनपुरकै सबैभन्दा पुरानो महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा पनि १ कक्षाभन्दा ९ कक्षामा बढी विद्यार्थी  अध्ययनरत छन्। उक्त विद्यालयका प्रधानाध्यापक भुपेन्द्र भट्टका अनुसार प्राविधिक तथा साधारण गरी कक्षा ९ मा एक सय १८ विद्यार्थी अध्ययनरत छन्। जबकि १ कक्षामा भने २० जना मात्रै भर्ना भएका छन्। उच्च शिक्षामा सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था भएकाले ९ कक्षामा बढी विद्यार्थीले भर्ना लिएको प्रधानाध्यापक भट्टको पनि निष्कर्ष छ।


 

More form the Internet

loading...