Suvadin, Home

कोरोनाभाइरसका कारण चीनमा ६ जनाको मृत्यु

‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म ६ पुगेको चिनियाँ अधिकारीले बताएका छन् ।

बेइजिङ । ‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म ६ पुगेको चिनियाँ अधिकारीले बताएका छन् ।

चीनको मध्य क्षेत्र वुहान सहरमा केही हप्तापहिले देखिएको ‘कोरोनाभाइरस’का कारण मृत्यु हुनेको संख्या सोमबारसम्म चार रहेकोमा उपचाररत दुई थप बिरामीको मृत्यु भएपछि मंगलबारसम्म यस रोगका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ’–वुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन ‘सीसीटीभी’लाई जानकारी गराएका छन् ।

उक्त रोगबाट प्रभावितहरूको संख्या २९१ पुगेको साथै सोमबार र मंगलबार गरी थप ८० बिरामी उपचारका लागि अस्पतालहरूमा पुगेको उनले बताए ।

रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएको खबरसँगै सावधानीका लागि एसियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रीहरूको परीक्षणलाई कडा बनाइएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाई यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन् ।

सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्नेजस्ता साधारण चिसो, फ्लु वा निमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा ‘२१औं शताब्दीको खतरनाक स्वास्थ्य समस्या’को रूपमा चित्रित श्वास–प्रश्वाससम्बन्धी रोग ‘सार्स’लाई ‘सिभेयर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ भनिन्छ ।

तर, पछिल्लो समय देखापरेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरिएको छ । रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ ।

अनुसन्धानकर्ताहरूले नयाँ रोगको संक्रमण चीनबाहिर पनि नगन्य मात्रामा रहेको बताएका छन् । उनीहरूकाअनुसार थाइल्यान्डमा दुई र जापान र दक्षिण कोरिया पनि एक/एकजनामा संक्रमण देखिएको छ ।

सिंगापुर र हङकङले वुहानबाट आउने हवाईयात्रीहरूको स्वास्थ्य जाँच गर्न थालिसकेका छन् ।

संक्रमणलाई फैलिन नदिन अन्य मुलुकमा पनि सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ भने रोग फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकाले यसबाट सावधानी अपनाउन भनिएको छ ।

नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकहरूमा पनि यसबाट सावधानी अपनाइएको स्थानीय सन्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसको संक्रमण संक्रमित जनावरबाट वुहानस्थित ’सीफूड’ बिक्री हुने एउटा बजारसम्म फैलिन पुगेको चिकित्सकहरूले बताएका छन् । रासस


 

More form the Internet

loading...