Suvadin, Home

ब्रिजवाटरमा ‘कोशेढुंगा’, केहो डिवेट नेटवर्क? को हुन् प्रदीप घिमिरे?

डिवेट नेटवर्क नेपाल र ब्रिजवाटर कलेजको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको यो कार्यक्रमका अघिल्ला संस्करण पनि ब्रिजवाटर कलेजसँगको सहकार्यमा गरिएको थियो। कार्यक्रम ‘कोशेढुंगा’ एसइई दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित छ। यसका साथै हाइस्कूल सकेर बसेका विद्यार्थीलाई पनि यो कार्यक्रममा समेट्ने गरिएको छ। कोशेढुंगाको पाँचौ संस्करण उच्च मावि सकेर बसेका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको हो।
प्रदीप घिमिरे।

उमेश दाहाल, काठमाडौं, २८ वैशाख – काठमाडौंको सिनामंलगस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजमा ‘कोशेढुंगा’को चौँथो संस्करण आयोजना हुँदैछ। कार्यक्रमको आयोजना डिवेट नेटवर्क नेपालले गरेको हो।

डिवेट नेटवर्क नेपाल र ब्रिजवाटर कलेजको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको यो कार्यक्रमका अघिल्ला संस्करण पनि ब्रिजवाटर कलेजसँगको सहकार्यमा गरिएको थियो।

कार्यक्रम ‘कोशेढुंगा’ एसइई दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित छ। यसका साथै हाइस्कूल सकेर बसेका विद्यार्थीलाई पनि यो कार्यक्रममा समेट्ने गरिएको छ। कोशेढुंगाको पाँचौ संस्करण उच्च मावि सकेर बसेका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको हो। 

केहो कोशेढुंगा?

डिवेट नेपाल नेटबर्कका सह–संस्थापक प्रदीप घिमिरेका अनुसार यो कार्यक्रमको नामाकरण कोशेढुंगा शब्द आफैँले ‘इन्काउन्टर योर टर्निङ प्वाइन्ट’ भन्ने स्लोगन बताउने भएकाले राखिएको हो।

विद्यार्थीहरुको जिन्दगीमा एउटा नौलो अनुभव होस्, टर्निङ प्वाइन्ट होस् यसका साथै जीवनलाई एउटा स्पष्ट भिजनका साथमा अगाडि बढाउन सकुन्। र, आफूमा लुकेको क्षमता तथा प्रतिभालाई चिनेर अगाडि बढुन् भन्ने मनसायले यो कार्यक्रमको शुरुवात गरिएको हो।

‘किताबी ज्ञानभन्दा पृथक बाहिरी संसारसँग पनि विद्यार्थीहरुलाई घुलमिल गराउनु यो कार्यक्रमको लक्ष्य हो,’ उनले भने। यो कार्यक्रममा व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, वक्तृत्वकला, वादविवाद जस्ता कार्यक्रमहरु वर्ल्ड स्कूल्स डिबेटिङ च्याम्पियनशीप डब्ल्यूएसडिसी फर्म्याटमा सिकाइने उनले बताएका छन्।

यो फर्म्याट विश्वभरि हाइस्कूलका विद्यार्थीहरुका लागि सर्वश्रेष्ठ मानिँदै आएको छ। डब्ल्यूएसडिसी फर्म्याटमा रहेर वादविवाद सिकाइने गरेको सह–संस्थापक घिमिरेले जनाएका छन्। 

केके विषयमा हुन्छ प्रशिक्षण?

१. वादविवाद

२. वक्तृत्वकला 

३. नेतृत्व विकास

४. सामाजिक सेवा

५. लेखन कला

घिमिरेका अनुसार माथि उल्लेखित पाँच बुँदा बाहेक चरित्र निर्माण, सामाजिक सञ्जालहरुको उचित प्रयोजन, सामाजिक कार्यमा सहभागिताका साथै नेतृत्व विकास सम्बन्धी प्रशिक्षण पनि प्रदान भइरहेको छ।

‘यो प्रशिक्षणका क्रममा समुदायमा नै गएर आफैँले सिर्जना गरेको प्रस्तावनामा आधारित रहेर उपलब्ध श्रोत र साधनको प्रयोग गर्दै प्रत्येक सहभागीहरुले समाजमा देखेको समस्यालाई समाधान गर्नका लागि आफैँले पूर्णरुपमा रिपोर्ट लेखन गरी प्रस्तुत पनि गर्नुपर्ने हुन्छ,’ घिमिरेले भने।

यसका लागि सम्पूर्ण सहभागीहरुलाई स्थानीयस्तरमै लगेर ५ वटा समूहमा विभाजन गर्नुपर्ने हुन्छ। जुन कार्यको मार्ग निर्देशन गर्नका लागि एक दक्ष प्रशिक्षक आयोजक संस्थाले नै व्यवस्था गरिदिन्छ।

साथै बायोडाटा कसरी बनाउने, मौलिक लेखनलाई कसरी स्तरीय बनाउने, जनसम्पर्क बृद्धिलगायतका भविष्यमा काम लाग्ने र आउँदो जीवनलाई सरल किसिमले यापन गर्नका लागि उपयोगी हुने यस्ता थुप्रै शीप विकास प्रशिक्षण दिइने उनले बताएका छन्।

प्रतिभा प्रस्फुटन जस्ता कार्यक्रममा पनि सहभागी गराउने उद्देश्य आयोजकको रहेको छ। प्रशिक्षणको सम्पन्न भइसकेको पश्चात सबै सहभागीहरुलाई दीक्षान्त समारोह गरी प्रमाण–पत्र वितरण गरिने सह–संस्थापक घिमिरेले जनाएका छन्। यद्यपि, प्रशिक्षण सम्पन्न भएपछि पनि सहभागीहरुलाई आफ्नो संस्थाले विभिन्न अवसर प्रदान गरिरहने लक्ष्य लिएको उनले बताए।

को हुन् प्रदीप घिमिरे?

ब्रिजवाटर कलेजका पूर्वविद्यार्थी प्रदीप घिमिरे वि.सं. २०६६ सालमा एसएलसी दिएपश्चात मानविकी संकायको अध्ययनका लागि कलेज खोज्ने शिलशिलामा ब्रिजवाटर कलेज पुगेका थिए। एसएलसीपछि विज्ञान विषय लिएर पढ्न आएको दबाबको वास्ता नगरी पत्रकारिताप्रति रहेको रुचीकै कारण उनी ब्रिजवाटर कलेजमा भर्ना भएका थिए।

अध्ययनसँगै अन्य क्रियाकलापहरुमा पनि रुची राख्ने प्रदीप साथीले दिएको सल्लाह बमोजिम ब्रिजवाटर पुगेको बताउँछन्। क्याम्पसको पहिलो दिन नै ब्रिजवाटर कलेजमा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रम भइरहेको थाहा पाएर उनी कार्यक्रम हलमा पुगेका थिए।

जहाँ कलेजका अध्यक्ष रञ्जित आचार्यले वर्कसप गराइरहेका थिए। त्यो समयको सम्झना गर्दै प्रदीप भन्छन्, ‘जब म व्यक्तित्व विकास कार्यक्रमबाट बाहिर निस्किएँ, मैले के थाहा पाएँ भने –भर्खरै खुलेको कलेज हो ब्रिजवाटर। र यो कलेजले व्यक्तित्व विकास जस्ता कुराहरुलाई पनि महत्वपूर्ण रुपमा लिँदै अगाडि बढाउँदो रहेछ र श्रोत–साधनको पनि उचित व्यवस्था रहेछ, पढ्ने वातावरणका साथै शिक्षकहरु पनि दक्ष र अनुभवी रहेको थाहा पाए पछि मैले ब्रिजवाटरमै पढ्ने विचार गरेँ।’

कक्षा–११ मा भर्ना भएका प्रदीपले २ वर्षको अन्तरालमा किताबी ज्ञान मात्रै हासिल गरेनन्। धेरै व्यावहारिक कुराहरु पनि सिक्ने अवसर पाए। साथै जिन्दगीभरिलाई काम लाग्ने साथीहरु पाएको बताउँछन्।

प्रदीपले भने, ‘ब्रिजवाटर कलेजले मलाई यति धेरै कुरा दियो, ब्रिजवाटरले मेरो जीवनमा साँच्चै ब्रिज र वाटरको भूमिका निर्वाह गर्यो, ब्रिजले मलाई आउँदो जीवनसँग जोडिदियो, ब्रिजवाटरले त्यति नगरेको भए सम्भवतः अहिले डिबेट नेटवर्क नेपालको स्थापना नहुने र भएपनि अरु कसैले त्यसको स्थापना गर्ने थियो।’ 

प्रदीप डिबेट नेटवर्क नेपालका सह–संस्थापक हुन्। प्रदीपले यसअघि नै करिब ४ वर्ष उक्त संस्थाको अध्यक्षको रुपमा काम गरिसकेका छन्। अहिले डिबेट नेटवर्क नेपालका अध्यक्ष राज खरेल छन्। प्रदीप अहिले पनि सह–संस्थापकको जिम्मेवारीमा संस्थालाई अगाडि बढाइरहेका छन्।

कोशेढुंगा कार्यक्रमका २ संस्करण ब्रिजवाटरसँग सहकार्य गरेर सम्पन्न गरेको प्रदीपले बताए। यसअघिका संस्करणहरुमा पहिलो संस्करण ब्रिजवाटर र किङ्स कलेज तथा दोश्रो समंस्करण ब्रिजवाटर कलेजसँगको सहकार्यमा र तेश्रो संस्करण ओलम्पियासँग मिलेर गरिएको उनले बताए।

‘र, चौँथो तथा अहिले भइरहेको संस्करण पनि ब्रिजवाटरसँगको सहकायमा सञ्चालन भइरहेको छ,’ उनले भने। यो कार्यक्रमका लागि एकदमै सकरात्मक अभिप्रेरणाका साथै हरसम्भव साथ र सहयोग ब्रिजवाटर कलेजले प्रदान गरेको कोशेढुंगा कार्यक्रमका प्रमुख घिमिरेले बताए।

ब्रिजवाटर कलेजसँग सह–आयोजकको रुपमा सहकार्य गरिरहेको र प्रिन्सिपल सन्दीप खनाललगायत सम्पूर्ण स्टाफहरुले हौसला तथा प्रोत्साहन प्रदान गरेको उनले पष्ट पारे।

युवापुस्तालाई अगाडि बढाउन तथा युवावर्गको विकासका लागि यस्ता कार्यक्रमहरु गर्नुपर्छ भन्ने सकरात्मक प्रतिक्रिया पाएको हुनाले समग्र टिमको नै मनोबल उच्च भएको घिमिरेले बताए।

यो कार्यक्रमलाई सफल बनाउन ब्रिजवाटर कलेजले हल उपलब्ध र अन्य अत्यावश्यक सहयोगहरु गरेको प्रदीपले बताएका छन्। 

विद्यार्थीको प्रतिक्रिया के छ?

ब्रिजवाटर कलेजमा अप्रिल २० देखि शुरु शुक्रबार सम्पन्न भएको कार्यक्रमका विषयमा विद्यार्थीहरुले पनि ज्यादै सकारात्मक प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा सहभागी भानुभक्त मेमोरियल स्कूलबाट एसइई दिएकी  सुरंगना ढकालले ब्रिजवाटर कलेजमा आयोजित कोशेढुंगा कार्यक्रमबाट महत्वपूर्ण ज्ञान हासिल गरेको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकबाट कार्यक्रमबारे थाहा पाएर सहभागी भएको पनि उनले बताएकी छिन्।

‘व्यक्तित्व विकासका बारेमा कार्यक्रम हुन लागेको थाहा पाएपछि पब्लिक स्पिकिङ, वादविवाद तथा लिडरशीपजस्ता निकट भविष्यमा काम लाग्ने विषय हुन् भनेर नै सहभागी भएकी हुँ,’ उनले भनिन्, ‘जस्तो आशा गरेर सहभागिता जनाएकी थिएँ, त्यो आशा पूरा भएको छ, नयाँ विषयको ज्ञान हासिल भयो, डिबेट नेटवर्क नेपाल र ब्रिजवाटर इटरनेशनल कलेजलाई धन्यवाद।’


 

More form the Internet

loading...