Suvadin, Home

पैसा बोकेर हिँडेका काकाको दुर्घटनामा मृत्यु
उपचार खर्च नहुँदा अस्पतालमै बन्धक

उपचारका लागि बुटवल आउँदा ५० हजार रुपैयाँ ल्याइएको श्रीमान् राजेन्द्र रोकाले बताए। तर, बोकेर आएको उपचार खर्चले भ्याएन। केही दिन त्यतिकै कुरे। अस्पतालले घर जान नदिएपछि रोकाले काका वीरबहादुर रोकालाई भेडा बेचेर पैसा ल्याउन अह्राए। भेडा बेचेर वीरबहादुर चार दिनअघि हिँडेका थिए। साथमा साढे तीन लाख रुपैयाँ थियो। तर, जाजरकोटमा भएको दुर्घटनामा परी वीरबहादुर बिते। जाजरकोट दुर्घटनामा घाइते भएका वीरबहादुरको आइतबार मृत्यु भएको थियो। ‘हामी घरका न घाटका जस्तै भयौं, कसलाई के भनौं,’ राजेन्द्रले लामो सास फेर्दै भने।
चौराह अस्पतालमा उपचार खर्चबापतको पैसा तिर्न नसकेपछि बन्धक बनेकी कल्पना रोका। तस्बिर : विकाश/शुभदिन

बुटवल, चैत १४ - भीरबाट लडेर घाइते भएकी जाजरकोट पजारु गाविस वडा नम्बर ९ की कल्पना रोका पैसा नहुँदा बुटवलको चौराह अस्पतालमा बन्धक भएकी छिन्। चौराह अस्पतालले उपचार खर्चबापतको पैसा तिर्न नसकेपछि उनलाई घर जान दिएको छैन।

उनी झन्डै दुई साताअघि नै निको भइसके पनि उनी घर फर्किन नपाएकी हुन्। अस्पतालमा पैसाको अभाव खेपिरहेकी उनलाई दुई लाख १३ हजार रुपैयाँ उपचार खर्च तिर्नु छ।

रोका अस्पतालमा उपचार खर्च अभाव खेपेपछि उनलाई अस्पतालबाट उकासेर घर लैजान काका ससुरा नहिँडेका होइनन्। तर, उनी बीचमै दुर्घटनामा परे। उनको मृत्यु भएपछि रोका झन् अप्ठेरोमा परिन्।   

‘दैव पनि कस्तो,’ महिला वार्डमा रहेकी उनले शुभदिनसँग भनिन्, ‘यहाँबाट अब म कसरी उक्सिने होला!’

३५ दिनअघि उनी सोत्तर ल्याउने क्रममा भीरबाट खसेर घाइते भएकी थिइन्। भेरी अस्पताल र नर्सिङहोममा उपचार सम्भव नभएपछि रोकालाई बुटवल ल्याइएको थियो। उनको छाती, पेट र टाउकोमा चोट लागेको थियो। टाउकोको अप्रेसन भइसकेको छ। डाक्टरका अनुसार उनलाई अब अस्पतालमा राखिरहन पर्दैन।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय निजी तथा गैरसरकारी स्वास्थ्य संस्था नीति, मापदण्ड एवम् पूर्वाधार निर्देशिका अनुसार निजी अस्पताल आउने असहाय र गरिब परिवारका १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ। तर, अस्पतालले यो व्यवस्थाको सुविधा रोकालाई दिएको छैन।  

स्वास्थ्य मन्त्री गगन थापाले १० प्रतिशतको व्यवस्था लागू गराउन धेरै प्रयास गरिरहेका छन्। यो व्यवस्था कार्यान्वयन भए बिपन्न तथा गरिब बिरामीले उपचार खर्च तिर्न नसके अस्पतालले शुल्क मिनाहा गरिदिन सक्छन्।

उपचारका लागि बुटवल आउँदा ५० हजार रुपैयाँ ल्याइएको श्रीमान् राजेन्द्र रोकाले बताए। तर, बोकेर आएको उपचार खर्चले भ्याएन। केही दिन त्यतिकै कुरे। अस्पतालले घर जान नदिएपछि रोकाले काका वीरबहादुर रोकालाई भेडा बेचेर पैसा ल्याउन अह्राए।

भेडा बेचेर वीरबहादुर चार दिनअघि हिँडेका थिए। साथमा साढे तीन लाख रुपैयाँ थियो। तर, जाजरकोटमा भएको दुर्घटनामा परी वीरबहादुर बिते। जाजरकोट दुर्घटनामा घाइते भएका वीरबहादुरको आइतबार मृत्यु भएको थियो। ‘हामी घरका न घाटका जस्तै भयौं, कसलाई के भनौं,’ राजेन्द्रले लामो सास फेर्दै भने।

रोकाका दुई छोरी दुई छोरा छन्। उनीहरूको मुख्य आम्दानीको स्रोत भेडा हो। भेडा बेचेर ल्याएको पैसा पनि हात नलागेपछि उनीहरूलाई पिरलो थपिएको छ।

यता, कल्पना रोका दुई लाख साथमा नहुँदा बुटवल अस्पतालमा बन्धक भएपछि उनको सहयोगार्थ बुटवलका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको समूहले आर्थिक संकलन अभियान सुरू गरेको छ।

रोकालाई आर्थिक समस्या भएपछि अहिले सामाजिक सञ्जालको ग्रुप ‘दाह्री ग्याङ’ बुटवलले प्रतिव्यक्ति १० रुपैयाँ संकलन अभियान सञ्चालन समेत गरेका हुन्। ग्याङका संयोजक सुरक्षा क्षेत्रीले कल्पना रोकाको अस्पतालमा तिर्न बाँकी दुई लाख १३ हजार रुपैयाँ उठाउनका लागि १० रुपैयाँ संकलन अभियान थालेको बताए।

ग्याङले आइतबार बुटवलको ट्राफिक चोकमा सांगीतिक कार्यक्रमको आयोजना गरी २० हजार भन्दा बढी रकम जम्मा गरेको छ। तीन दिनदेखि थालिएको अभियानमा करिब एक लाख २५ रुपैयाँ जम्मा भएको संयोजक क्षेत्रीको भनाइ छ।

ट्राफिक चोकमा भएको सांगीतिक कार्यक्रममा वसन्त श्रेष्ठ, अर्जुन मिश्र, अमिर कुँवर, आरती रुचाल, शंकर न्यौपाने लगायत कलाकारहरूले प्रस्तुति दिएका थिए।  

 


 

More form the Internet

loading...