Suvadin, Home

लमजुङमा ऐतिहासिक संरचनाको पुनः निर्माण गर्दै नेपाली सेना

राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी वरपर सरसफाइ गरी फोहर व्यवस्थापन गर्नेलगायतका काम गरेको श्री जङ गणका गणपति माधव थापाले जानकारी दिएका छन्।

लमजुङ, फागुन १६ – नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ। नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिका अन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो। 

राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी वरपर सरसफाइ गरी फोहर व्यवस्थापन गर्नेलगायतका काम गरेको श्री जङ गणका गणपति माधव थापाले जानकारी दिएका छन्। 

जीर्ण संरचना मर्मतका लागि ३० जनाको टोली खटाइनुका साथै पुनःनिर्माणका लागि आवश्यक सामग्री पनि श्रीजङ गणले नै जुटाएको गणपति थापाले बताएका छन्। 

केही दिन अघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गढीको स्थलगत अवलोकन गर्दा ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि लमजुङस्थित श्रीजङ गणलाई मर्मतका लागि निर्देशन दिएका थिए। 

गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राइनासकोटको ऐतिहासिक एवम् धार्मिक महत्व छ। पछिल्लो समय राइनासमा होमस्टे शुरु भएपछि दैनिक आन्तरिक एवम् बाह्य पर्यटकको आगमन हुन थालेको छ।


 

More form the Internet

loading...