Suvadin, Home

२३ औं दिनमा केसीका माग पुरा हुने संकेत 
मनमोहन कलेज राज्यलाई बिक्री गर्न एमालेको आग्रह 

आमरण अनसन बसेको २३ औं दिन डाक्टर गोविन्द केसीको माग पुरा हुने संकेत देखिएको छ। सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार नै चिकित्सा शिक्षा विधेयक पास गर्ने र मनसायपत्र लिइसकेका मेडिकल कलेजका हकमा ‘आवश्यक परे खरिद गर्ने’ सहमति जनाएपछि केसीका माग पुरा हुने संकेत देखिएको हो। 
अनसनरत डाक्टर गोविन्द केसी।

काठमाडौं, साउन ३१–आमरण अनसन बसेको २३ औं दिन डाक्टर गोविन्द केसीको माग पुरा हुने संकेत देखिएको छ।

सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार नै चिकित्सा शिक्षा विधेयक पास गर्ने र मनसायपत्र लिइसकेका मेडिकल कलेजका हकमा ‘आवश्यक परे खरिद गर्ने’ सहमति जनाएपछि केसीका माग पुरा हुने संकेत देखिएको हो। 

सरकारको यो प्रस्तावमा अनसनरत डाक्टर केसीको प्रतिक्रिया आएको छैन। उनी राजी भए मंगलबार बेलुकीसम्म अनसन तोडिने सम्भावना छ।

अहिलेको प्रस्तावअनुसार मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गरी पारित गर्ने निर्णय गर्नेछ।

त्यही बैठकले मुख्यसचिवको नेतृत्वमा अर्थसचिव र शिक्षसचिव रहेको कमिटी बनाउनेछ, जसले मनसायपत्र पाइसकेका र किन्न आवश्यक देखिएका मेडिकल कलेज खरिद गर्न प्रक्रिया अघि बढाउनेछ। यसले सम्बन्धित कलेजहरूको सम्पत्ति मूल्यांकन गरी नेगोसियसन सुरु गर्नेछ।

मनमोहन कलेजकै कारण वार्ता बिथोलिँदै गएपछि यसले पार्टी एमाले छविमा नोक्सान पुर्याएको भन्दै आन्तरिक रूपमा आलोचना भएको थियो।  पार्टीले मनमोहन कलेज राज्यलाई बिक्री गर्ने गरी प्रक्रिया बढाउन सञ्चालकहरूलाई आग्रह गर्ने गरेको छ। 

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले यी निर्णयसँगै डाक्टर केसीलाई अनसन फिर्ता लिन आह्वान गर्नेछ। साथै, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा तत्काल डिन नियुक्त गर्न शुक्रबार नै त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरिनेछ। आइओएमबाट खोसेर लगेका अधिकार फिर्ता गर्न पनि त्रिविलाई पत्र लेखिनेछ। 

माथेमा कार्यदलको प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने गरी विधेयक तयार पारिएको थियो। संसदीय समितिले भने त्यसमा तोडमरोड गरेको छ।


 

More form the Internet

loading...