Suvadin, Home

Cover Image

शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

रसुवा । तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन ।

उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै प्रचण्ड गर्मीमा बसेर अध्ययन गर्ने गर्दछन् भने पानी परेपछि आधा पढेरै घर जानुपर्ने बाध्यता छ । “महिनावारी भएकी छु, कक्षाभित्र जाँदिन, देउता रिसाउँछन्, विद्या हराउँछ, बिरामी हुन्छु,  त्यसैले स्कुलको मूलढोका भन्दा अगाडि कक्षाकोठा भित्र जान्नँ”, उनले भनिन् । महिनावारी भएको कम्तीमा पाँच दिन कक्षाभित्र नजाने गरेको उनले बताइन् ।

मुगासँगै खुला चौरको घाममा बसिरहेका हाँसकुरा रावत, अनिसा रावत र अञ्जली रावतले पनि आफूहरु महिनावारी भएको अवस्थामा विद्यालय नआउने र आए पनि कक्षाकोठा भित्र नजाने गरेको बताए । हाँसकुराका अनुसार कतिपटक त बाहिर बसेको बेला पानी परेर बीचमै पढाइ छोडी घर जानुपरेको छ । “हप्ता दिनभित्र कुनै न कुनै एकजना छात्रा महिनावारी हुन्छन्, महिनावारी भएर विद्यालय आएपछि मूलढोका भन्दा अगाडि जाँदैनौँ, साथी एक्लै बाहिर बसेको देख्दा सबै विद्यार्थी चौरमै बसेर अध्ययन गर्छौँ”, उनले भनिन् ।  

विद्यालय परिसरमै विभिन्न देवीदेउताका मन्दिर छन् । दुई वर्षअघि पहिला महिनावारी भएर विद्यालय आउने छात्राहरु रेश्मा रावत, पद्मकली रावत र रिसिमा रावत बिरामी हुँदा धामी झाँक्रीले विद्यालयमा महिनावारी हुँदा छोइछिटो भई देवता रिसाएको भनेपछि त्यहाँका किशोरीहरु मानसिकरूपमै छाउपडी प्रथाको सिकार भइरहेका छन् ।

जनजागृति आधारभूत विद्यालय परिसरभित्र देउतै देउताका मन्दिर छन् । विद्यालय स्थापना गर्नु पहिले नै त्यहाँ देवीदेवता मन्दिर भएको ठाउँ हो । विसं २०५१ पछि उक्त ठाउँमा विद्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शेरबहादुर रावतले बताए । उनका अनुसार अन्य ठाउँमा विद्यालय स्थापनाका लागि जग्गा नपाएपछि यही ठाउँमा विद्यालय निर्माण गरिएको हो । महिनावारी भएका छात्रा र शिक्षिका देवताको मन्दिर भएको ठाउँमा र कक्षाकोठा भित्र जाँदा बिरामी हुने समस्या बढिरहेको उनले बताए । उनले भने, “यस्ता कुरालाई विश्वास गर्ने कि नगर्ने भन्ने विषयमा द्विविधा भएको छ ।” - रासस

 


 

More form the Internet

loading...