Suvadin, Home

Cover Image

'शिक्षक महासंघ रेस्लिङ खेल्ने ठाउँ होइन'

‘हामी सधैं अरुका लागि लड्यौं’ कार्यक्रमका प्रमुख अतिथि निरौलाले भने, ‘तर, शिक्षकको हितका लागि कसैले लड्न चाहेन, नेपाली शिक्षक सधैं एक्लो भएर उभिएको छ, हामी अरुको अधिकारका कुरा गर्छौं हाम्रो कुरा अरुले पनि उठाउनु पर्छ, आफ्नो अधिकार पाउनका लागि शिक्षकले सधैं संघर्ष गर्नु परेको छ।’
नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौला।

देबु बानियाँ, झापा, फागुन ११ – नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौलाले शिक्षक महासंघ रेस्लिङ खेल्ने ठाउँ नभएको बताएका छन्।

शिक्षक महासंघ झापाको प्रथम अधिवेशनको शुक्रबार बिर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष निरौलाले शिक्षक महासंघ शिक्षकहरुको हकहित, अधिकारको खाेजी गर्दै अन्याय र अत्याचारविरुद्धमा लड्ने छाता संगठन भएको बताएका हुन्।

निराैलाले कुनै दलगत स्वार्थका आधारमा रेस्लिङ खेल्ने ठाउँ नभएको बताएका हुन्। उनले शिक्षकको अधिकारका लागि सधैं कटिबद्ध रहेको महासंघ एउटै भएर जाने बताउँदै कुनै दलको आडमा रहेर बस्न नसक्ने उल्लेख गरे।

‘हामी सधैं अरुका लागि लड्यौं’ कार्यक्रमका प्रमुख अतिथि निरौलाले भने, ‘तर, शिक्षकको हितका लागि कसैले लड्न चाहेन, नेपाली शिक्षक सधैं एक्लो भएर उभिएको छ, हामी अरुको अधिकारका कुरा गर्छौं हाम्रो कुरा अरुले पनि उठाउनु पर्छ, आफ्नो अधिकार पाउनका लागि शिक्षकले सधैं संघर्ष गर्नु परेको छ।’

नेपाल शिक्षक संघका अध्यक्ष निरौलाले शिक्षकको सेवा सुविधाहरु सन्तोषजनक नरहेको बताएका छन्। उनले सरकारले दिएको सेवा सुविधाले शिक्षकलाई सन्तुष्ट पार्न नसकेको बताएका हुन्।

अध्यक्ष निरौलाले बाल शिक्षक, अस्थायी, राहत र कर्मचारीहरुको समस्यलाई उचित रुपमा सम्बोधन गरेर सबैको अधिकरलाई समान बनाउन सकेमा मात्र शैक्षिक गुणस्तर हुने बताउँदै शैक्षिक गुणस्तरका लागि शिक्षकको सेवा सुविधामा सरकारले उचित व्यवस्थापन गर्नु पर्ने बताए।

शिक्षक महासंघ झापका अध्यक्ष तेजप्रसाद चौलागाईले आफ्नो कार्यकालमा कुनै पनि शिक्षकहरुको आत्मसम्मानमा चोट पुग्ने क्रियाकलाप नगरेको बताए।

उनले कुनै पनि शिक्षकहरुलई राजनीतिक रंगको आधारमा कुनै पनि विवेध नगरिएको र शिक्षक महासंघको मुल मर्म र आदर्श अनुरुप विगतभन्दा माथि उठेर गतिविधिहरु सञ्चालन गर्न सफल भएको बताए।

निर्धारित समयमा अधिवेशन गर्न नसक्नु त्रुटी भएको बताउँदै अध्यक्ष चौलागाईले महासंघमा आबद्ध सदस्यहरुले आफ्नो विवरण बुझाउन नसक्नु र राष्ट्रिय निर्वाचनको आचारसंहिताका कारण समयमा अधिवेशन गर्न नसकेको बताए।

जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले शिक्षामा लगानी बढाउन नसक्नुले ठूलो समस्या आएको बताए। उनले अहिलेको राज्यले शिक्षामा दिएको बजेट नगन्य भएको बताउँदै कम्तिमा २० प्रतिशत बजेट छुटिनु पर्ने बताए।

विशेष अतिथि शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गोकर्ण बानियाँले शिक्षाका अधिकारहरु स्थानीय सरकारले सञ्चालन गर्ने तयारी गरेको प्रति आपत्ति जनाउँदै यदि स्थनीय सरकारले शिक्षाका अधिकारहरु सञ्चालन गर्नु आम शिक्षकहरुको दुर्भाग्य रहने बताए। उनले शिक्षा जस्तो महत्वपूर्ण अङ्गको अधिकार प्रदेश सरकारसँग रहनु पर्ने कुरामा जोड दिए।

शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर समितिका अधिकृत युवराज पाण्डे, शिक्षक महासंघका सदस्य नारायणप्रसाद गौतम, केशव ओझा, रमाकान्त चौधरी, शिक्षक महासंघ इलामका अध्यक्ष अध्यक्ष पूर्णप्रसाद गौतम, राहत संघर्ष समितिका अध्यक्ष श्याम दाहल, अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष राजेन्द्र प्रसाई, एन्टो झापाका अध्यक्ष कपिलदेव तिम्सिना, शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद गौतम, शिक्षक संगठन झापाका अध्यक्ष कृष्ण अधिकारी, शिक्षक युनियन झापका पूर्व अध्यक्ष बुद्धिमान कार्की, सीताराम अधिकारीलगायतले शिक्षकको हक र अधिकारका लागि सधैं कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थिए।

शिक्षक महसंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश साहले गरेका थिए। अधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ।


 

More form the Internet

loading...