Suvadin, Home

प्राविधिक शिक्षामा आकर्षण
गाउँको स्कूलमा शहरका विद्यार्थीको घुइँचो!

विद्यालयका प्रमुख कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पाण्डेका अनुसार विद्यालयमा गाउँभन्दा धेरै शहरी क्षेत्रका विद्यार्थी पढ्न आएका छन्। ‘शहरका धेरै विद्यार्थी गाउँमा बसेर पढ्ने गरेका छन्’, पाण्डेले शुभदिनसँग भने – ‘प्राविधिक बाली विज्ञान विषय गाउँकै विद्यालयमा पढाई हुन थालेपछि धनगढी, महेन्द्रनगर, बैतडीसहित धेरै क्षेत्रका विद्यार्थी पढ्नका लागि आएका छन्।’
बाली विज्ञान अर्थात पिजेटिए विषयमा अध्ययनरत विद्यार्थी। फाइल तस्वीर

कञ्चनपुर, २८ पुस – नेपालमा दक्ष प्राविधिक जनशक्तिको सीमितता पनि विकासमा पछि पर्नुको एउटा महत्वपूर्ण कारण हो। यसलाई राज्यकै निकायले पनि यसलाई स्वीकार्छन्।

कृषिप्रधान भनिएको नेपालमा कृषिकै प्राविधिक त धेरै नै कम छन्। त्यसैले पनि कृषिमा रहेको पछौटे अझैसम्म यथावत नै रहेको हो। तर, नेपालमा पनि शहरी क्षेत्रदेखि देहातका गाउँसम्म प्राविधिक शिक्षाको विकासका लागि साना–ठूला प्रयासहरु भइरहेका छन्। 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा पनि कृषि प्राविधिक उत्पादनका लागि विशेष पहल भइरहेको छ। विद्यालयले बाली विज्ञान अर्थात पिजेटिए विषयमा अध्ययन–अध्यापन गराइरहेको छ।

गाउँमा शहरका विद्यार्थी

गाउँबाट शहरतर्फ जाने र शहरमुखी दैनिकीमा रमाउने मानिस त धेरै हुन्छन्। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको दृश्य अलि फरक छ।

विद्यालयका प्रमुख कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पाण्डेका अनुसार विद्यालयमा गाउँभन्दा धेरै शहरी क्षेत्रका विद्यार्थी पढ्न आएका छन्। ‘शहरका धेरै विद्यार्थी गाउँमा बसेर पढ्ने गरेका छन्’, पाण्डेले शुभदिनसँग भने – ‘प्राविधिक बाली विज्ञान विषय गाउँकै विद्यालयमा पढाई हुन थालेपछि धनगढी, महेन्द्रनगर, बैतडीसहित धेरै क्षेत्रका विद्यार्थी पढ्नका लागि आएका छन्।’

झलारीमा रहेको उक्त विद्यालयमा थोरै शुल्कमा प्राविधिक शिक्षा पढ्न र रोजगारीका लागि पनि समस्या नभएकाले विद्यार्थीका आकर्षण यो विषयमा रहेका उनको धारणा छ। 

कार्यक्रम संयोजक पाण्डेले सरकारी र गैरसरकारी संस्थामा पनि रोजगारी पाइने भएकाले बाली विज्ञानप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको बताएका छन्। उनका अनुसार विद्यालयमा फलफूल बाली, तरकारी, बीउ, फूल, माटो, रोग किरा, माछा, माहुरी, रेशम, च्याउ, फार्म मेसिनरी, कृषि उपकरण, आइपिएम पाठशाला लगायतका ११ विषयमा पढाई हुने गरेको छ।

विद्यार्थीलाई ८० प्रतिशत प्रयोगात्मक र बाँकी २० प्रतिशत सैद्धान्तिक रुपमा पढाई गर्ने व्यवस्था गरिएको छ। सैद्धान्तिकका लागि एक सय ३० घण्टा र प्रयोगात्मकका लागि एक हजार २ सय ४० घण्टा पढाइ गर्ने गरी समय निर्धारण गरेको पाण्डेले बताए।

विद्यार्थीलाई सहजता प्रदान गर्नका लागि दुई किस्तामा शुल्क लिने व्यवस्था विद्यालयले गरेको छ। विद्यार्थीको पढार्ई शुल्कबापत विद्यालयले लिने ७४ हजार ४ सय रुपैयाँमध्ये पहिलो किस्तामा ४७ हजार ४ सय रुपैयाँ र दोश्रो किस्तामा २० हजार रुपैयाँ रकम लिने व्यवस्था गरिएको छ। 

पाण्डेका अनुसार १८ महिने बाली विज्ञान विषय पढेर विद्यार्थीले प्राविधिक खरिदारसरहको रोजगारी पाउने छन्। विद्यालयको स्वामीत्वमा रहेको अढाई विगाह जग्गामा विद्यार्थीले प्रयोगात्मक कक्षा लिँदै आएका छन्।

बाली विज्ञान विषय पढ्ने ४० जना विद्यार्थीमध्ये आर्थिक रुपमा अतिविपन्न परिवारका पाँच प्रतिशत विद्यार्थीको शैक्षिक शुल्क मिनाहा गरिएको छ। प्राविधिक विषयका कक्षा सञ्चालन गर्न, भौतिक तथा कृषि सामग्री खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान ब्लकअन्तर्गत तीन लाख रुपैयाँ र शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले पाँच लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ।

यस्तो छ विद्यार्थीको भनाई

कृषि विषयमा पढाई हुने विद्यालय बजार क्षेत्रमा नभएकाले ग्रामीण क्षेत्रमा रहेको विद्यालयमा भर्ना भएर पढेको विद्यार्थीहरु बताउँछन्। फेरि शहरभन्दा गाउँको माहोल राम्रो भएकाले पनि आफूहरु यो विषय पढ्न उत्साहित भएको उनीको प्रष्टोक्ति छ।

अठार महिना पढेपछि सहजै रोजगारी पाउन सकिने भएकाले उक्त विद्यालयमा विद्यार्थीको चाप बढेको हो। पाण्डेका अनुसार विद्यालयमा बैतडी, कृष्णपुर, कैलाली, रैकवार विचवा, बेदकोट र शुक्लाफाँटा नगरपालिका विद्यार्थी पढ्दै आएका छन्।


 

More form the Internet

loading...