Suvadin, Home

करारको माग गर्दै डा.महेशकुमार गजुरेल आमरण अनसनमा
आन्दोलन सफल भएको दिन टीका लगाउने घोषणा 

आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक डा. महेशकुमार गजुरेलले आमरण अनसन शुरु गरेका छन्। ६६ दिनदेखि रिले अनसन गरिरहेका आंशिक प्राध्यापकले दशैंकै बेला आन्दोलनलाई थप कडा पारेका हुन्।
प्राध्यापक डा. महेशकुमार गजुरेल आमरण अनसनमा।

काठमाडौं, असोज १२ – आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक डा. महेशकुमार गजुरेलले आमरण अनसन शुरु गरेका छन्। ६६ दिनदेखि रिले अनसन गरिरहेका आंशिक प्राध्यापकले दशैंकै बेला आन्दोलनलाई थप कडा पारेका हुन्।

त्रिवि केन्द्रीय कार्यालय किर्तिपुरको गेटमा आमरण अनसन शुरु गर्दै गजुरेलले विश्वविद्यालयले वर्षौदेखि वौद्धिक शोषण गरिरहेकाले बाध्य भएर सत्याग्रह गर्नुपरेको बताए। वौद्धिक समुदायबाट राज्यले विज्ञता लिनुपर्नेमा चरम शोषण गर्नु लाजमर्दो भएको उनको भनाइ थियो।

आंशिक प्राध्यापक संघका निवर्तमान अध्यक्ष शशीकुमार शर्मा, आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र भण्डारी सहसंयोजक ठमिन्द्र खतिवडा लगगायतले अझै पनि माग सुनुवाइ नभए देशभर सत्याग्रह शुरु गर्ने चेतावनी दिएका छन्।

यसैबिच चितवन भरतपुर स्थित वीरेन्द्र बहुमुखि क्याम्पसका आंशिक शिक्षक गजुरेललाई आंशिक प्राध्यापक संघको अध्यक्ष बनाइएको घोषणा पनि गरिएको छ।

आंशिक प्राध्यापकले यसपटक दशै नमनाउने 

यसैविच त्रिभुवन विश्वविद्यालय अन्तरगतका सबै आंशिक प्राध्यापकले यो दशै नमनाउने घोषणा गरेका छन्। अहिले आन्दोलन र आमरण अनसनमा रहेका प्राध्यापकले चाडपर्ब मनाउन नसक्ने भएकाले सबै आन्दोलनमा होमिने र जुन दिन आन्दोलन सफल हुन्छ त्यही दिन टीका लगाउने उनीहरुले घोषणा गरेका हुन्।

आंशिक प्राध्यापकलाई करार गर्न २०६३ साल भदौ ६ गते, २०६५ साल असोज २१ गते, २०६६ साल भदौ २१ गते र २०६९ साल जेठ ३२ गते नेपाल सरकारले गरेको सम्झौताको कार्यान्वयन नगरेको उनीहरुको आरोप छ।


 

More form the Internet

loading...