Suvadin, Home
Nepal life 70.8k

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छः अध्यक्ष प्रचण्ड

चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पुर्याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन्। 

चितवन, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन्। 

जिल्लाका स्वास्थ्यकर्मीहरुले बुधबार आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताएका छन्। 

चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पुर्याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन्। 

भरतपुर महानगरको नेतृत्वमा समिति निर्माण गरी जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने भन्दै उनले त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताएका छन्। भरतपुर महानगरपालिकाको गुरुयोजना देशकै नमूना गुरुयोजना बनाएर राष्ट्रलाई दिशानिर्देश गर्नुपर्ने उनले बताएका छन्। 

कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यमा पनि समृद्ध चितवन बनाउनुपर्ने बताएका छन्। समग्र चितवनको स्वास्थ्य क्षेत्रको विकासका लागि बोर्ड गठन गरी एकद्वार प्रणालीबाट काम गर्नुपर्ने उनले बताएका छन्। रोगको अनुसन्धानका लागि उच्चस्तरको प्रयोगशाला जिल्लामा स्थापना गर्नुपर्ने पनि उनले बताए। 

जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजयकुमार झाले चितवन मेडिकल हवसँगै रोगको पनि हव बन्दै गएको भन्दै समयमै सतर्कता अपनाउनुपर्ने बताएका छन्। उनले यस्तो जिल्लामा पनि चेपाङ समुदायमा बच्चाले नै बच्चा पाएको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बताए। 

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रबिन खड्काले भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर अस्पतालका समस्या, चुनौती र भावी कार्यक्रमका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।


 

More form the Internet

loading...