Suvadin, Home

Cover Image

पुरानो वास्तुकला संरक्षणमा रबिन्द्र पुरी
यसरी बन्छन् ढुंगा-माटोकै घर भूकम्प प्रतिरोधी 

उनको पहिलो प्राथमिकता मौलिक वास्तुकलाको संरक्षण अभियानलाई सहरदेखि गाउँ–गाउँसम्म पुर्याउनु हो। र, भावी पुस्तालाई आफ्नो मौलिकता बुझाउँदै अभियान हस्तान्तरण गर्नु हो। यही क्रममा उनले ‘मिसन पनौती’ अभियान चलाए। यो अभियानमा सात वटा घर मर्मत तथा पुनर्निर्माण भइसकेका छन््। पनौतीमै डिसेम्बर २०१६ मा हराएका पुराना कला संस्कृतिका मूर्ति तथा पुरातात्विक वस्तु जुटाएर संग्रहालय बनाइरहेका छन्। बेरोजगार नेपाली युवा युवालाई लक्षित गरेर उनले भक्तपुरमा नेपाल भोकेसनल एकेडेमी स्थापना गर्दैछन्। एकेडेमीले व्यावहारिक शिक्षामा आधारित रहेर उद्यममुखी हिसाबले सक्षम, दक्ष कामदारहरू उत्पादन गर्ने लक्ष्य राखेको छ।
रबिन्द्र पुरी।

काठमाडौं, वैशाख ८ - पुरानो वास्तुकलामा आधारित घर बनाउनुपर्छ भन्दा रबिन्द्र पुरीलाई धेरैले ‘बहुलायो’ भनेछन्। ढलानबाट आधुनिक घर बनाउने प्रचलनले छ्याप्पै छोपेको नेपाली समाजमा ढुंगा, माटो, इँटा, काठबाट बनेका घर पनि सुरक्षित हुन्छन् भन्दा गलत अर्थ्याइएको थियो। 

राजधानीका पुराना मौलिक घरहरूको संरक्षणमा जुटेका उनको अभियानले यतिबेला सार्थकता पाउन थाल्यो, जब महाभूकम्पले धेरै घरहरू ध्वस्त भए। बीस वर्षअघि भक्तपुरमा एउटा कुखुराको खोरलाई जीर्णोद्वार गरी उनले पुरानो वास्तुकलाको नमूना परीक्षण गरेका थिए। वास्तवमा त्यही कुखुराको खोर नै पुरानो वास्तुकला संरक्षणको श्रीगणेश थियो। 

धेरैले विश्वास गर्दैनथे। ढलानयुक्त घरमा लगभग सबै मान्छेहरूको सम्बन्ध दह्रोसँग गाँसिएको थियो। ठूल्ठूला व्यापारिक घरानादेखि साधारण मान्छेहरूमा ढलानयुक्त घरको मोह चरमउत्कर्षमा पुगेका बेला पुरानो वास्तुकला सम्झाइदिएका छन्।  

२०७२ सालमा नेपालमा महाभूकम्प आयो, भर्खर बनेका ढलान घरहरू बङ्-बङ् ढले। ढुंगा, माटो, इँटा, काठले बनेका कतिपय घर चिरा पनि परेनन्। कतिपय इँटा, माटोले बनेका घर पनि ढलेका थिए, ती कि धेरै पुराना थिए, कि विवेक नपुर्याइकन बनाइएका थिए। 

हो, त्यसबेला रबिन्द्र पुरी फाउन्डेसन धेरैले सम्झिए। खासमा ढुंगा, माटो, इँटा र काठबाट बनेका घर ढलान घरहरूभन्दा धेरै सुरक्षित हुन्छन् भन्ने बुझ्न थाले। त्यसकारण पनि राजधानीमा हिजोआज पुरानो वास्तुकलाद्वारा घर निर्माण गर्नेहरूको संख्या बाक्लिँदै गएको छ। महाभूकम्पले पुरीका लागि एउटा अवसर सिर्जना गरेको थियो, पुराना मौलिक घरहरूबारे चेत फैलाउने। 

उनले आफ्नो अभियानलाई समाजमा बेस्सरी छेडे। 

पाटन क्षेत्रमा त पुरानो वास्तकलाबाट घर बनाउने अभियानै चलाइएको छ। किनभने त्यहाँ इतिहासदेखि पुरानो वास्तुकलाबाट घर तथा दरबार निर्माण हुन्थे। आफ्नै क्षेत्र भक्तपुरमा त्यस्ता घरहरू बनाउने अभियान निकै नै चलेको पुरी बताउँछन्।

नेपालमा ८०/९० को दसकमा पुराना घरहरूको नरसंहार सुरू भयो। हिजोआज त पुराना घरहरू छैनन् भन्दा पनि हुन्छ। पुरानो संस्कृति र वास्तुकलाको यस्तो नरसंहार सहन नसकेपछि पुरीलाई सनक चढेको थियो। त्यही सनकले उनले रबिन्द्र पुरी फाउन्डेसन खोले, ठाउँ–ठाउँमा पुरानो वास्तुकलाबाट घर बनाउने अभियान चलाउन थाले। 
 
***
भूकम्पले क्षतिग्रस्त भक्तपुर–३ नम्बरको गाछेन बस्तीमा पुरी फाउन्डेसनले आठ वटा घरका लागि झ्याल, ढोका, इँटालगायतका सामग्री जुटायो। पुरानो वास्तुकलालाई जगेर्ना गर्दै भूकम्प प्रतिरोधक घर बनाउने अभियानले यहाँ विस्तारै आकार लिन थालेको छ। त्यस्तै, पनौतीमा फाउन्डेसनले १२ वटा घर बनाइसकेको छ। 

काभ्रेको दाप्चामा पुरानो कलाबाट घर निर्माण गर्ने अभियान थालनी गरिसकेको छ। काभ्रेकै फुलबारीमा सिंगै बस्ती पुरानो वास्तुकलाबाट निर्माण गर्ने अभियान थालिइसकेको छ। 

फुलबारीमा बन्ने बस्तीको नमूना।


फाउन्डेसनले काभ्रेपलाञ्चोक, भक्तपुर, गोरखा, नवलपरासी र नुवाकोटमा सात वटा सामुदायिक स्कुल बनाइसकेको छ। अरु चार वठा स्कुल बनाउने क्रम जारी रहेको पुरी बताउँछन्। 

***
हालै, पत्रकार रबिन्द्र मिश्रले साझा पार्टी स्थापना गरे। कुपण्डोलमा एउटा घरको रुपरंग रातदिन फेरिन थाल्यो। दुई महिनाबीचमै यो घरको रुपरंग बदलिएपछि स्थानीय चकित भए। 

पुरीका अनुसार आधुनिक चालढालमा रहेको यो घरलाई मौलिक नेपाली घर बनाइएको हो। पार्टीको कार्यालयका लागि भाडामा लिने निश्चित भएपछि मिश्र पुरीकहाँ पुगेका रहेछन्। 

‘पुरानो मौलिकता खोज्न हामी कहाँ जाने त? भनेर मैले उहाँले निर्माण गरिरहेको घरजस्तै बनाऔं भनेर प्रस्ताव लिएर गएको थिएँ,’ मिश्रले भने, ‘पुरानो मौलिकता हराइरहेको समाजलाई हामीले सम्झाउन जरुरी भइसकेको छ।’ 

पुरी अलि चिन्तित छन्, पुरानो वास्तुकलाका घर नरसंहार भइरहेको देखेर। नेपाल यस्तो मुलुक हो, जहाँ पुरातात्विक र वास्तुकलाले भरिएको थियो। आफ्नै क्षेत्रमा पाइने वस्तुहरूले निर्माण गरेका कलाकृतिका घर, दरबार हेर्न विदेशीहरू नेपाल ओइरिन्छन्। खासगरी, ऐतिहासिक दरबारहरूमा यस्तो कलाकृति देखिन्थ्यो।  

‘तर, त्यस्ता घर विस्तारै हराउँदैछन्, हामीले अहिले कहाँ देखाउने हाम्रो मौलिक वास्तुकला?,’ पुरी भन्छन्, ‘त्यसकारण पनि म पुरानो वास्तुकला संरक्षणमा लागेको हुँ।’ 

भक्तपुरमा तेह्र वर्षअघि प्रसिद्ध नमूनाघर बनाएपछि उनलाई धेरैको नजरले खिचेको रहेछ। सन् २००४ मा युनेस्कोको एसिया प्रशान्त क्षेत्रकै अवार्ड पाएपछि पुरी अझ आफ्नो अभियानमा हौसिएका हुन्। 

उनले आफ्नो जीवनमा एउटा संकल्प गरेका छन्, आफ्नो आधा कमाइ यही अभियानमा खर्च गर्छु। उनको समाजसेवी भावनालाई धेरैले प्रशंसा पनि गरिरहेका छन्। 

***

पुरी २०२६ सालमा भक्तपुरमा जन्मे। यहीँ पढे। एसएलसी पास गरे। चार वटा विषयमा नेपालमै स्नातकसम्मको अध्ययन गरे। त्यसपछि स्नातकोत्तर गर्न उनी जर्मन गए। जर्मनको ब्रेमिन विश्वविद्यालयमा ‘डेभलपमेन्ट पोलिसी’ विषयमा स्नातकोत्तर गरे। उनी विश्वविद्यालयकै सर्वोत्कृष्ट अंक ल्याएका ‘टप’ विद्यार्थी थिए। 

नेपालजस्तो विकासोन्मुख मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उनले ज्ञान यहीँ हासिल गरेका थिए। पढाइ सकेपछि जर्मनमैै बसेर काम गर्ने थुप्रै अवसर थिए। उनी सन् १९९३ मा जर्मन गएका उनी सन् १९९६ मा पढाइ सकिनेवित्तिकै नेपालमै केही गर्छु भनेर फर्किए। 

जर्मन अन्तर्राष्ट्रिय विकास संस्था ९जिटिजेड० मा केही समय काम गरे। तर, नेपालका मौ लिक घरहरू नरसंहार भएको देख्न नसकेर जागिर छोडे अनि संरक्षणको अभियान चलाए। 

‘मैले शून्यबाट काम थालेको थिएँ, अहिले अभियानले निकै सार्थकता पाएको छ,’ उनी भन्छन्, ‘अभियानलाई मजबुत बनाउन प्रतिष्ठान स्थापना गरेँ, यो प्रतिष्ठानमा मैले आफ्नो जीवनको आधा कमाइ सञ्चित गरेको छु।’ 

उनको पहिलो प्राथमिकता मौलिक वास्तुकलाको संरक्षण अभियानलाई सहरदेखि गाउँ-गाउँसम्म पुर्याउनु हो। र, भावी पुस्तालाई आफ्नो मौलिकता बुझाउँदै अभियान हस्तान्तरण गर्नु हो। यसैका निम्ति उनी संघर्ष गरिरहेका छन्। 

यही क्रममा उनले ‘मिसन पनौती’ अभियान चलाए। यो अभियानमा सात वटा घर मर्मत तथा पुनर्निर्माण भइसकेका छन्। पनौतीमै डिसेम्बर २०१६ मा हराएका पुराना कला संस्कृतिका मूर्ति तथा पुरातात्विक वस्तु जुटाएर संग्रहालय बनाइरहेका छन्।

बेरोजगार नेपाली युवा युवालाई लक्षित गरेर उनले भक्तपुरमा नेपाल भोकेसनल एकेडेमी स्थापना गर्दैछन्। यो एकेडेमीले व्यावहारिक शिक्षामा आधारित रहेर उद्यममुखी हिसाबले सक्षम, दक्ष कामदारहरू उत्पादन गर्ने लक्ष्य राखेको छ। 

जसमध्ये विशेषगरी इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टरलगायत सिपमा जोड दिइनेछ। निर्माण खर्चमात्र २ करोड ७० लाख अनुमानित उक्त एकेडेमी भवनका लागि उनी आफैंले ३ करोड मूल्य बराबरको जग्गा उपलब्ध गराइसकेका छन्।   

यस्तै, सुलेन फ्युअर नेपालसँगको सहकार्यमा पनौतीमा नेपाल भोकेसनल एकेडेमी स्थापना भइसकेको छ। उनले यहाँ कन्स्ट्रक्सनको कामका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेका छन्। त्यहाँ २५० कामदार छन्। तर, काम यतिधेरै छ कि पाँच सयभन्दा बढीलाई रोजगारी दिन सकिन्छ। 

‘यहाँ उत्पादन हुने जनशक्तिले नेपालमा रोजगारी पाउँछ, नेपालमै मौलिक घरहरू बनाउँछ,’ उनले भने। 

ढुंगामाटोले बनेका घर कति सुरक्षित? पुरी विश्वाससात भन्छन्, ‘हाम्रा बाबुबाजेले बनाएका ढुंगामाटोका घर अहिलेसम्म ज्यूँका त्यूँ छन्, किन सुरक्षित नहुने?’ 

उनका अनुसार ढुंगा–माटोको घरलाई नै भूकम्प प्रतिरोधक बनाउन सकिन्छ। यसमा आवश्यक सिप, ज्ञान र मेहनत भने चाहिन्छ।

‘त्यसैले त मैले एकेडेमी नै खोलेर ज्ञान, सिप र अध्ययनको मार्ग खोलेको हुँ,’ पुरीले भने। 

‘काठले बनेको घर हत्पत भूकम्पले भत्काएको देखिँदैन,’ उनी भन्छन्। उनका अनुसार इञ्जिनियरिङ हिसाबले यस्ता घरलाई कसरी भूकम्प प्रतिरोधक बनाउन सकिन्छ भनेर सरकारले पनि चासो दिए हाम्रो पुरानो वास्तुकला संरक्षणमा मद्दत पुग्नेछ। 

सरकारले चाहे गरोस्, नगरोस् तर उनी भने आफ्नो अभियानमा तलमाथि हुने छैनन्।


 

More form the Internet

loading...