Suvadin, Home

उद्यमशील युवाको प्रेरक कथाः
२९ वर्षको उमेरमै प्रतिष्ठित कलेजको सिइओ र प्रिन्सिपल

सन्दीप उद्यमशीलतामा विश्वास राख्ने युवा हुन्। राष्ट्रप्रतिको जिम्मेवारी र समाजप्रतिको दायित्वले उनलाई निरन्तर घच्घच्याइरहन्छ। र निरन्तर उत्साहित पनि बनाइरहन्छ। व्यावसायिक विषयमा उच्च शिक्षा हासिल गरेपनि सन्दीपलाई कुनै तेश्रो मुलुकले आकर्षण गरेन। ‘जे गर्नुछ यही देशमा गर्छु, मैले मेरो देशलाई डेराजस्तो ठानेर हुँदैन,’ सन्दीपको धारणा प्रष्ट छ, ‘हामीले नबनाए अब देश बन्दैन, त्यसैले स्वदेश निर्माणका लागि जुट्नैपर्छ।’
सन्दीप खनाल।

काठमाडौं, चैत ९ – दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, ‘सपना देख्नेले नै जीत हासिल गर्छ।’ तर देखिएका सपना पुरा गर्नका लागि मानिसमा उत्तिकै उत्साहजनक तत्परता र लगनशीलता आवश्यक पर्छ।

‘नेपालमा केही हुँदैन’ वा ‘केही अवसरै छैन’ भनेर विदेशिने युवामा न त त्यो तत्परता नै देखिन्छ, न त राष्ट्रप्रतिको दायित्वबोध गरेर लगनशीलताका साथ आफ्ना कर्मतर्फ अग्रसर भएको पाइन्छ। तर केही युवाहरु पृथक छन्, उनीहरुले राष्ट्रप्रतिको दायित्वबोध गरेका छन्। सोही अनुरुप राष्ट्रनिर्माणको महान अभियानमा आ–आफ्नो स्थानबाट योगदान गरिरहेका छन्। हो, यही अभियानमा सरिक युवा हुन् सन्दीप खनाल।

सन्दीप उद्यमशीलतामा विश्वास राख्ने युवा हुन्। राष्ट्रप्रतिको जिम्मेवारी र समाजप्रतिको दायित्वले उनलाई निरन्तर घच्घच्याइरहन्छ। र निरन्तर उत्साहित पनि बनाइरहन्छ। व्यावसायिक विषयमा उच्च शिक्षा हासिल गरेपनि सन्दीपलाई कुनै तेश्रो मुलुकले आकर्षण गरेन। ‘जे गर्नुछ यही देशमा गर्छु, मैले मेरो देशलाई डेराजस्तो ठानेर हुँदैन,’ सन्दीपको धारणा प्रष्ट छ, ‘हामीले नबनाए अब देश बन्दैन, त्यसैले स्वदेश निर्माणका लागि जुट्नैपर्छ।’

काठमाडौंको सिनामंगलस्थित ब्रिजवाटर कजेलको प्रिन्सिपलको चेम्बरमा शुभदिनसँगको संवादका क्रममा यी २९ वर्षीय युवा सन्दीपमा देखिएको आत्मविश्वास ‘मर्निङ सोज् दी डे’झैँ लाग्थ्यो। उनी विदेशमा पढेर फर्किए। र स्वदेश फर्किने बित्तिकै एउटा कलेजको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी निभाउन शुरु गरे। सानै उमेरमा उनको नेतृत्व क्षमता प्रष्ट देखियो। आफूले पाएको अवसरलाई अधिकतम् सदुपयोग गर्न सन्दीपले कुनै कसर बाँकी राखेनन्। 

सन्दीपको यात्रा लामो छ। उनका पाइला अघि बढिसकेका छन्। समझदारीपूर्ण ढंगले अघि बढ्न सक्षम छन् उनी। त्यसैले पछिल्लो समय यी युवालाई एक उदाउँदा नक्षत्रको रुपमा हेरिन थालेको छ।

‘हिसाबकिताब गरेर बस्ने काम मेरो होइन भन्ने लाग्यो,’ सन्दीपले शुभदिनसँग भने, ‘त्यसपछि सीए पढ्न छोडिदिएँ।’

सीए छाडे, उद्यमशीलता रोजे

काठमाडौंको बानेश्वरका सन्दीप खनालको जन्म वि.सं. २०४५ साल जेठ महिनाको १९ गते बुवा दासीराम खनाल, आमा अञ्जली खनालका सुपुत्रका रुपमा भएको हो। सन्दीपकी एउटी बहिनी छिन् अंकिता खनाल। र, सन्दीपको विवाह एक वर्षअघि कञ्चन खनालसँग भयो। सन्दीप र कञ्चनले एमबिए अध्ययन पनि एकैसाथ गरेका हुन्।

ज्ञानेश्वरस्थित इन्टरनेशनल प्राइमरी स्कूलमा नर्सरीदेखि कक्षा ५ सम्म पढेका सन्दीपले कक्षा ६ देखि १० सम्म होलील्याण्ड स्कूलमा अध्ययन गरेका छन्। प्लस–टु जेभियर्स स्कूलबाट गरेपछि सन्दीपले सीए पढ्न शुरु गरे। तर, दुई वर्ष पढेपछि उनको अध्ययन यात्रा अर्कैतिर मोडियो। ‘हिसाबकिताब गरेर बस्ने काम मेरो होइन भन्ने लाग्यो,’ सन्दीपले शुभदिनसँग भने, ‘त्यसपछि सीए पढ्न छोडिदिएँ।’

र, सन्दीप काठमाडौं कलेज अफ म्यानेजमेन्टमा स्नातक तहको अध्ययनका लागि भर्ना भए। बिबिआइएसमा उनले उद्यमशीलता विषय छनोट गरे। र, अध्ययनलाई निरन्तरता दिन थाले।
सन्दीपको अध्ययनको दायरा त्यतिबेला अझै फराकिलो हुनपुग्यो, जतिबेला उनी पढाईकै शिलशिलामा थाइल्याण्ड पुगे। 

बहुआयामिक सन्दीपले एस इन्स्टिच्यूटबाट एमबिए गरेका छन्। सन्दीपको व्यावसायिक र सामाजिक जीवनमा प्रवेश कलेज पढ्दा नै शुरु भएको हो।

व्यवसाय र अध्ययन सँगसँगै

उच्च शिक्षा हासिल गर्नका लागि थाइल्याण्ड पुगेका सन्दीप खनालले त्यहाँ व्यावसायिक जीवन पनि प्रारम्भ गरे। पढाईमा ग्य्राजुएट हुँदै गर्दा उनी व्यवसायको अनुभव पनि हासिल गर्दैथिए। ‘नर्वेका एक जना साथीसँगको सहकार्यमा होलसेलमा जिन्स ल्याउन थालेँ,’ सन्दीपले शुभदिनसँग भने, ‘न्यूरोडमा पसल नै सञ्चालन गरेँ।’ 

बहुआयामिक सन्दीपले एस इन्स्टिच्यूटबाट एमबिए गरेका छन्। सन्दीपको व्यावसायिक र सामाजिक जीवनमा प्रवेश कलेज पढ्दा नै शुरु भएको हो। बिबिआएएस अध्ययन गर्दाताका सोसियल वेलफेयर क्लब स्थापना गरिएको उनले बताए। त्यही क्लबमार्फत समाजसेवाको यात्रा पनि उनले प्रारम्भ गरेका हुन्। 

ग्रामीण क्षेत्रमा सूचना–प्रविधि सम्बन्धी सेवाको विस्तार गर्ने अभियान अन्तरगत डिजिटल लाइब्रेरी स्थापना गर्ने अभियानमा उनी जुटे। जसको संयोजन गरेको थियो, टेक्नो कटेज नेपालले। उक्त संस्था विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा साक्षर बनाउने अभियानमा जुटिरहेको छ। सन् २०११ मा दोलखा गएर विद्यार्थीहरूलाई सूचना प्रविधिमा अब्बल बनाउने उद्देश्यले काम गरे।

लायन्स क्लबको सहयोगमा कोटेश्वरस्थित अनाथालयमा तथा धादिङमा पनि विद्यार्थीहरूलाई उचित शिक्षादिक्षा दिने कार्यमा उनी संलग्न रहे। ‘कम्प्युटरको हार्डवेयर र सफ्टवेयर के हो भन्ने विषयमा जानकारी नभएका विद्यार्थीलाई प्राथमिक शिक्षा प्रदान गर्नु नै हाम्रो प्रमुख उद्देश्य थियो,’ उनले भने।

अंगेजी र नेपाली टाइपिङ सिकाउनेदेखि गेम खेलाएर बालबालिकाहरूलाई कम्प्युटरप्रतिको प्रारम्भिक जानकारी र आकर्षण बृद्धि गरियो। विद्यार्थीहरूलाई छात्रवृति प्रदान गरेर उज्यालो भविष्य निर्माणमा सहयोग पुर्याउन पनि सन्दीप लागिरहेका छन्। 

सन्दीपले टेक्नो कटेजमार्फत सहयोग गरेर शुभराजलाई छात्रवृति दिलाए। र सन्दीपकै सहयोगमा शुभराजले स्नातक तहको पढाई पूरा गरेका छन्।

शुभराजलाई उच्च शिक्षा

शुभराज तामाङ एक यस्ता विद्यार्थी हुन्, जसले भूकम्पमा आफ्नो घर गुमाए। शुभराजका अभिभावकले चिया पसल गरेर उनलाई पढाउनु पर्ने स्थिति आयो। तर, उनको परिवारमा सारथी बनेर उभिदिए सन्दीप खनाल।

भूकम्पका बेला ओटुस्थित उनको घर भत्कियो। डल्लुमा बस्न थालेपछि उनी पढाईमा अघि बढ्न पनि संघर्ष गर्नुपर्ने स्थितिमा पुगे।

तर सन्दीपले टेक्नो कटेजमार्फत सहयोग गरेर शुभराजलाई छात्रवृति दिलाए। र सन्दीपकै सहयोगमा शुभराजले स्नातक तहको पढाई पूरा गरेका छन्।

सन्दीपले बैंकक विश्वविद्यालयमा पनि नेपालमै जस्तो सक्रियता कायम राखे। विदेशी विद्यार्थीलाई समेटेर फरेन स्टुडेन्ट काउन्सिल गठन गरे।

बैंककमा पनि उत्तिकै सक्रिय

काठमाडौं कलेज अफ म्यानेजमेन्टमा जतिबेला सन्दीप खनाल अध्ययनरत थिए, त्यतिबेला नै उनले कसरी नाफा कमाउने, कसरी नेतृत्व गर्ने भन्ने सिकिसकेका थिए। केसिएममा स्टुडेन्ट काउन्सिलको उपाध्यक्ष रहेका सन्दीपले अरूलाई समेट्न र अघि बढ्न सिके। ‘आत्मविश्वास पनि अभिबृद्धि भयो, नेपालमै केही गर्न सकिन्छ भन्ने अठोटको पनि विकास भयो,’ उनले भने।

जब सन्दीप अध्ययनका लागि बैंकक पुगे, उनलाई सानो तलाउको माछा ठूलो तलाउमा आए जस्तो लाग्यो। ‘मलाई अंग्रेजीमा आफू अब्बल छु जस्तो लाग्थ्यो, तर त्यहाँ गएपछि मात्रै मलाई आफ्नो कमजोरी थाहा भयो, यहाँ नेपालीमा सोचेर अंग्रेजीमा बोल्ने परिपाटी छ, तर त्यहाँ अंग्रेजीमै सोच्न थालेँ, यसरी नयाँ शैक्षिक अवधारणामा मेरो प्रवेश भयो,’ उनले भने।

सन्दीपले बैंकक विश्वविद्यालयमा पनि नेपालमै जस्तो सक्रियता कायम राखे। विदेशी विद्यार्थीलाई समेटेर फरेन स्टुडेन्ट काउन्सिल गठन गरे। उनी नै उक्त संस्थाको संस्थापक हुन्।

‘बाहिरबाट त्यहाँ पुगेका विद्यार्थीको हितमा काम गर्नु नै उक्त संस्थाको उद्देश्य थियो,’ उनले भने, ‘धेरैतिरका विद्यार्थी र नयाँ माहोलले मैले त्यहाँ धेरै कुरा सिक्ने अवसर पाएँ।’

पञ्चायतकालमै बनेका भौतिक संरचनाले अहिलेका विद्यार्थीको मनोविज्ञान र आवश्यकता सम्बोधन गर्न नसक्ने उनको तर्क छ।

पढाईमा अब्बल सन्दीप

पढाईमा अब्बल सन्दीप कक्षामा सधैँ मेधावी विद्यार्थीका रूपमा रहे। प्राथमिक तहदेखि जेभियर्ससम्म प्रथम रहेर अध्ययन गरेका उनी बैंकक गएर पनि उत्तिकै क्षमतावान विद्यार्थी कहलिए। अध्ययनमा कटिबद्ध रहने सन्दीपले बैंककमा नयाँ शैक्षिक प्रणाली अनुसार अध्ययनको अवसर पाए।

‘यहाँ वर्षभरिको पढाईको परीक्षा एकै पटक हुन्छ, तर त्यहाँ वर्षभरि गरेको प्रस्तुतिका आधारमा पास हुने व्यवस्था छ,’ उनले भने, ‘परीक्षा प्रणालीले पनि विद्यार्थीको समग्र विकासमा फरक पार्दाे रहेछ रहेछ भन्ने बोध भयो।’

विदेशी विश्वविद्यालयहरूको भौतिक संरचनाले पनि विद्यार्थीको पढाईमा प्रभाव पार्ने अनुभव सन्दीपको छ। पञ्चायतकालमै बनेका भौतिक संरचनाले अहिलेका विद्यार्थीको मनोविज्ञान र आवश्यकता सम्बोधन गर्न नसक्ने उनको तर्क छ।

त्यसैगरी शिक्षकको पढाउने शैली र अनुभवमा पनि धेरै कुरा भर पर्ने उनले बताए। ‘कक्षा कोठामा शिक्षकले सद्भाव र प्रेरणाले भर्नुपर्छ,’ उनले भने, ‘अनि मात्रै विद्यार्थीलाई पढाईमा लाग्न उत्प्रेरणा सिर्जना हुन्छ।’

लायन्स क्लबमा दश वर्षयता क्रियाशील रहेका उनी विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका छन्। सन्दीप लायन्स क्लब अफ काठमाडौं सिटिजन्सका च्याप्टर्स प्रेसिडेन्ट हुन्।

सामाजिक सेवाको क्षेत्रमा

सन्दीप सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय छन्। लायन्स क्लबमा दश वर्षयता क्रियाशील रहेका उनी विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका छन्। सन्दीप लायन्स क्लब अफ काठमाडौं सिटिजन्सका च्याप्टर्स प्रेसिडेन्ट हुन्।

लायन्स क्लबले मानिसको आँखाको सेवा र सुरक्षाका विषयमा प्रमुखताका साथ काम गर्ने गरेको छ। त्रिभुवन विश्वविद्यालयमा स्थापना गरिएको टियू लायन्स ब्लड ट्रान्सफ्यूजन सेन्टरका संस्थापक सदस्य हुन् उनी। आँखादान, रक्तदान तथा धेरै स्थानमा लाइब्रेरी स्थापना गर्ने कार्यमा उनको टिम सक्रिय छ। 

नेपालको शिक्षा प्रणाली

नेपालीको शिक्षा प्रणालीसँग सन्दीप सन्तुष्ट छैनन्। सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीबीचमा शैक्षिकस्तरमा भारी अन्तर छ। किताबकै आधारमा मात्रै परीक्षा दिनुपर्ने बाध्यतामा विद्यार्थी रहेका छन्। कम्प्युटर शिक्षाको पहुँच स्थापित भइसकेको छैन। यो परिवेशमा सरकारी निकायको मनपरी अझै अशोभनीय रहेको बताउँछन् सन्दीप।

सार्वजनिक स्कुलका विद्यार्थीले शैक्षिकस्तर बृद्धि गर्न समय अनुकूल शैक्षिक वातावरणको निर्माण गर्नुपर्नेमा उनको जोड छ। विज्ञान तथा प्रविधिका प्रयोगशालाहरूको निर्माण गर्दै जाने र गुणात्मक शिक्षकमा जोड दिनुपर्ने सन्दीपले बताएका छन्।

व्यावसायिक जीवनमा प्रवेश गर्न सन्दीपलाई उनका बुवाको सहयोग रह्यो। सन्दीपका बुवा दासीराम खनाल बिजनेश डेभेलोपमेन्ट एण्ड नलेज सपोर्टका अध्यक्ष हुन्।

व्यावसायिक जीवन

सन् २०१० बाट सन्दीपले औपचारिक रूपमै व्यावसायिक जीवन प्रारम्भ गरेका हुन्। थाइल्याण्डबाट कपडा ल्याइने र नेपालमा बिक्री गर्ने गरिएको उनले बताए। भाटभटेनीका सबै स्टोरहरूमा उनले कपडा दिने गरेका छन्। ‘आम्दानीको श्रोत राम्रो छ,’ उनले भने।

व्यावसायिक जीवनमा प्रवेश गर्न सन्दीपलाई उनका बुवाको सहयोग रह्यो। सन्दीपका बुवा दासीराम खनाल बिजनेश डेभेलोपमेन्ट एण्ड नलेज सपोर्टका अध्यक्ष हुन्। बुवाको सहयोगले पनि उनलाई अघि बढ्न मद्दत मिल्यो। 

यसरी व्यावसायिक जीवन प्रारम्भ गरेका सन्दीपले ब्रिजवाटर इन्टरनेशनल कलेजको फाइनान्सियल कन्सल्ट्यान्ट भएर काम गरे। सोही जिम्मेवारीबाट उनी शैक्षिक सेवामा प्रवेश गरेका हुन्।

त्यसपछि फाइनान्स प्रमुखको जिम्मेवारी पाए। सन् २०१२ देखि ४ वर्षसम्म उनी सोही जिम्मेवारीमा रहेर काम गरे। उनले भने, ‘कलेजको समग्र आर्थिक योजना बनाउने काम गरेँ, क्याम्पसको आर्थिक स्थिति पनि पहिलेभन्दा राम्रो हुँदै गयो।’ त्यसबीचमा उनले मार्केटिङ मेजर राखेर एमबिए पूरा गरे। 

ब्रिजवाटर एजुकेशन फाउण्डेसन एण्ड रिसर्च सेन्टरले यही आर्थिक वर्षबाट सिइओ र प्रिन्सिपलको जिम्मेवारी दिएको हो।

सिइओ र प्रिन्सिपलको जिम्मेवारी

शैक्षिक क्षेत्रमा सन्दीपको प्रवेश परामर्शदाताको भूमिकामा भएकाे थियो। तर उनी नेतृत्वकै रुपमा स्थापित हुन पुगे। उनी समग्र परिवेशलाई बुझ्न सक्थे। र नयाँ रणनीति पनि बनाउन सक्थे। त्यही भएर पनि सन्दीपलाई नयाँ जिम्मेवारी आयो। ब्रिजवाटर एजुकेशन फाउण्डेसन एण्ड रिसर्च सेन्टरले यही आर्थिक वर्षबाट सिइओ र प्रिन्सिपलको जिम्मेवारी दिएको हो।

सेन्टरका अध्यक्ष रञ्जितराज आचार्यले सन्दीपको क्षमताबाट प्रेरित भएर संस्थाको कार्यकारी जिम्मेवारी प्रदान गरेका हुन्। सिइओ र प्रिन्सिपलको जिम्मेवारीमा आएपछि सन्दीपले अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरेर काम गरिरहेका छन्। शुरुमा कस्ट सेन्टर र प्रोफिट सेन्टर छुट्याएर काम थालनी गरे। 

यातायात पनि आउट सोर्सबाट गराउन थाले। ‘गाडी आफ्नै हुँदा १२ महिनाको खर्च धान्न पर्ने, तर खासमा ७ महिना मात्रै गाडी सञ्चालन हुने हुँदा सबैभन्दा धेरै खर्च त्यसबाट बँच्ने रहेछ,’ उनले आफ्नो योजनाको शुरुवातमा गरेका काम सुनाए।

होस्टेलको व्यवस्थापन उनले आफ्नै साथी सुरेन लिम्बुलाई दिए। सुरेनले आवश्यक योजना बनाएपछि होस्टेलको सञ्चालनको ढाँचा नै फेरियो। 

सन्दीपको अर्काे योजना थियो, विद्यार्थीहरूलाई खेल्ने ठाउँको निर्माण। सिनामंगलमै फुटसल निर्माण गरियो। कलेजको मैदान र शिक्षक तथा कर्मचारीको संयुक्त लगानीमा फुटसल सञ्चालनमा आयो। विद्यार्थी खेल्ने बाहेक बिहान बेलुका ट्रेनिङ सेन्टरको रूपमा उक्त मैदानलाई प्रयोग गरिन्छ। ‘त्यसबाट आम्दानी गर्ने माध्यम पनि बन्यो,’ उनले भने। 

‘नेपालमा उमेरले फरक पार्दाे रहेछ, त्यस कारण मैले यसलाई चुनौतिकै रूपमा लिएँ, र अहिले त्यही चुनौतिलाई चिरेर अघि बढिरहेको छु,’ उनले भने।

प्रिन्सिपल बनेपछि...

नेपालमा उमेर पनि जिम्मेवारी सवालमा कारक बनिदिन्छ। जब सन्दीप खनाल प्रिन्सिपलको जिम्मेवारीमा आए उनले पनि त्यो महसुस गरे। ‘नेपालमा उमेरले फरक पार्दाे रहेछ, त्यस कारण मैले यसलाई चुनौतिकै रूपमा लिएँ, र अहिले त्यही चुनौतिलाई चिरेर अघि बढिरहेको छु,’ उनले भने।

उमेरको अन्तर धेरै नहुँनाले पनि विद्यार्थीसँग हेलमेल गर्न उनलाई गाह्रो परेन। प्लस–टुको शैक्षिक प्रणाली बुझेका सन्दीपले विद्यार्थीसँग हेलमेल गर्न गाह्रो भएन। प्रिन्सिपल भएपछि सबैभन्दा पहिले उनले आफू पढेको काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केएमसी) का प्रिन्सिपल विष्णुराज अधिकारीलाई भेट्न गए।

र, अधिकारीसँग प्रशासन सञ्चालनको शिक्षा लिए। ‘सरले नेतृत्व विकास कसरी गर्ने भन्ने तिमीलाई थाहा नै छ, तिमीले विद्यार्थी हुँदा शिक्षकबाट के अपेक्षा गर्थ्याैं त्यही अपेक्षा विद्यार्थीबाट गरेर अघि बढ भन्नुभयो,’ उनले भने।

सन्दीप विद्यार्थीसँग अन्तरक्रिया गर्ने र सबैलाई उत्प्रेरणा जगाउने काम गर्छन्। जसले गर्दा ब्रिजवाटरको माहोल नै फरक छ। 

साथै बिबिए र बिएचएम अध्ययन अनुबन्धका लागि प्रयास भइरहेको जनाउँदै सन्दीपले स्नातकोत्तरसम्मकै पठनपाठनको पहल भइरहेको बताएका छन्।

अबको योजना

ब्रिजवाटर इन्टरनेशनल कलेजको व्यवस्थापन अरुको भन्दा फरक छ। मन्टेश्वरी, प्राइमरी तथा कक्षा ५ देखि ८ सम्म एउटा प्रशासनीक संयन्त्र बनाएर हेर्ने व्यवस्था गरिएको छ। कक्षा ९ देखि १२ सम्म अर्को संरचनाले हेर्ने गरेको छ। साथै बिबिए र बिएचएम अध्ययन अनुबन्धका लागि प्रयास भइरहेको जनाउँदै सन्दीपले स्नातकोत्तरसम्मकै पठनपाठनको पहल भइरहेको बताएका छन्।

‘संस्कृति र संस्कारका कारणले पनि नेपाल समृद्ध छ, तर व्यवस्थापकीय कमजोरीका कारण नेपाली विद्यार्थीको सपना विदेश हुँदैछ,’ सन्दीपले भने, ‘आफ्नो देशलाई डेरा सम्झिने प्रवृतिको अन्त्य गरिए राष्ट्रको निर्माण गर्न धेरै समय लाग्दैन।’ उनले ब्रिजवाटर इन्टरनेशनल कलेजमा यही संस्कार र संस्कृति दिने प्रयासमा आफू रहेको प्रष्ट पारेका छन्।


 

More form the Internet

loading...