Suvadin, Home

सिंगापुरले सूर्तिजन्य पदार्थ खरिद गर्न पाउने उमेर २१ पुर्यायो

नेपालका तर्फबाट सम्मेलनमा भाग लिन संसदको स्वास्थ्य तथा शिक्षा समितिका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी लगायतको एउटा टोली सिंगापुर पुगेको छ।

सिंगापुर, २० मंसिर – एशियाको सम्वृद्ध मानिने देश सिंगापुरले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी आफ्ना कानूनहरुलाई थप कडा बनाउने भएको छ। सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सन् २०१९ को सुरुमै कानूनमा संशोधन गरी सूर्तिजन्य पदार्थ खरिद गर्न पाउने उमेरलाई न्यूनतम १८ वर्षबाट बढाएर २१ मा पुर्याइने भएको हो।

सिंगापुरमा मंगलबारदेखि सुरु भएको तेश्रो सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि एशिया प्रशान्त क्षेत्रका शहरहरुको अलाइन्सको सम्मेलन एपीक्याटको उद्घाटन गर्दै सिंगापुरका स्वास्थ्य तथा कानून मन्त्री इड्वीन तोंगले सूर्तिजन्य पदार्थको नियन्त्रण नियमनका लागि सरकार थप सशक्त ढंगबाट लागेको बताए।

उनले आगमी वर्षदेखि सूर्तिजन्य पदार्थ निर्माण गर्नेहरुको कुनै ट्रेडमार्क र डिजाइनहरुलाई कुनै बौद्धिक सम्पतिका रुपमा नलिइने स्पष्ट पारे। एशिया प्रशान्त क्षेत्रका देशहरुबाट सहभागीहरु जम्मा भएर सिंगापुरमा सुरु भएको सम्मेलनमा सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका उपायहरुका बारेमा छलफल हुनेछ।

त्यस्तै सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने नसर्ने रोगहरुको जोखिमका बारेमा पनि सम्मेलनमा छलफल सुरु भएको छ। नेपालका तर्फबाट सम्मेलनमा भाग लिन संसदको स्वास्थ्य तथा शिक्षा समितिका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी लगायतको एउटा टोली सिंगापुर पुगेको छ।

सम्मेलनको दोश्रो दिन विभिन्न एशिया प्रशान्त क्षेत्रका देशका सांसदहरुले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि आफ्नो देशमा भएका अभ्याँसहरुका बारेमा अन्तरक्रिया गरेका छन्। सम्मेलन डिसेम्बर ६ सम्म चल्नेछ। 


 

More form the Internet

loading...