Suvadin, Home

Cover Image

विश्वभरका विद्वानहरूलाई नेपालमा आकर्षित गरिने
संरक्षणवादी, घरानियावादी, पार्टीवादी र कथित-राष्ट्रवादी पद्धतिले विश्वविद्यालय कमजोर

कुनै प्रोटेक्सनिस्ट धरातलमा खुला विश्वविद्यालय बनाउन जतिसुकै प्रतिभाशाली विद्वान् खडा गरे पनि काम छैन, उसले अन्ततः कुवा नै बनाउने छ। विश्वका उच्चतम् विद्वानहरू तथा उनीहरूको ज्ञान यो विश्वविद्यालयका लागि लिन र नेपालमा उत्पादित ज्ञान विश्वभरि फैलाउन तत्पर र उदार हृदयले मात्रै हामीले सोचेको खुला विश्वविद्यालय बनाउने छ, उसले नै ज्ञानको अविरल बगिरहने नदी बनाउने छ।
नेपालमा खुला विश्वविधालयका परिकल्पनाकार डा. प्रमाेद ढकाल। तस्बिरः गाेविन्द लुर्इटेल, शुभदिन।

विश्वमा नेपाल हिमालय देशको रुपमा परिचित छ। यो हिमालयको देश परापूर्वकालमा ऋषिमुनिहरूको तपस्या स्थल रहन्थ्याे। उनीहरूकाे दिव्य ज्ञान प्राप्तिको स्थल बन्थ्यो। ऋषिमुनिले यस भूमिमा प्राप्त गरेको बाैद्धिक ज्ञानलाई अफ्रिकादेखि अष्ट्रेलियाको किनारसम्म फैलाएका थिए। प्राचीनकालमै विश्वभरिका ऋषिमुनिको तपस्या भूमि, ज्ञान भूमी, आविष्कार भूमिकाे रुपमा परिचय बनाएको नेपालमा पुनः विश्वभरका ज्ञानका उपासकहरुको संगमस्थल बनाउने उद्देश्यका साथ एक दसकअघि डा. प्रमोद ढकालकाे मष्तिस्कमा नेपालमा खुला विश्वविधालय बनाउने परिकल्पना अाएकाे थियाे। 

सन् २००५ मा क्यानडा हुँदा डा. ढकालले गरेकाे खुला विश्वविद्यालयकाे परिकल्पनाले अहिले ठाेस अाकार लिइसकेकाे छ। डा. ढकाल लगायतकाे टिमकाे निरन्तरकाे खटाइले विश्वविधालय सम्बन्धी एेन पारित भएसँगै खुला विश्वविधालयकाे अाधार खडा भएकाे हाे। क्यानडामा रहँदा अाफ्नाे सफल करिअरकाे उच्चतम बिन्दुमा रहेका डा. ढकाल देशमै काम गर्ने सोचका साथ बीस वर्षे त्यहाँकाे बसाइलाई बिट मार्दै स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएर अहाेरात्र खुला विश्वविधालय निर्माणमा लागिपरेका डा. ढकाल हाल नेपालको शिक्षा क्षेत्रमा देखिएका विकृति, प्रवृत्ति र पद्धतिसँग जुधिरहेका छन्। डा. ढकालसँग शुभदिनका यज्ञराज जोशीले गरेको कुराकानी :  

  • तपाईं कहाँ पढनु-हुर्कनु भयो र कसरी यो अवस्थासम्म आइपुग्नुभयो?

म बाग्लुङ जिल्लाको सर्कुवामा र अझ नजिकबाट भन्दा मादी गाउँमा हुर्केको हुँ र त्यहीँको जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गरेको हुँ। मेरो चिन्तन वा सोचको आधारशीला त्यही हो। त्यही प्यारो ठाउँकै प्रेरणामा हिँडिरहेको छु भन्ने मलाई लाग्छ। त्यहाँबाट उच्च शिक्षाको खोजमा म काठमाडाैं आएर त्रिचन्द्र कलेजमा विज्ञान विषयमा प्रमाणपत्र तह पढेँ। पढाइको बीचमै दुर्घटनामा परेर हाम्री आमाको निधन भयो र प्रमाणपत्र तह सक्दा नसक्दै बाको पनि निधन भयो।

प्रमाणपत्र तहको जाँच सकिएपछि म घर नफर्केर केही पैसा आर्जन गर्न भनी पहिले रसुवा र त्यसपछि लमजुङको प्यारजुङ गाउँमा गएर गणित शिक्षक बनेँ। त्यहाँ म एउटा सफल शिक्षकका रूपमा चिनिएँ। त्यसले मलाई दह्रो र आफ्नै पौरखमा बाँच्ने आत्मविश्वास दियो। त्यहाँबाट बचाएको पैसाले फेरि विज्ञानमा स्नातक पढ्छु भनेर अमृत साइन्स कलेजमा भर्ना भएँ। संयोगबश कर्णाली चिसापानी परियोजनाका लागि संयुक्त राष्ट्रसंघले दिएको छात्रवृत्तिको छनौटको लागि लिएको जाँचमा मेरो पनि नाम निस्केकोले भारतको आइआइटी रूडकी (ताल्कालीन रूडकी विश्वविद्यालय)मा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने अवसर पाएँ। म मेहनती नै भएको र त्यो विश्वविद्यालयमा सिकाइको वातावरण पनि उत्कृष्ट भएकोले त्यहीँबाट मलाई उच्च शिक्षा लिन र ठूला पाइलाहरू पछ्याउन साहस मिल्यो।

नेपाल फर्केपछि त्यतिबेला राम्रा मानिएका नेपाल विद्युत प्राधिकरण, नास्ट (तत्कालीन रोनास्ट), जलश्रोत मन्त्रालय, त्रिभुवन विश्वविद्यालयलगायत ठाउँमा जागिर चाखेँ तर कहीँ चित्त बुझेन। जे भए पनि त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानमा उप-प्राध्यापक बनेर तीन वर्ष पढाएँ, त्यहाँ विभागीय प्रमुख पनि बनेँ। यो स्थानले मलाई मेरो विद्यार्थीकालको मेहनतलाई निरन्तरता दिइरहने अवसर दियो र थप साहसिलो बनाउन मद्दत गर्यो।

त्यसपछि छात्रवृत्तिमा डिग्री पढ्नका लागि क्यानाडा छिरेको मैले फेरि अर्को छात्रवृत्ति पाएर त्यहीँ पिएचडी पनि गरेँ। दुई दशकसम्म लम्बिएको क्यानाडाको बसाइमा मैले अध्ययन, अनुसन्धान, र प्रविधि विकासका अनुभवहरू लिएँ। यो अनुभवका बारेमा कुनै किताब नै लेख्न सकिन्छ होला। त्यसैले यहाँ यति मात्रै भनौं कि मैले त्यहाँ केही विश्वप्रसिद्ध कम्पनी र अनुसन्धानशालाहरूमा वरिष्ठ इन्जिनियर, वरिष्ठ वैज्ञानिक, तथा वरिष्ठ सल्लाहकार पदहरूमा काम गर्न पाएँ केही नवीन आविष्कारहरू गर्न पाएँ। यसै बीचमै मेरो आफ्नै आविष्कारलाई उन्नत बनाउँदै लैजाने क्रममा खुला विश्वविद्यालययको अभियानमा समाहित भएर सन् २०१० मा फेरी नेपाल फर्किएँ। अहिले खुला विश्वविधालयको स्थापनाको अभियानमा छु।

  • नेपालमा खुला विश्वविधालयकोको आवश्यकता किन महसुस गर्नुभयो?

मैले क्यानाडामा दूरसञ्चार प्रविधिको अनुसन्धान गरिरहेको थिएँ। त्यही हुनाले म व्यक्ति-व्यक्ति तथा राष्ट्र-राष्ट्रबीचमा उत्पन्न भइरहेको डिजिटल डिभाइडवा सूचना खाडलका बारेमा जानकार थिएँ। भविष्यको विश्व अर्थतन्त्र नै ज्ञानबाट सञ्चालित हुने छ र त्यसमा सूचना प्रविधिले ठूलो भूमिका खेल्ने छ भनेर मलाई ज्ञान भइसकेको थियो। त्यसैले सूचनाशिक्षा र ज्ञानको क्षेत्रमा सहर र गाउँको, धनी र गरिबको, तथा नेपाल र विश्वको बीचमा जुन खाडल बन्दै छ, त्यसलाई कम गर्न सक्ने प्रभावकारी उपायको खोजमा म चिन्तनरत थिएँ।

यो सोचकै क्रममा मलाई महसुस भयो कि उपाधिका लागि पढाउने गरेको आधिकारिक ज्ञानलाई आज हाम्रा शैक्षिक संस्थाहरूले कुवाको पानीझैँ थुनेर राखेका छन्। राष्ट्रको लगानीमा चल्ने संस्थाले पनि ज्ञान सीमित व्यक्तिलाई मात्र उपलब्ध गराइरहेका छन्। यो कुराको महसुस भएपछि यसरी कुवाको पानीझैँ सीमित पारिएको ज्ञानलाई बग्ने ज्ञानमा परिणत गरेर सबै मानवकहाँ समान रूपमा झरनाझैँ झरिरहने पार्ने जिज्ञासा ममा जन्मियो। फेरि यस्तो लाग्यो कि त्यस्तो प्रविधि त बनाउन सकिन्छ तर त्यो अनुरूप आधिकारिक ज्ञान बगाउने शैक्षिक संस्थाबिना त्यो प्रविधिले मात्र यो लक्ष्यसम्म पुर्याउँदैन। अनि त्यस्तो एक युगान्तकारी संस्था खोज्ने क्रममा खुला विश्वविद्यालयको परिकल्पनासम्म आइपुगेको हुँ । 

उपाधिका लागि पढाउने गरेको आधिकारिक ज्ञानलाई आज हाम्रा शैक्षिक संस्थाहरूले कुवाको पानीझैँ थुनेर राखेका छन्।

यसबाहेक अर्को के पनि हो भने, हिजो हामीमध्ये थोरै जना शिक्षित तर बाँकी सबै अशिक्षित भएर पनि काम चलेकै थियो। हामीलाई एउटा डिग्री लिएपछि फेरि नपढे पनि त्यही पढाइले काम चलेकै थियो। तर, अब त्यस्तो हुँदैन। अबको विश्वमा सफल हुन सबै व्यक्तिले केही मात्रामा जिन्दगीभरि र निरन्तर पढिरहनु पर्ने हुन्छ। तर, जिन्दगीभरि दिनदिनै विश्वविद्यालयका कोठामा गएर पढ्ने काम असम्भवजस्तै हो। त्यसैले सीमित विद्यार्थीलाई विश्वविद्यालयमा लगेर पढाउने चलन तोडेर विश्वविद्यालयको सेवा नै व्यक्तिका घर-घर र कार्यस्थल-कार्यस्थलसम्म पुर्याउन आवश्यक छ। सहर, गाउँ, सुगम, दुर्गम, स्वदेश र विदेशमा रहेका सपन्न-विपन्न हामी सबैलाई जीवनभर अविच्छिन्न शिक्षाको मूल प्रवाहमा ल्याउन आवश्यक छ। अनि शिक्षाको अवसर हरेक व्यक्ति कहाँ पुर्याउने यो कार्य सिद्धि गर्न खुला विश्वविद्यालय आवश्यक छ भनेर मैले पनि यसको आवश्यकता महसुस गरेँ।

  • तपार्इंले परिकल्पना गरेको खुला विश्वविधालय कस्तो हो ?

एउटा सर्वसाधारणको भाषामा भन्दा यसरी भन्नु राम्रो होला, मानौँ ज्ञान र सिप पानीजस्तै बग्न र फैलन सक्ने र जति बाँड्यो त्यति बढ्दै जाने कुरा हुन्। अब त्यो पानी कुवामा राखेर सीमित मानिसलाई खान दिइन्छ भने त्यो आजको शिक्षा प्रणाली, अहिले चलिरहेको शिक्षा प्रणाली हो। यदि त्यो पानीलाई यो देशको हरेक कुना-कुनामा तथा विदेशमा समेत खोलाको रूपमा बगाएर प्रत्येक इच्छुक मानिसलाई लिन दिइन्छ भने त्यो खुला विश्वविद्यालयको शिक्षा प्रणाली हो। त्यसैले, ज्ञानलाइ निरन्तर बगाएर सवैकाे पहुचमा पुर्याउने खुला विश्वविधालयकाे परिकल्लपना हाे।

शिक्षण संस्थाहरूले प्रदान गर्ने आधिकारिक शिक्षालाई निरन्तर बगाइरहने हो भने प्रत्येक मानिसकहाँ असीमित रूपमा पुर्याउन सम्भव छ। त्यसैले, कुवामा राखेर सीमित शिक्षक र विद्यार्थीले मात्रै देख्ने बनाइएको आधिकारिक शिक्षालाई खोलामा परिणत गरेर सबै मानवले देख्न, सिक्न, सुझाउन, बदल्न, थप्न, र गुणस्तरको सत्य-तथ्य जान्न सक्ने बनाउनु हाम्रो परिकल्पनाको सारभूत तत्त्व हो।

हाम्रो परिकल्पना कृषिको पढाइ खेत-बारीमा, पशुको पढाइ गोठमा र चरनमा, वन र वनस्पतिको पढाइ वन-पाखामा, स्वास्थ्यको पढाइ समाजमा, हिउँको पढाइ हिमालयमा, बैंक पढाइ बैङ्कमा, र सहकारिताको पढाइ सहकारीमा पुर्याउनु हो। काठमाडाैं तथा अन्य सहरमा सीमित पढाइलाई नेपालीका घर-घरमा र कार्यस्थल-कार्यस्थलमा पुर्याउनु हो। सीमित धनाढ्य र सहरियाको कब्जामा रहेको ज्ञान र सीप सबै नेपाली कहाँ पुर्याउनु हो।

हाम्रो परिकल्पना कृषिको पढाइ खेत-बारीमा, पशुको पढाइ गोठमा र चरनमा, वन र वनस्पतिको पढाइ वन-पाखामा, स्वास्थ्यको पढाइ समाजमा, हिउँको पढाइ हिमालयमा, बैंक पढाइ बैङ्कमा, र सहकारिताको पढाइ सहकारीमा पुर्याउनु हो।

कसले के ज्ञान र उपाधि लिन सक्छ भन्ने कुरा कसैका सम्पत्तिका राशीले नभएर व्यक्तिको मौलिक क्षमताले निर्धारण गर्ने बनाउनु हो। आधिकारिक ज्ञान-सिपलाई समाजमा यसरी पुर्याउनु हो जसबाट जो कोही इच्छुक विद्यार्थीले आफ्नो मनले इच्छाएको र क्षमताले दिएको विषय पढ्न सकुन्। सबै नेपालीका लागि गुणस्तरीय शिक्षा लिएर विश्वभरि मान्य हुने क्रेडिट, प्रमाणपत्र र उपाधिहरू लिन सक्ने अवसरहरू सिर्जना हुन सकुन्। उपाधिका लागि नभर्इ केवल सामान्य ज्ञानका लागि पढ्न चाहनेले पनि त्यस्तो पढाइ पढ्न सकुन्। त्यो हो हाम्रो परिकल्पना।

  • तपार्इंसँग खुला विश्वविधालयकाे त्यो परिकल्पनाको व्यावहारिक कार्यान्वयन गर्ने याेजना के छ?

सामान्य मानिसलाई भन्दा, अब नेताको-भाषण, पत्रिकाका-लेख, बिहेका-फोटा र कार्यक्रमका-निम्ता जसरी मोबाइल फोनमार्फत हात-हातमै आउँछन्। त्यसरी नै शिक्षालयको पढाइ पनि हात-हातमै आउँछ। जसरी एउटा हलमा नेताले गरेको भाषण टिभीबाट देख्नेले पनि हलमै बस्नेले जसरी बुझ्न सक्छ,एउटा शिक्षकले पढाउने विषय पनि एउटा विद्यार्थीले जहाँ बसेर पनि बुझ्न सक्छ भन्ने हो। सम्झनुस्, त्यसरी यसको कार्यान्वयन गरिन्छ।

विद्वानहरूको समुदायलाई भन्नुपर्दा, हामीले कल्पना गरेको खुला विश्वविद्यालयमा विकिपिडियाको जस्तो खुलापन र विश्वव्यापी उपलब्धता, खान एकाडेमीको जस्तो सूचना मार्गमा थोरै ठाउँ लिने श्रव्य-दृश्यता, मूकको जस्तो क्रमिकता र विशेषज्ञ निर्देशिता, ओइआर (खुला पाठ्यवस्तु)को विश्वव्यापी सहकारिता, मुडलको जस्तो सिकाइ गतिविधि र उपलब्धिको तथ्य सङ्कलन, अन्तर्राष्ट्रिय कन्सोर्सियममा आधारित गुणस्तर विकास, फ्लिप्ड कक्षामा जस्तो विद्यार्थी र समस्या केन्द्रिता, आदि थुप्रै नव प्रवर्तनकारी प्रणालीहरूको संयोजन गरेर शिक्षा प्रणालीलाई खुला, सुलभ, जनउत्तरदायी तथा जनउपयोगी बनाउने हो। शिक्षामा बहुआयामिकता, निरन्तरता, परिवर्तनशीलता र पारदर्शीताको संयोजन गरेर यसलाई फलिभुत बनाउने हो।

  • हाल नेपालमा भएका युनिभर्सिटीमा दिन प्रतिदिन किन विद्यार्थी सङ्ख्या घटिरहेको छ र ती संकुचित बन्दै गइरहेका छन्?

यसका कारणहरूको बुझ्न नै पहिले त विश्वविद्यालय भनेको के हो भनेर मनन गर्नुपर्ने हुन्छ। हिजो विचारक ऋषिमुनिहरूले वन, बगर, ओढार वा कुटिमा बसेर तपस्या गर्थे तथा देश विदेशमा स्वतन्त्र रूपमा विचरण गरेर ज्ञानलाई टाढा-टाढा सम्म फैलाउँथे। तर, आज समयले काँचुली फेरिसकेको छ। आजका ऋषिमुनिहरूको तपस्यास्थल भनेका विश्वविद्यालय हुन्। सम्पत्ति आर्जनको मार्गलाई परित्याग गरेर जीवनको हरेक क्षणलाई ज्ञान-विज्ञानको उपासनामा समर्पित गर्न तत्पर विद्वानहरूले त्यही उपासनामा प्राण आहुति दिने ठाउँ नै विश्वविद्यालयहरू हुन् वा हुनुपर्ने हो। ज्ञानलाई सीमित व्यक्तिको कब्जाबाट छुटाएर समस्त विश्वमा फैलाउने कामको नेतृत्व नै विश्वविद्यालयहरूले गर्नुपर्ने हो किनकि यो नाममै विश्व र विद्यालय मिलाएर बनाएको छ।

तर, अपसोच, नेपाली विश्वविद्यालयहरू कुनै विद्वान्-विचारकहरूका तपस्यास्थल तथा ज्ञानको विश्वव्यापीकरण गर्ने ठाउँ नभएर विश्वविद्यालयको स्थायी जागिर तथा बाँचुन्जेल पेन्सन खाने तर काम चाहिँ एनजिओको, निजी शिक्षालयको, राजनीतिक पार्टी,वा आफ्नै नीजी व्यवसाय वा मामिलाको गर्ने विद्वानहरू रहने ठाउँका पर्याय बनेका छन्। शैक्षिक कार्यक्रम वा पाठ्यवस्तुको निर्माण र विकास पनि ठेकेदारहरूले ठेक्कामा गर्ने चलन मौलाएको छ। यसकै कारण व्यक्ति विद्यालयको विकास हुन गई विश्व विद्यालयको स्थिति दयनीय हुन गइरहेको छ। यही यथार्थ हो।

अन्यथा जे छ त्यो मूलप्रवाह नभएर अपवाद हो। अब यो समग्र समस्याभित्र बुनिएका केही पृथक तत्वहरू हेरौं।

पहिलो, जहाँ मानिस स्थायी बन्छ, त्यहाँ परिवर्तनशीलता र गतिशीलताको घाँटी निमोठीन पुग्छ। यो नै पहिलो तीतो यथार्थ हो। मैले पढेको बाग्लुङको सर्कुवा गाउँको विद्यालयमा दस-पास अस्थायी शिक्षकले पढाएका दिनहरूमा हामीमा जागरूकता थियो,परिवर्तनप्रति आतुरता थियो, मेहनत थियो। फलस्वरूप हामी त्यहीँबाट पढेर कोही बन्यौँ। तर, आज बिएड र एमएड पढेका शिक्षकहरू स्थायी बनेपछि शिक्षाको बिजोग भइसक्यो। गुन्द्रीमा बसेर पाटीमा खरिले लेखे पढेका हामीले फलाम, सिमेन्ट र कङ्क्रिटले बनेका पक्की भवनमा बसेर पढाइरहेका हाम्रा शिक्षकहरूले पूर्वधारको कमी भएको कारणले तथा विद्यार्थीमा सिक्ने जिज्ञासा नभएका कारणले पढाइ राम्रो नभएको भनेर भनेको सुन्नु परेको छ र त्यसको खण्डन गर्नुपरेको छ। बोटानी पनि बोटमुनी पढाउन नसक्ने,कृषि खेतमा पढाउन नसक्ने र वनस्पतिशास्त्र पनि वनमा पढाउन नसक्ने शिक्षक तथा शिक्षा प्रणालीको आलोचना गर्न बाध्य हुनुपरेको छ।

दोस्रो, हिजो राजा ऋषिको र ऋषि राजाको आसनमा नबस्ने चलन थियो। ऋषिले राजा, धनी,व्यापारी,जागिरे र सिपाहीको बाटो अबलम्बन नगर्ने तथा राजा र समाजले पनि ऋषिको सम्मान गर्ने र ऋषिहरू र उनका शिश्यरूको प्राण रक्षा गर्न सहयोग पुर्याउने चलन थियो। राजाको आलोचक ऋषिलाई पनि राजाले दण्ड नदिने चलन थियो। टाढा-टाढाका राज्यहरूबाट आउने ऋषिहरूलाई पनि आफ्नो राज्यमा स्वतन्त्र विचरण गर्न दिने चलन थियो। वैदिक कालदेखि चल्दै आएको यो परम्पराको भग्नावशेष स्वरूप यहाँ पनि त्रिचन्द्र कलेज बनाउँदा होस् या अनेकौं अन्य संस्थाहरू बनाउँदा होस्, बरू अर्कै देशका विद्वानलाई शिक्षण संस्थाका प्रमुख तथा शिक्षक बनाउने तर राजाका आफन्त नै भए पनि असक्षम मानिसलाई नबनाउने चलन थियो। विश्वविद्यालय हाताभित्र पुलिस पस्न नदिनजस्ता गतिविधिहरू हामीले आफ्नै समयमा देखेका हौं।

खुला विश्वविद्यालय आज विकसित विकिपिडियाको जस्तो खुलापन र विश्वव्यापी उपलब्धता, खान एकाडेमीको जस्तो सूचना मार्गमा थोरै ठाउँ लिने श्रव्य-दृश्यता, मूकको जस्तो क्रमिकता र विशेषज्ञ निर्देशिता, ओइआर (खुला पाठ्यवस्तु)को विश्वव्यापी सहकारिता, मुडलको जस्तो सिकाइ गतिविधि र उपलब्धिको तथ्य सङ्कलन, अन्तर्राष्ट्रिय कन्सोर्सियममा आधारित गुणस्तर विकास, फ्लिप्ड कक्षामा जस्तो विद्यार्थी र समस्या केन्द्रिता, आदि थुप्रै नव प्रवर्तनकारी प्रणालीहरूको संयोजन गरेर शिक्षा प्रणालीलाई खुला, सुलभ, जनउत्तरदायी तथा जनउपयोगी बनाउने हो।

तर, आज हाम्रा विश्वविद्यालयहरू राजनीतिक पार्टीहरूका कार्यकर्ताहरूलाई भागबण्डाका आधारमा नियुक्त गर्ने ठाउँ बन्न पुगेका छन्। राजनीतिक शिक्षकहरू विश्वविद्यालयको स्थायी जागिर बचाउँदै पार्टिको केन्द्रीय समिति,भ्रातृ सङ्गठनको केन्द्रीय समिति, सांसद, मेयर, राजदूतदेखि जे पनि ताकेर हिँडिरहेका छन्। विश्वविद्यालयहरू सत्यका खोजकर्ता र ज्ञान-विज्ञानका उपासकहरूले विद्वताको विकास गर्ने ठाउँ नभएर पार्टी कार्यकर्ता वा सिपाही उत्पादन गर्ने अखडाहरूमा परिणत भएका छन्। शिक्षा र अनुसन्धानको गुणस्तरमा यसले सशक्त धक्का पुर्याइरहेको छ।

तेस्रो, विश्वविद्यालयका काम-कारबाहीहरूमा होस्, तिनले उत्पादन गर्ने ज्ञानमा होस्, या पढाउने पढाइमा होस्, त्यहाँ पारदर्शीता र सार्वजनिकता छैन। विश्वव्यापीता त झन् कसरी होस्? तिनका काम कारबाहीहरू आम जनताका आँखामा पुग्न नसक्ने गरी गोप्य राखिएका छन्। जहाँ पारदर्शीता हुँदैन त्यहाँ भ्रष्ट आचरण मौलाउन सहज हुन्छ। एक विषय नपढाउने शिक्षकले पूर्णकालीन तलब खान सक्छ। अनुसन्धानशालाहरू बिना - अनुसन्धान पालिएका हुन सक्छन।

सम्झनुस्, एउटा प्राध्यापकले पढाएको लेक्चर नोट पूरै राष्ट्रले खुला र निःशुल्क रूपमा हेर्न पाउने भए त्यसको गुणस्तर एउटा हुन्छ भने कालो पाटीमा लेखाएर २०-४० जना विद्यार्थीलाई मात्र दिने भए अर्कै। आर्थिक कारबाहीको गोपनीयताले आर्थिक प्रणालीलाई, शैक्षिक गोपनियताले शैक्षिक प्रणालीलाई,अनुसन्धानको गोपनीयताले अनुसन्धान प्रणालीलाई भ्रष्टाचारको शिकार बनाउन सहज बनाउँछन्। तर, आज हाम्रा विश्वविद्यालयहरू त्यही अपारदर्शीताको शिकार बनेका छन्। त्यसैले, ज्ञानको क्षेत्रमा, गोपनीयतालाई गुणस्तर मार्ने तत्वका रूपमा पहिचान गर्नुपर्ने हुन्छ।

चौथो, शिक्षा र उद्यमशीलताको,शिक्षा र रोजगारीताको तथा शिक्षा र सामाजिक आवश्यकताको गाढा सम्बन्ध नहुनु पनि शिक्षा प्रणालीमा रहेको एक समस्या हो। शैक्षिक कार्यक्रमहरूमा निरन्तर र समय सापेक्ष परिवर्तन हुन नसक्नुले पनि यिनै समस्याहरूलाई पक्षपोषण गरिरहेको हुन्छ। कुनै संस्थाले दिने शिक्षा जीवन र जगतसँग र त्यसको परिवर्तनशीलतासँग एकाकार भएर उन्नत भइरहन सकेन भने त्यो संस्थाप्रतिको जनलगाव कम हुँदै जान्छ। नेपालमा त्यही भइरहेको छ भन्ने मलाई लाग्छ।

पाँचौं, अनुसन्धानले ठूलो महत्व नपाएको शिक्षण संस्थाको सशक्तता स्वाभाविक रूपमा खस्कँदै जान्छ। हाम्रा विश्वविद्यालयहरू अरू देशका कलेजजस्ता अनुसन्धानरहित संस्थाका रूपमा काम गर्छन्। अरू देशमा अनुसन्धानात्मक विश्वविद्यालयहरूले तिनको परिपुरण गरी रहने हुनाले शिक्षामा समसामयिक परिमार्जन ल्याउन कम कठिन हुन्छ तर हामी कहाँ परिपूरक अनुसन्धानात्मक विश्वविद्यालयहरूको अभाव रहिरहेको छ। यस्तै-यस्तै कारणहरूले नेपालका विश्वविद्यालयहरू गालिएका छन् ।

  • हालका विश्वविधालयले दिन नसकेको या पुर्याउन नसकेको शिक्षा खुला विश्वविधालयले कसरी पुर्याउला?

पुर्याउन सक्छ। किनकि हामीले परिकल्पना गरेको खुला विश्वविधालयले शिक्षालाई पारदर्शीता, निरन्तर बहाव, सार्वजनिक उपलव्धता, सार्वजनिक परिष्करणजस्ता सिद्धान्त र क्रियाकलापहरूले बाँधिने छ। हालका दशकहरूमा जसरी प्रविधिको विकास भयो त्यसले गर्दा यस्तो गर्न अझ बढी सम्भव भएको छ। आजभन्दा पचास वर्षअघि यस्तो सम्भव होला भनेर समाजले चिताएको पनि थिएन। आज पनि कैयौँ मानिसहरूले यो सम्भव छ भनेर पत्याइसकेका छैनन्, किनकि उनीहरूले त्यस्तो भएको देखसकेका छैनन्। जब सम्भावनादेखि सकेका मानिसले त्यसलाई कार्यान्वयन गरेर देखाउँछन् अनि मात्र समस्त समाजले हो यो त यस्तो पो रहेछ भनेर पत्याउने हो।

  • सन २००५ मा तपार्इंले नेपालका लागि परिकल्पना गर्नु भएको खुला विश्वविधालयको अवधारणालार्इ नीति निर्माण गर्न र स्थापनाको चरणसम्म पुर्याउन एक दशकभन्दा बढी निरन्तर मेहनत गर्नुभयो। जीवनको उर्जाशील समय खर्चिनु भयो। अझै पनि उत्तिकै जोश जागरका साथ लागिरहनुभएको छ। यतिका वर्ष मेहनत गर्दा पनि तपाइको परिकल्पना साकार गर्ने वेलामा सरकारले गैरनेपालीको आरोपमा तपार्इं हुनुपर्ने स्थानमा अन्य व्यक्तिलाई उपकुलपति तथा रजिष्ट्रारमा राजनीतिक नियुक्ति गर्न खोज्नुलार्इ कुन रूपमा लिनु भएको छ?

म यो विश्वविद्यालय बनाउन हिँडेको मानिस हुँ। यसको नेतृत्व लिन हिँडेको मानिस होइन। तर, यसको नेतृत्व बृहत् र खुला प्रतिस्पर्धात्मक छनौटबाट नभएर अपारदर्शी तरिकाले आफ्ना मानिसलाई बनाउन लागिएको कुरामा मेरो विमति छ। अर्को, हामीले विदेशमा गएका र त्यहाँ काम गरिरहेका तमाम नेपाली विद्वानहरूलाई नेपालमा फर्काएर वा त्यहीँबाट पनि नेपालको शिक्षा, अनुसन्धान र प्रविधिको विकासमा सशक्त परिचालन गर्न चाहेका हौँ। साथै नेपालमा विकास गर्न आवश्यक विधाका विश्वप्रसिद्ध विदेशी विद्वानहरूलाई समेत नेपालमा परिचालन गर्न चाहेका हौँ। तर, नेपालका विद्यमान विश्वविद्यालयहरूमा उनीहरूको परिचालनका लागि उत्प्रेरक नीतिगत र प्रक्रियागत व्यवस्था नभएको कारणले त्यस्तो कामलाई सहज पार्न यो विश्वविद्यालयको स्थापना गर्न लागिएको थियो। त्यही कुरालाई मनन गरेर नै सन् २०१० मा नेपाल सरकार र गैरआवासीय नेपाली संघले छुट्टै विश्वविद्यालय स्थापना गर्ने सहमति र सहकार्य गरेका हुन्। त्यही मान्यतामा टेकेर हामीले यो अभियानलाई यो अवस्थासम्म ल्याई पुर्याएका हौँ।

तर, यो मर्मलाई नै प्रहार हुने गरी जब विदेशमा स्थायी बसोबास गरेका नेपाली विद्वानहरूलाई यो संस्थामा आउन नदिने नीति लिएर पदाधिकारी चयनको काम अगाडि बढाइयो त्योप्रति हाम्रो आपत्ति छ। यसले यो विश्वविद्यालयलाई यसले लिएको महान लक्षमा पुर्याउने काममा प्रत्यक्ष बाधा पुर्याउने छ भन्ने हाम्रो बुझाइ हो।

हामीले चाहन्छौँ कि आज धनीले ठूलो धनराशी खर्च गरेर देश विदेशका शिक्षण संस्थामा पुर्याएर आफ्ना छोराछोरीलाई जस्तो ज्ञान दिलाइरहेका छन् त्यो शिक्षा गरिब, दूरदराजबासी तथा सीमान्तकृत नेपालीहरूले पनि पाउन्। उनीहरूले पनि त्यति नै प्रतिभाशाली विद्वान्हरूको अभिभावकत्वमा पढ्न पाउन् भन्ने हाम्रो ध्येय हो। धनीले विदेशमै गएर विदेशी प्राध्यापकहरूबाट पढेर आए पनि त्यो ज्ञान र डिग्री बिटुलो नहुने तर नेपाल छोड्न नसक्ने गरिबलाई पढाउने विश्वविद्यालयमा चाहिँविदेशीको त कुरै छोडौँ, प्रवासी नेपालीको ज्ञान पनि बिटुलो हुने कुरा बडो खतरनाक छ। यो निषेध तीन करोड नेपालीमाथि गर्न सकिने घोर अन्याय हो भन्ने हामीलाई लाग्छ।

हिजो के गरियो त्यो अलग कुरा हो। विद्यमान १३ विश्वविद्यालयहरू कसरी चलाइएका छन् र तीनले के कस्ता नियम बनाएका छन् त्यो अलग कुरा हो। ती विश्वविद्यालयहरू सीमित नेपालीलाई बन्द कोठामा पढाउन बनाएका विश्वविद्यालयहरू हुन्। तर, यो विश्वविद्यालय सबै नेपालीका लागि सुलभ तरिकाले गुणस्तरीय शिक्षा दिने भनेर खोलिएको हुनाले यो विश्वविद्यालय विश्वको उच्चतम ज्ञानका लागि खुला हुनुपर्छ।

 


 

More form the Internet

loading...