Suvadin, Home

बेलिब्रिज निर्माणः अब वर्षायाममा पनि नियमित यातायात सेवा

तीस मिटर लामो बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले बताए। 'खोला बढेकै कारण वर्षायाममा अब करिडोर रोकिन्न,' उनले भने, 'सडक स्तरोन्नति र चौडा गर्ने काम बाँकी छ।' बजेट अभावका कारण स्तरोन्नतिको काम अघि बढ्न नसकेको उनको भनाइ छ।
बागलुङमा निर्मित बेलिब्रिज।

बागलुङ, १९ जेठ – कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–७ स्थित लौवा खोलामा बेलिब्रिज निर्माण भएको छ। 

बेलिब्रिजको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका हुन्। पुल बनेसँगै वर्षायाममा पनि करिडोरको बागलुङ–गुल्मी खण्डमा यातायात नियमित हुने भएको छ । यसअघि बागलुङ खण्डमा तीन बेलिब्रिज निर्माण भई सञ्चालनमा छन्। 

बेलिब्रिजको उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले विकास निर्माणका काममा सरकार र नागरिकसँग हातेमालो गरेर अघि बढ्न नेपाली सेना सधैं तयार रहेको बताएका छन्। तीन करोड रूपैयाँको लागतमा बनेको बेलिब्रिजको निर्माण गत माघमा शुरु भई वैशाखमा सकिएको थियो।

तीस मिटर लामो बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले बताए। 'खोला बढेकै कारण वर्षायाममा अब करिडोर रोकिन्न,' उनले भने, 'सडक स्तरोन्नति र चौडा गर्ने काम बाँकी छ।'

बजेट अभावका कारण स्तरोन्नतिको काम अघि बढ्न नसकेको उनको भनाइ छ। करिडोरको मर्मत, सुधार र स्तरोन्नतिका लागि थप रु एक अर्ब बजेटको खाँचो पर्ने निर्माण कार्यदलले जनाएको छ।

नेपाललाई चीन र भारतसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मार्ग खुलेसँगै सार्वजनिक यातायात सञ्चालनमा छ। नेपाली सेनाले ठूला पुल बनाउन बजेट र समय धेरै लाग्ने हुँदा मार्ग खुलेका ठाउँमा तत्काललाई ‘बेलिब्रिज’ हाल्ने गरेको छ। 

बागलुङ खण्डकै जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोला, वडा नं ७ को जैदीस्थित चौरीखोला र वडा नं ८ छिस्तीको पालुङखोलामा बनेका बेलिब्रिज गत असोजदेखि सञ्चालनमा छन्।

तीन सय ४५ किमीको करिडोरको पूरै मार्ग खुले पनि दक्षिणी नाका सुनौलीदेखि उत्तरी नाका कोरलासम्म लामो दूरीमा यातायात चलेका छैनन्। बीचबीचमा गरी छोटो दूरीमा चल्ने सार्वजनिक सवारीले यात्रुलाई सेवा दिइरहेका छन्। जैमिनी नगरपालिकादेखि बुटवलसम्म नियमित बस सञ्चालनमा आइसकेको छ। 

करिडोर खुलेपछि सो मार्ग भएर रुपन्देही, पाल्पा, गुल्मी र बागलुङका पर्यटकीय र ऐतिहासिकस्थल घुम्नेको संख्या बढ्दो छ। स्थानीय उत्पादनको बजारीकरणले आर्थिक गतिविधि बढाएको छ।

सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो। व्यापार, पारवहन र सामरिक दृष्टिले महत्वपूर्ण कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ।


 

More form the Internet

loading...