Suvadin, Home

अब केबलकार निर्माणतर्फ नजरः २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन

मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो। मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ। सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्तासमेत बढेका हुन्। 
चन्द्रागिरी केबलकार।

काठमाडौं, ४ साउन – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ। 

मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो। मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ। 

सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्तासमेत बढेका हुन्। 

मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यातायात सञ्चालनका लागि केबलकारको माग गर्दै आउने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ। मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग शुरु भएको हो। 

मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको छ। देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ। दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ। 

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा केबलकार निर्माणका लागि भन्दै अध्ययन अनुमति माग्ने समूह बढ्दै गएको छ। पाथीभरा मन्दिरसम्म पुग्नका लागि त्रिवेणी केबलकार प्रालिले प्रारम्भिक वातावरण अध्ययनको काम सम्पन्न गरेर इञ्जिनियरिङको काम गरिरहेको छ। सोही स्थानमा हिमाल दर्शन प्रालि र पाथीभरा देवी दर्शनले पनि अध्ययन गरिरहेको छ। 

यस्तै भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ। 

मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ। दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ। 

यस्तै सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ। डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथीभरा दर्शन र सर्वसिद्धीधाम पञ्चकोट बाग्लुङमा पनि प्रक्रिया शुरु भएको छ। लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ। 

काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ। नागार्जुन केबलकार प्रालिले अध्ययन अनुमति मागेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै मुक्तिनाथ दर्शन प्रालिले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन अनुमति माग्दै मन्त्रालयमा आवेदन दिएको छ। सो केबलकार निर्माणका लागि आवश्यक सहजीकरणको काम लगानी बोर्डले गरिरहेको छ। 

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयारीका लागि अनुमति दिइएको हो। करीब १८ महिनाभित्र डिपिआर तयार पार्ने गरी मुक्तिनाथ दर्शन प्रालिलाई अनुमति दिइएकोछ। 

यस्तै नवलपरासीको रानीतालदेखि मौलाकाली मन्दिरसम्म केबलकार निर्माणका लागि दुईवटा प्रस्ताव आएको छ। वातावरणीय प्रभाव मूल्यांकनका लागि अनुमति मागिएको मन्त्रालयले जनाएको छ। 

उता प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ। ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन अनुमति मागेको छ। 

यस्तै मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन अनुमति मागेको छ। 

मन्त्रालयका अनुसार रसुवाको गोसाइँकुण्डसम्म पुर्याउने गरी चारवटा प्रस्ताव आएको छ। त्यसमा ११ दशमलव ८ किलोमिटर लामो धुञ्चे गोसाइँकुण्ड, १६।८ किलोमिटर लम्बाइको दुप्चेश्वर बतासकुण्ड, १०।८ किलोमिटर लम्बाइको यार्सा–बतासकुण्ड र ११।२५ किलोमिटर लम्बाईको चेघ्याङ– सूर्यकुण्डको प्रस्ताव परेको छ। 

यस्तै लम्की चुहा कैलालीदेखि मोहन्याल नगरपालिका– ३ सम्म जोड्ने ३।१५ किलोमिटर लामो केबलकार निर्माणका लागिसमेत अध्ययन प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठले केबलकार निर्माणका लागि आफूहरुले अध्ययन अनुमति दिने र वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्रै सहजीकरण गरिदिने बताएका छन्। उनले प्राप्त भएका आवेदनलाई हेरेर आवश्यक निर्णय गर्ने भएकाले मन्त्रालयले आवश्यक काम गरिरहेको उल्लेख गरे। 

केबलकार निर्माणका लागि गाउँपालिकाले नै पहल गरिरहेको जानकारी दिनुहुँदै गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कईसाङ नोर्बु तामाङले भने, ‘हामी सार्वजनिक निजी साझेदारीमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई सहज सेवा दिन लागेका छौं।’ 

उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पनि सो केबलकार निर्माणमा आवश्यक सहजीकरण गरिरहेको र छिट्टै परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे। हाल सो केबलकारको विस्तृत परियोजना प्रतिवेदन बनाउनेलगायत अन्य काम जारी रहेको छ। गोसाइँकुण्ड गाउँपालिकाको प्रस्तावअनुसार धुञ्चेदेखि भैरवकुण्डसम्म केबलकार निर्माण हुनेछ। 

नेपालका केबलकार निर्माणका लागि विगतदेखि नै काम गर्दै आउनुभएका रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल सरकारले नीतिगतरुपमा नै प्रष्ट व्यवस्था गरेर सहजीकरण गरिदिनुपर्ने बताउँछन्। 

विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो। पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ। 

रोपवे नेपालले बन्दीपुर, मौलाकालिका, लुक्ला, बुटवलदेखि पाल्पाको मणिमुकुन्द सेनको दरबारसम्म जाने केबलकार निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको छ । नेपालमा विशेष गरी स्वीटजरल्याण्ड, अष्ट्रिया, भारत र जर्मनीको प्रविधि भित्र्याउने गरिएको छ। 

सरकारले आर्थिक विकासको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखेको सन्दर्भमा पर्यटक आकर्षणका लागि केबलकार निर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ। यातायातको पहुँच पुर्याउन मुलुकको पहाडी तथा हिमाली क्षेत्रका केबलकार तथा रोपवेलगायतलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।


 

More form the Internet

loading...