Suvadin, Home

Cover Image

क्षयरोगबाट बर्सेनि १५ लाखको मृत्यु, कसरी थाहा पाउने क्षयरोग ?

काठमाडौं । क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो एक सरुवा रोग हो । दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो ।  क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।

क्षयरोगबाट विश्वभरि बर्सेनि १५ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सर्ने सम्भावना उच्च भएको यो रोग जीवाणुबाट सर्छ। यो रोगविरुद्ध अहिले उपलब्ध खोप बीसीजी त्यति प्रभावकारी छैन ।

नयाँ खोपको प्रारम्भिक परीक्षण भइसकेको छ । तर त्यसले प्रयोगको अनुमति पाउन अझै केही वर्ष कुर्नुपर्ने हुन्छ । अनुसन्धानमा संलग्न विश्वभरिका शोधकर्ताहरूको टोलीले मङ्गलवार पश्चिम भारतको हैदराबादमा फोक्सोको स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनका क्रममा नयाँ खोपबारे जानकारी गराएको हो ।

जीवाणुको प्रोटीनबाट बन्ने यो खोपले मानिसमा रोगप्रतिरोधक क्षमता विकसित गराउँछ । अनुसन्धानकर्ताहरूका अनुसार नयाँ खोपले सबैभन्दा महत्त्वपूर्ण चरण 'क्लिनिकल ट्रायल' पूरा गरिसकेको छ र दक्षिण अफ्रिका केन्या तथा जाम्बियामा साढे तीन हजारभन्दा बढी मानिसमा त्यसको परीक्षण गरिसकिएको छ । 

क्षयरोगको लक्षण

- क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।

- रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।

- क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।

- क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

- क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

सबैभन्दा बढी प्रभावित कहाँ ?

विश्वका कुल क्षयरोगीमध्ये एकतिहाइ सङ्ख्या आठवटा देशमा पाइन्छ । भारतमा २७ प्रतिशत, चीनमा ९, इन्डोनेशियामा ८, फिलिपिन्समा ६, पाकिस्तानमा ६, नाइजिरियामा ४, बाङ्ग्लादेशमा ४ र दक्षिण अफ्रिकामा ३ प्रतिशत बिरामी छन् ।

खोपको संक्षिप्त इतिहास 

विश्वका अनुमानित चारमध्ये एकभन्दा बढी क्षयरोगको समस्या भारतमा देखिने गरेको छ । भारतमा बर्सेनि ३० लाख क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनकाअनुसार तीमध्ये एक लाखभन्दा बढी 'मल्टीड्रग रिजिस्टन्ट' अर्थात् धेरै औषधिले काम नगर्ने हुन्छन्।

त्यहाँ बर्सेनि क्षयरोगबाट चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् र क्षयरोगसँग लड्न सरकारले वार्षिक २४ अर्ब डलर खर्च गर्ने गरेको छ।

दिल्लीस्थित इन्टरन्याश्नल यूनियन अगेन्स्ट ट्युबरक्युलोसिस एन्ड लङ डिजीजकी निर्देशक जम्होई तोसिङ भन्छिन्, "भारतमा हामीले क्षयरोगलाई परास्त नगरेसम्म विश्वभरिबाट यसको उन्मूलन हुन सक्दैन।"

क्षयरोगसम्बन्धी केही तथ्य

- क्षयरोग जीवाणुबाट हुने सङ्क्रमण हो जुन प्रभावित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा निस्किने सानो बिन्दुबाट अरूमा सर्न सक्छ ।

- मुख्यतः यसले फोक्सोलाई प्रभावित पार्छ, यसका साथै शरीरको कुनै पनि भागलाई पनि यसले प्रभावित पार्न सक्छ ।

- यसको सबैभन्दा साझा लक्षण भनेको लगातार तीन हप्तासम्म खोकी लाग्नु, तौल अप्रत्याशित रूपमा घट्नु, ज्वरो आउनु र राति पसिना आउनु ।

- क्षयरोगको उपचार सम्भव छ, तर समयमै उपचार नगराउँदा ज्यान पनि जान सक्छ ।

- बीसीजी खोपले क्षयरोगबाट जोगाउँछ। यो खोप क्षयरोगको जोखिममा रहेका बालबालिका तथा ३५ वर्षमुनिका वयस्कलाई दिन सकिन्छ ।

- जोखिममा पर्ने समूहः क्षयरोगको उच्च सङ्क्रमण देखिएका क्षेत्रमा बस्ने बालबालिका र क्षयरोगी उच्च दरमा रहेका देशमा बस्ने परिवारका मानिस ।


 

More form the Internet

loading...