Suvadin, Home
Nepal Telecom 927.2k

हामीले खाने तेल-घ्यूमा ‘क्यान्सर लाग्ने’ जीवाणु

नेपाली उपभोक्ताले उपभोग गरिरहेको तेल र घ्यूमा क्यान्सर रोग निम्त्याउन सक्ने विषाक्त पदार्थ भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभरबाट संकलित नमूना जाँच गर्दा तेल र घ्यूमा ‘पेरोक्साइड’ र ‘एसिड भ्यालु’ तत्व तोकिएको मापदण्डभन्दा बढी पाइएको छ। ती तत्वको अत्यधिक प्रयोगले क्यान्सर रोग निम्त्याउन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र भट्टराई बताउँछन्।
फेमिली तेल।

काठमाडौं, पुस १३


नेपाली उपभोक्ताले उपभोग गरिरहेको तेल र घ्यूमा क्यान्सर रोग निम्त्याउन सक्ने विषाक्त पदार्थ भेटिएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभरबाट संकलित नमूना जाँच गर्दा तेल र घ्यूमा ‘पेरोक्साइड’ र ‘एसिड भ्यालु’ तत्व तोकिएको मापदण्डभन्दा बढी पाइएको छ। 

 ती तत्वको अत्यधिक प्रयोगले क्यान्सर रोग निम्त्याउन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र भट्टराई बताउँछन्।

यस आर्थिक वर्षमा देशभरिका उद्योगबाट संकलित नमूना परीक्षण गर्दा यस्तो पाइएको विभागले जनाएको छ।

विभागका अनुसार यस आर्थिक वर्षमा देशभरका १० वटा उद्योगबाट संकलन गरिएको नमूना परीक्षण गर्दा उत्पादित तेल तथा घ्यू विषाक्त पाइएको हो। विषाक्त तेल र घ्यू उत्पादन गर्ने ती उद्योगलाई खाद्य ऐन २०२३ अनुसार मुद्दा चलाइएको छ। 

गत वर्ष पनि देशभरका ४७ वटा उद्योगको नमूना प्रशिक्षण गर्दा २८ वटा उद्योगबाट उत्पादित तेल तथा घ्यू विषाक्त पाइएको थियो। ती उद्योगलाई विभागले मुद्दा चलाइसकेको छ। 

खाद्य ऐन २०२३ अनुसार कम गुणस्तर वा विषाक्त खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई तीन महिनादेखि एक वर्षसम्म कैद वा दस हजारसम्म जरिवानाकाे व्यवस्था छ।

उद्योगबाट उत्पादित घ्यू तथा तेल छ महिना वा एक वर्ष बढी समय स्टोरमा राखिने कारण विषाक्क्त हुने गरेको विभागका सह–प्रवक्ता मदन चापागाईंले बताए। उनका अनुसार प्रशोधित तेल धेरै पुरानो भएर ‘फ्रि रेडिकल’ बढ्छ। त्यस्तो तेलले शरीरभित्रका अंगलाई नकारात्मक असर पार्ने हुँदा खान अयोग्य भएको हो। 

उद्योगबाट उत्पादित तेल सामान्यतया छ महिना वा एक वर्ष अवधिसम्म उपभोग गरिसक्नु पर्छ, तर बजारमा उत्पादित तेल चाहिँ उपभोग मिति सकिएपछि त्यसलाई मिति परिर्वतन गरेर पुनः बिक्री गरेकाले यस्तो भएको हुन सक्ने विभागको भनाइ छ। 

उत्पादनका लागि राम्रो कच्चा पदार्थ प्रयोग नगर्दा पनि विषाक्त हुने विभागका सह–प्रवक्ता मदनकुमार चापागाईंको भनाइ छ।

खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर मापदण्ड २०७३ अनुसार प्रशोधित तेल भन्नाले कुनै पनि किसिमको पेलेर निकालिएको वनस्पति तेल, जसलाई क्षार न्यूट्रलाइज्ड गरी एब्जर्वेन्ट अर्थ वा एक्टिभेटेड कार्वन वा दुबैको प्रयोगद्वारा रंगरहित पारिएको तेललाई मानिन्छ। विभागले तोकेको मापदण्डभन्दा पेरोक्साइड भ्यालु र एसिड भ्यालुु बढी पाएकोले ती तेल र घ्यू विषाक्त प्रमाणित भएको विभागका सह–प्रवक्ता चापागाईंले बताए। 

विभागका अधिकारीहरूका अनुसार २०२३ सालमा बनेको खाद्य ऐनमा व्यवस्था गरिएको सजायको रकम अहिले व्यावहारिक छैन। सजाय बृद्धि गर्न भनेर चार वर्षअगाडि ऐन संशोधनको प्रस्ताव गरी मन्त्रालय पठाएको भए पनि संशोधन हुन सकेको छैन। त्यसकारण पटक–पटक बदमासी गर्दा पनि उद्योगले उन्मुक्ति पाइरहेका छन्।


 

More form the Internet

loading...