Suvadin, Home

Cover Image

उच्च रक्तचाप नियन्त्रणका उपायहरू

उच्च रक्तचाप भएका ५–१०% बिरामीमा उच्च रक्तचाप अरु नै कुनै रोगको कारणले हुने गर्छ। यसैले उक्त रोगको निदान र उपचार गर्न सकियो भने उच्च रक्तचाप निको हुन्छ अन्यथा ९० प्रतिशतभन्दा बढी बिरामीका लागि उच्च रक्तचाप निको नहुने तर नियन्त्रण हुने रोग हो।

-डा. नारायण सिंह गुरुङ 

काठमाडौं, २५ माघ – सामान्यतया १२०\८० भन्दा कम रक्तचापलाइ सामान्य रक्तचाप मान्नु पर्छ। १२०–१२९\८० लाई रक्तचाप बढ्न थालेको अवस्थाको रुपमा लिनु पर्छ। १३०-१३९ र ८०-८९ छ भने उच्च रक्तचापको पहिलो अवस्था मानिन्छ। १४०\९० वा सो भन्दा बढी लाइ उच्च रक्तचापको दोस्रो अवस्था मानिन्छ।

उच्च रक्तचाप भएका ५–१०% बिरामीमा उच्च रक्तचाप अरु नै कुनै रोगको कारणले हुने गर्छ। यसैले उक्त रोगको निदान र उपचार गर्न सकियो भने उच्च रक्तचाप निको हुन्छ अन्यथा ९० प्रतिशतभन्दा बढी बिरामीका लागि उच्च रक्तचाप निको नहुने तर नियन्त्रण हुने रोग हो।

रक्तचाप विभिन्न अवस्थामा तलमाथि भइरहन्छ यसैले उच्च रक्तचाप नै हो भन्ने निर्क्योल गर्न उपयुक्त तरिकाले फरक–फरक समयमा २–३ पटक रक्तचाप जाँच्नुपर्छ। उच्च रक्तचाप निर्क्योल गर्न र औषधि शुरु गर्न सम्बन्धित विषयको विज्ञ चिकित्सकसँग जँचाएर निर्णय लिनु बुद्धिमानी हुन्छ। उच्च रक्तचापले मुटु, मस्तिष्क, मिर्गौला र आँखामा असर पार्ने मात्र नभइ ज्यानै लिन पनि सक्छ।

उच्च रक्तचापका बिरामीहरूलाई जीवनभरि औषधि सेवन गर्नुपर्ने चिन्ताले सताइरहेको हुन्छ। यदि जीवनयापनको शैली परिवर्तन गरेर रक्तचापलाइ नियन्त्रणमा राख्न सकियो भने औषधि खानु नपर्ने परिस्थिति सृजना हुन पनि सक्छ वा चिकित्सकको सल्लाहमा औषधिको मात्रा घटाउन सकिन्छ, तर चिकित्सकको सल्लाहबिना आफूखुशी औषधि छोड्ने भुल कहिल्यै गर्नु हुँदैन।

कस्तो जीवनशैली अपनाउने ?

नियमित व्यायाम गर्ने– नियमित व्यायाम गर्नु चुनौतीपूर्ण हुन्छ। बाध्यताको रूपमा गरिने व्यायाम दिगो हुँदैन। व्यायामलाई बाध्यता होइन बानीमा परिवर्तन गर्नुपर्छ। नियमित गरिने दैनिक कार्य जसमा पसिना आउँदैन, मुटुको धड्कन र सास बढ्दैन, त्यसलाई व्यायाम भनिँदैन।

दिनहुँ २५–३० मिनेट व्यायाम गर्नाले ५–८ मिमि रक्तचाप घट्छ। व्यायाम नियमित गर्नुपर्छ। किनकि व्यायाम छोड्नासाथ रक्तचाप बढिहाल्छ। हिँडेर, दौडेर, नाचेर, योग गरेर, करेसाबारीमा काम गरेर पनि व्यायाम गर्न सकिन्छ।

स्वस्थकर खाना खाने– दाल, गेडागुड़ी, माछामासु, तर निकालेको दूध दही एक भाग र भात, रोटी ढिडो एक भाग र तरकारी एक भाग र फलफूल एक भाग, बराबर भाग लगाएर खाने गर्नु राम्रो हुन्छ। बोसो, घिउ जस्ता चिल्लो पदार्थ असाध्यै कम मात्रामा खानुपर्छ। खानपानमा परिवर्तन गर्नाले ११ मिमि रक्तचाप घट्न सक्छ।

नुनको मात्रा घटाउने– थोरै मात्र नून घटाउनाले ५–६ मिमि रक्तचाप घट्न सक्छ। प्रतिदिन बढीमा २३०० मिग्रा सकेसम्म १५०० मिग्रा भन्दा कम नुन खानु बेस हुन्छ। भोजभतेरमा, बजारमा पाइने स्वादिष्ट तर अस्वस्थ्यकर नुनिलो चिल्लो खानेकुराबाट टाढा रहनु बेस। खल्लो खाना खाने बानी बसाल्नु पर्छ। स्वादका लागि नुन थपेर कहिल्यै खानु हुँदैन।

मोटापन घटाउने– मोटाउनुको अर्थ रक्तचाप बढाउनु हो। मोटो मानिसलाई सुत्दा सास फेर्न गाह्रो हुन्छ र रक्तचाप झनै बढ्छ। अलिकति मात्रै पनि वजन घटाउनाले रक्तचाप घट्छ। एक किलो वजन घटाउनाले एक मिमि रक्तचाप घट्छ। मानौँ तपाईँको वजन १० किलो बढी छ, रक्तचाप १० मिमि बढी छ यदि तपाईँले १० किलो वजन घटाउनु भयो भने रक्तचाप सामान्य हुन सक्छ।

चिटिक्क कम्मर भएको मान्छे सुन्दर र स्वस्थ देखिन्छ तर भुँडी लागेको मान्छे कुरुप र अस्वस्थ। कमरको नाप ४० सेन्टिमिटर भन्दा बढी भएको पुरुष र ३५ सेन्टिमिटर भन्दा बढी भएका महिलाको रक्तचाप बढ्ने सम्भावना बढी हुन्छ। यसैले भुँडी लाग्न दिनु हुँदैन। लागेको छ भने घटाइहाल्नुपर्छ।

मदिरा सेवन नगर्नु बेस– मदिरा विभिन्न खालका हुन्छन्। तिनमा अल्कोहलको मात्रा भिन्न भिन्न हुन्छन्। पुरुषले प्रतिदिन ३६० मिलि बियर, १५० मिलि वाइन, ४५ मिलि कडा खालको रक्सी पिउँदा (महिलाले आधा) स्वास्थ्यलाई धेरै हानी नहुन पनि सक्छ। तर मात्रा बढी भयो भने मदिराले रक्तचाप बढाउँछ अर्थात् लाभ हानिमा परिवर्तन हुन्छ। यसैले मात्रा मिलाएर पिउन झञ्झटिलो त छँदैछ यसले अन्य रोगहरू निम्त्याउने हुँदा सकेसम्म नपिएकै बेस।

धूमपान नगर्ने– धूमपानले रक्तचाप बढाउँछ। क्यान्सर लगायत खतरनाक रोगहरु निम्त्याउँछ। यसैले धूमपान नगर्नु राम्रो।

तनावमुक्त हुने प्रयास गर्ने– तनावले रक्तचाप बढाउँछ। तनावको कारण पत्ता लगाएर निराकरण गर्ने कोशिश गर्नुपर्छ। धेरै महत्त्वाकांक्षी बन्नुहुँदैन। सक्दो प्रयास गर्नु त पर्छ तर आफूलाई अरुसँग दाँज्ने काम साह्रै घातक हुन्छ। तनावमुक्त हुने। रमाइलो गरेर बाँच्ने।

घरैमा वा उपयुक्त तरिकाले रक्तचाप नाप्न जाँच्ने– सम्भव भएसम्म नजिकै औषधि पसल वा नजिक रहेका स्वास्थ्यकर्मीसँग वेलावेलामा रक्तचाप जाँच्ने गर्नुपर्छ।

चिसोबाट बच्ने– चिसोले रक्तनलीहरु साँघुरिन्छन्। अनि रक्तचाप बढ्छ। अनियन्त्रित रूपमा बढेको रक्तचापले हृदयाघात, मस्तिष्काघात गराउँछ। अपांगताको सम्भावना बढाउने मात्र होइन मृत्यु नै हुन सक्छ।

जाडोयाममा न्यानोका लागि भन्दै धूमपान, मदिरा सेवन धेरै गर्नेहरू पनि छन्। खानेकुरा बढी रुच्छ तर शारीरिक व्यायाम कम गरिन्छ। फलस्वरूप रक्तचाप बढ्छ। त्यसैले चिसोबाट जोगिनु पर्छ तर नियमित व्यायाम गर्न छोड्नु हुँदैन।

अन्त्यमा, औषधि खाएर मात्र उच्च रक्तचाप नियन्त्रण नहुन सक्छ। स्वस्थकर जीवनशैली, नियमित औषधि सेवन एवं स्वास्थ्य परीक्षण तथा चिकित्सक बिरामीबीचको उचित समझदारीले मात्र उच्च रक्तचाप नियन्त्रण हुनसक्छ। साभार ः हेल्थ टिभि 


 

More form the Internet

loading...