Suvadin, Home

विचौलिया र डाक्‍टरको मिलेमतोमा चार हजार महिलाको पाठेघर निकालियो 

एजेन्सी । भारतको महाराष्ट्र राज्यको बिड जिल्लामा उखु खेतीमा काम गर्ने धेरै महिलाको पाठेघर निकालिएको समाचार बाहिर आएको छ । उखु खेतीमा मजदुरी गर्ने ४ हजार ६ सय पाँच जना महिलाको पाठेघर निकालिएको सार्वजनिक भएको हो । समाचारमा बच्चा जन्माउँदा उखु खेतीमा प्रभाव पर्ने भन्दै महिलाहरूको पाठेघर निकालिएको खुलाइएको छ । बच्चा जन्माउन नसक्ने महिलाहरूले निरन्तर उखु काट्न सक्ने भन्दै पाठेघर निकालिएको हो ।

यसबारे महाराष्ट्र विधान परिषदका स्वास्थ्य मन्त्री एकनाथ शिन्देले जानकारी दिएका थिए । उनले गत मंगलबार मन्त्रालयका मुख्य सचिवको अध्यक्षतामा गठित समितिलाई प्रभावित जिल्लामा पाठेघर निकालिएको बारे जाँच गर्न पठाएका छन् । स्वास्थ्य मन्त्री शिन्देले विधानपरिषदमा शिवसेनाका दुई महिला सदस्य निलम गोहरे र मनिषा कायदेले गरेको प्रश्नमा साे जानकारी दिएका थिए ।

शिवसेनाका सदस्य गोहरेले परिषदमा यस बारे संसदमा मुद्दा उठाएकी थिइन । उनले भनिन्, 'बिड जिल्लामा उखु खेतीमा काम गर्ने महिलाको पाठेघर निकालिएको छ, जसले महिलाको महिनावारी र बच्चा जन्माउने अधिकार रोकिदिएको छ ।'

शिवसेनाकी सदस्य गोहरेको जवाफ दिँदै मन्त्री शिन्देले सदनलाई गत तीन वर्षदेखि यस जिल्लाका ४ हजार ६ सय पाँच जना महिलाको पाठेघर निकालेको जानकारी दिएका थिए । बिड जिल्लाको सिविल सर्जनको अध्यक्षतामा गठित समितिको जाँचमा यस्तो शल्यक्रिया सन २०१६ देखि २०१९ बीचमा ९९ सय निजी अस्पतालमा भएको तथ्य फेला पारेको थियो । अप्रेसन भएका महिलामध्ये कतिपयले अहिले उखु खेतीको काम छाडेको मन्त्री शिन्देले बताएका थिए । समितिका अनुसार पाठेघर निकालिए महिलाहरूको उमेर २५ देखि ३० वर्षसम्म थियो । 

यस घटनाबारे जाँच गर्न राज्य सरकारले बुधबार एक समिति गठन गरेको छ । स्वास्थ्य विभागका प्रधान सचिवको नेतृत्वमा बनेको समितिमा तीन जना स्त्रीराेग विशेषज्ञ र केही महिला सांसदहरू रहेका छन् । यसबारे समितिले दुई महिनामा आफ्नाे प्रतिवेदन पेश गर्ने छ । राज्य सरकारले सबै चिकित्सलाई अनावश्यक रूपमा पाठेघर ननिकाल्न आदेश दिएको छ । समितिले पाठेघर निकालिएका सबै घटनाको जाँच गर्ने छ । त्यसका लागि सबै पीडितसँग जानकारी लिने काम भइरहेको छ ।

सांसद गोहरेले भनेकी छन्, ‘निजी डक्‍टरहरूले यति धेरै महिलाको पाठेघर निकालिदिए । यी सबै उखु काट्ने मजदुर हुन् । यो कुनै षड्यान्त्र पनि हुन सक्छ । बिचाैलिय र डाक्टरको मिलेमतोमा यस्तो काम भएको पनि हुन सक्छ । अर्को कारण महिनावारी र गर्भवती हुँदा बिदा दिनु पर्न भएकाले पनि यस्तो गरिएको हुन सक्छ ।' 

स्मरणीय छ, राष्ट्रिय महिला आयोगले गत अप्रिलमा सञ्चार माध्यममा यो खबर आएपछि राज्यको मुख्य सचिवलाई पत्र लेखेर जानकारी गराएको थियो ।


 

More form the Internet

loading...