Suvadin, Home

जाजरकोटमा भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ।
फायल तस्वीर।

जाजरकोट, २७ पुस – जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा २ सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। भाइरल ज्वरोबाट बुधबार थप १ जनाको ज्यान गएको हो।

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ।

गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन् । उनलाई रुघाखोकी र ज्वरो आएको थियो। समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका छ जना छन्। जुनीचाँदे–२ मजकोटबाट शुरु भएको भाइरल प्रकोप वडा नम्बर–१, २, ३, बाट अहिले ४, ५ र १० नम्वर वडामा फैलिएको छ।

शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ। शिविरमा एक हजार २ सय जनाको उपचार गरिएको छ। उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डाक्टर शाक्यले जानकारी दिए।

उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि पाँच प्रतिशतचाँहि कडा र सिकिस्त बिरामी रहेको डा शाक्यले जानकारी दिए।

भाइरल प्रभावित गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक–स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा लिन नसकेपछि बुधबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ।

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा भूपेन्द्रप्रकाश मल्लसहित चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा गएको छ।

नेपाली सेनाको टोली प्रभावित क्षेत्रको स्थलगत अध्ययनका साथै सोमबार केही बिरामीको उपचार गरी मंगलबार फर्किएको छ। नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मी सहितको टोली पनि प्रभावित क्षेत्रमै छ।

भाइरल ज्वरो बढेपछि एचवानएनवान् अर्थात कडा खालको मौसमी रुघाखोकी सिजनल फ्लुको आशंका गरिएको छ।

रोग पहिचानका लागि बिरामीको रगत तथा खकार र मृतकको रगतका नमुना संकलन गरी बुधबार टेकुस्थित प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाकी बालरोग विशेषज्ञ डा नम्रता सिन्दान नेतृत्वको टोली बुधबार प्रभावित क्षेत्रतर्फ खटाइएको छ । औषधि अभाव हुन नदिन सुवानाउलीमा औषधिको बफर स्टक’ राख्ने तयारी भएको उनले बताए ।

यसैबीच, बुधबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले तत्काल प्रकोप नियन्त्रणमा लिन उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको छ।


 

More form the Internet

loading...