Suvadin, Home

छात्राको पीडा,‘पानी छैन् शौच कसरी जानु?’

कात्तिके देउराली- ७ की शुभद्रा गिरीलाई घरबाट विद्यालय पुग्न आधा घन्टा लाग्छ। वडा नम्बर-२ स्थित प्रभा उच्च माविमा कक्षा ९ मा अध्ययनरत् उनी बिहान उठेर विद्यालय गएदेखि बेलुका घर नफर्कुन्जेलसम्म शौचालय जान पाउँदिनन्।

काभ्रे, माघ १९ - कात्तिके देउराली- ७ की शुभद्रा गिरीलाई घरबाट विद्यालय पुग्न आधा घन्टा लाग्छ। वडा नम्बर-२ स्थित प्रभा उच्च माविमा कक्षा ९ मा अध्ययनरत् उनी बिहान उठेर विद्यालय गएदेखि बेलुका घर नफर्कुन्जेलसम्म शौचालय जान पाउँदिनन्।

विद्यालयमा पानीको अभाव छ। त्यसैले शौचालय प्रयोग गर्न नपाएका कारण बेलुका घरमा नै पुगेर शौच गर्ने गरेको बताउँछिन्। ‘हाम्रा विद्यालयमा शौचालय त छ तर पानी नहुदा कोही पनि जाँदैनन्,’ उनले भनिन्। पानी अभावले घरबाट आएपछि घरमा नै पुगेर मात्रै शौच गर्नुपर्ने बाध्यता छ।

उनीसँगै अध्ययनरत् छात्रा मनिषा परियार भन्छिन्, ‘यस्तो समस्या हाम्रो लागि त सामान्य भइसक्यो। यहाँ पढ्न आउने सबै विद्यार्थीको समस्या एउटै हो। शौचालय भवनमाथि ट्यांकी भए पनि पानीको अभावका कारण कहिल्यै शौचालय प्रयोग गर्न नपाएको दुखेसो छात्राले गरे।

कक्षा १० मा अध्ययनरत अस्मिता गौतमले विद्यालयमा दुई वटा  शौचालय भए पनि एउटा चाहिँ कहिलेकाहीँ मात्रै खोल्ने गरेको बताइन्। ‘एउटा प्रायः बन्द हुन्छ, अर्को सधैं खुल्नेमा पानी नै हुँदैन, त्यसैले हामीलाई विद्यालय आउने बेलामा पानीको अभावका कारण दिसा गर्न पाउँदैनौं,’ उनले सुनाइन्।

विद्यालयको हाताभित्र रहेको एउटा सानो धारोमा गाउँभरिका मान्छे पानी लिन जम्मा हुने भएकाले विद्यालयले भनेजति पानी प्रयोग गर्न नपाएको विद्यार्थीको भनाइ छ। विद्यालयमा छात्रामैत्री शौचालय भए पनि पानीको अभावका कारण प्रयोगमा ल्याउन नसकेको शिक्षक चुडा कोइरालाले बताए। पानीको वैकल्पिक व्यवस्था नभएको र भएको एउटै धारो पनि बजारभरिकाले प्रयोग गर्दा पानीको अभाव भएको उनको भनाइ छ। रासस

 


 

More form the Internet

loading...