Suvadin, Home

संगीत सुन्ने बानीले आत्मा र शरीरमा शान्ति, यस्ता छन् अन्य फाइदा

काठमाडौं । संगीत स्‍नायु विज्ञानमाथि अनुसन्धान गरिरहेका मनोवैज्ञानिक ड्यानियल जे लेभिटिनका अनुसार मानसिक र शारीरिक स्वास्थ्यका लागि संगीत चिकित्साका परिणाम रोचक छन् ।  अनुसन्धानका अनुसार यसले रोगप्रतिरोधात्मक क्षमतामा सकारात्मक असर पर्छ । यसले तनाव दिने हर्मोन कम गराउँछ ।

संगीतका अतिरिक्त आमाको लोरीलाई पनि महत्त्वपूर्ण मानिएको छ । लोरी सुन्ने बानी परेको बच्चा शान्त र सजग हुन्छ । बच्चालाई निद्रा लाग्छ र ऊ घरिघरि रुँदैन । संगीत थेरापीले गर्भवती महिलाको तनाव पनि कम हुन्छ ।

संगीत सुन्ने बानीले आत्मा र शरीरका लागि औषधिको काम गर्छ । कतिपय रोगमा औषधिले काम नगरेपनि संगीतले जादूमयी असर देखाउँछ । संगीतले मानिसलाई जिउने भावनाको जन्म गराउँछ ।

संगीत मानवजीवनको हिस्सा शताब्दियौंदेखि छ । संगीतलाई हरेक संस्कृतिले पूजा गर्छ किनकि यो हरेक संस्कृतिको पहिचान हो । 

संगीत सुन्दा यी शारीरिक र मानसिक फाइदा हुन्छन् ।

यसले तनाव र चिन्ता भगाउँछ । शरीरको कोर्टिसोल स्तर कम गरेर यसले तनावग्रस्त मांसपेशीहरूलाई आराम दिन्छ । नियमित संगीत सुन्दा दिमागले राम्ररी काम गर्न पाउँछ ।

असहनीय पीडाबाट गुज्रिरहेका मानिसलाई संगीत सुनाउँदा आराम पुग्छ । क्यानाडाको अल्बर्टा विश्वविद्यालयमा तीनदेखि ११ वर्षसम्मका ४२ बालबालिकालाई इन्जेक्सन लगाउने बेलामा संगीत सुनाउँदा कम पीडा महसूस भएको थियो ।

संगीत श्रवणले शरीरमा इम्युनोग्लोबुलिन ए बढाउँछ । यो एन्टीबडीले शरीरका कोशिकाहरू स्वस्थ राख्नका लागि ठूलो काम गर्छ । संक्रामक रोग लागेकाहरूलाई उपचारका बेलामा संगीत सुनाउँदा प्रतिरक्षा प्रणालीमा सकारात्मक असर पर्छ । घरिघरि बिरामी हुनबाट बच्नुछ भने संगीत सुन्न थाल्नुस् ।

ढाडको समस्या हटाउन, स्मरण शक्ति दह्रो बनाउन र राम्रो निद्रा ल्याउन पनि संगीत प्रभावकारी हुन्छ ।

तर सुमधुर संगीत सुन्दा मात्र यी असर देखिने हुन् । चर्को, डाङडुङे र कर्कश संगीत सुन्दा चाहिँ तनाव थपिन्छ । 

एजेन्सीको सहयोगमा


 

More form the Internet

loading...