सुगर र प्रेसरका बिरामीलाई विशेष सल्लाह
दशैंको चुल्होः के खाने, के नखाने? (हेर्नुहोस्, डा. आदर्श प्रधानका १० टिप्स्)
कुशुम पाैडेल, काठमाडाैं, असाेज १३ – दशैंको बेलामा प्रायः आफ्नो स्वास्थ्यलाई पनि त्यतिकै ध्यान दिनुपर्छ। चिल्लो, पिरोको ख्याल नगरी मन लाग्दो खाना खानु हुँदैन। चाडपर्वका बेलामा मानिसहरुले आफ्नो खानपानमा ख्याल राख्नु अत्यन्त आवश्यक छ।
चाडपर्व भन्ने बित्तिकै रक्सी, मासु, धुमपानजस्ता कुराहरुको प्रयोग ज्यादा हुनेगर्छ, जसको सोझो असर मानिसको स्वास्थमा पर्छ। त्यसै कारण चाडपर्वका बेला के खाने तथा के नखाने कुरामा सबैजना सचेत हुन आवश्यक रहन्छ।
कसरी स्वास्थ्य रहने भन्ने विषयमा डाक्टर आदर्श प्रधानसँग शुभदिनले कुराकानी गरेको छ। उनले खानाको मात्रा र परिकारभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। जसले गर्दा स्वास्थ्यमासमस्या आउँदैन।
दशैंमा धेरै चिल्लो र फ्राई गरेका खानेकुरा तथा माछामासु खाने चलन छ। त्यस्तै फलफूल, अचार, पेयपदार्थ पनि धेरै खाइन्छ। यस्ता खाद्यपदार्थले उच्च रक्तचाप र महुमेधका बिरामीलाई धेरै हानी पुर्याउँछ।
धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन। तेल, घिउँ खाँदा त्यसबाट विषालु पदार्थ उत्पादन हुन्छ। र, त्यसबाट मुटुलाई निकै नै हानी पुर्याउने प्रधानले बताएका छन्।
बासी माछामासु धेरै दिनसम्म नखान प्रधानको सुझाव छ। बासी खाँदा खानेकुरा दुषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाईदा गर्ने उनले धारणा छ।
‘जति खानेकुरा बनाइन्छ, त्यसको शुद्धीकरणमा ध्यान दिनुपर्छ, सरसफाई र स्वस्थकर खानेकुरा नै रोज्नुपर्छ,’ उनले भने, ‘सुगर, प्रेसर, दम र ग्याष्ट्राइटिसका बिरामीले त विशेष ध्यान दिनुपर्छ।’
उनका अनुसार सुगरका बिरामीले गुलियो र चिल्लो पदार्थ छुनु पनि हुँदैन। ‘प्रेसरका बिरामीले पनि नुनिलो खानेकुरा र मादक पदार्थ खान भएन,’ उनले भने, ‘जथाभावी खानेकुरा खाँदा हृदयघात पनि हुने भएकाले विशेष ध्यान दिनुपर्छ, दमका बिरामीलाई चिसो खानेकुरा र पेय पदार्थ खाँदा असर पुर्याउँछ।’
होटल तथा रेष्टुरा सञ्चालकहरुले पनि अरुको लागि होइन, मेरै लागि खानेकुरा बनाउँदैछु भनेर ध्यान दिनुपर्छ।
आफ्नो स्वास्थ्यको लागि आफैं ख्याल गरौं, आफ्नो स्वास्थ्यको लागि आफैं डाक्टर बनौं भन्ने उनको सुझाव छ। ‘खानेकुरा बनाउने होटल तथा पार्टी आयोजना गर्नेहरुले पनि अरुको लागि होइन, मेरै लागि खानेकुरा बनाउँदैछु भनेर ध्यान दिनुपर्छ,’ उनले भने।
उनले खानेकुरा खाँदा पनि त्यतिकै ध्यान दिनुपर्ने बताएका छन्। उनी भन्छन्, ‘खानेकुरा खाँदा पनि त्यतिकै रुपमा धेरै विचार पुर्याउनु पर्छ।’ ग्याष्ट्राइटिसका बिरामीले दिनको तीन–चार पटक खानुपर्ने उनले बताएका छन्।
‘सुगरका बिरामीले पेटभरि खानु हुँदैन, अड्कल गरी-गरी खानुपर्छ, प्रेसरका बिरामीले चिल्लो कम खाने, दमका बिरामीले धेरै चिसो नखाने, तातो नखाने, धूवाँधुलोबाट टाढा रहनु पर्छ,' डा. प्रधानले भने, ‘स्वास्थ मान्छेले पनि दिनमा तीन-चार पटक मात्रै खाने। एकैपटक धेरै खान हुँदैन। काम अनुसार खाने हो।'
दुईहजार देखि तीन हजार क्यालोरीसम्म खान उपयुक्त हुन्छ। धेरै काम गर्नेलाई तीन हजार क्यालोरी र बसेर खानेलाई १८ सयदेखि दुई हजार क्यालोरी ठीक हुने उनले बताएका छन्।
१८ सयदेखि तीन हजार क्यालोरीसम्म पुग्ने गरी खान उपयुक्त हुन्छ। मासु नखानेले पनि धेरै ध्यान दिनुपर्छ। प्रोटिनका लागि मासुको सट्टा केराउ, भटमास, च्याउ, दाल लगायत खानेकुराको प्रयोग गर्ने चलन छ।
यी खानेकुरा पनि धेरै खान हुँदैन। दिनमा ६० ग्राम प्रोटिन या बोसो भयो भने उपयुक्त हुन्छ। स्वास्थ हुनुका लागि नियमित व्यायाम तथा हरियो सागपात लगायतका खानेकुरामा बढी ध्यान दिनुपर्ने डा. प्रधान बताउँछन्।
चाडपर्वका बेला के खाने तथा के नखाने भन्ने बारेमा डा. अादेश प्रधानले दिएका टिप्सहरु निम्नानुसार छन्ः
- के खाने
–स्वस्थकर खाना खाने
–बोसोरहित मासु मात्रै खाने
–बोसोबिनाको माछामासु खाने
–अल्कोहल खाए ६० एमएलभन्दा कम खाने
- के नखाने
–अस्वस्थकर खाना नखाने
–बढी चिल्लो खानेकुरा नखाने
–जेरी, पनिर आदि नखाने
–पोलेको, फ्रार्इ गरेको खानेकुरा नखाने
–एकपटक प्रयोग गरेको तेल पुनः प्रयोगमा नल्याउने
प्रधानले बजार व्यस्थापनमा पनि सरकारको ध्यान नगएको टिप्पणी गर्दै भने ‘बजारको राम्रो अनुगमन र व्यवस्थापन नहुँदा जनताले स्वास्थ्यमा समस्या झेल्नु परेको पनि छ, यसकारण बजार अनुगमनमा सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ।’
उनले बजारमा बेच्न राखिएका सामग्री हेर्दा कति सफा र कति गुणस्तरीय छ भन्ने बारे विशेष ध्यान दिनुपर्ने बताएका छन्। चाडपर्वमा मिष्ठान्न भोजनका परिकारहरु बढी सेवन गरिने भएकाले स्वास्थ्यलाई फाइदा गर्ने खानेकुराहरुमा बढी ध्यान दिनुपर्ने उल्लेख गरे।
जसले शरीरलाई फूर्तिलो साथ अघि बढाउन र आलश्य कम गर्ने खानेकुरा सेवनमा विशेष ध्यान दिनुपर्ने हुन्छ। बाँच्नका लागि आहार चाहिएपनि स्वास्थ्यलाई ख्यालमा राखेर आफूलाई फिट हुने गरी भोजन सेवन गर्नुपर्ने छ।
चाडपर्वमा चिल्लो खानेकुरा बढी खाने चलन भएकाले सकेसम्म चिल्लो, पिरो र नुनलाई कमै मात्र खाने र खानेकुरामा घिउँ, चिनी पनि कम गर्नुपर्ने छ। सकेसम्म कुखुराको मासु र माछा सेवन गर्दा उपयुक्त हुने प्रधानले बताएका छन्।
दशैं शरद ऋतुमा पर्ने भएकोले दशैंका दश वटै दिनहरुको उत्तिकै महत्व रहेको हुन्छ। उनले दशैंमा मासुजन्य खानाहरु कम गर्नुपर्ने र दूधजन्य कुराहरुलाई बढी सेवन गर्दा राम्रो हुने बताए। खानापछि तातोपानी पिउन उनको सुझाव छ।
अहिल खानामा गुणस्तर छैन। त्यसैले मासु तथा अन्य परिकारहरु खाँदा कति स्वस्थकर छ भनि जाँच्न आवश्यक छ। त्यसैले स्वास्थ्कर मासु तथा अन्य परिकारहरु खानुपर्छ।
मासु लगायत अन्य चिल्लो परिकारसँगै अल्कोहल तथा धुमपान सेवन बढेको कारणले यस्लाई रोक्नु आवश्यक देखिन्छ। बदलिँदो जीवनशैलीले स्वास्थ्यलाई आघात गर्न सक्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ।