Suvadin, Home

 बालबालिकाको अगाडि अभिभावकले कति बोल्‍नु‍‍‍पर्छ ?

एजेन्सी । एक नयाँ अध्ययनपछि सबै अभिभावकहरुलाई आफ्ना बालबालिकाका अगाडि धेरै बोल्ने गर्न प्रोत्साहन गरिएको छ । बच्चाहरुले हामीले बोलेको धेरै सुनिरहँदा यसले बौद्धिक क्षमता बढाउने र आइ–क्यु पनि वृद्धि गराउन सक्ने बताइएको छ ।  यसरी स्पष्ट बोल्न सुरु नगरेका दुईदेखि चार वर्षका बच्चाहरुमा पनि यसले तर्क गर्ने क्षमता वृद्धि गराउने र सङ्ख्या अनि आकारहरुबारे ज्ञान बढाउने बताइएको छ । 

यसका साथै सो अध्ययनले विविध शब्दहरु प्रयोग गरेर बोल्ने अभिभावकसँग बढी अन्र्तक्रिया गर्नुले पनि बालबालिकालाई धेरै शब्दअर्थ सिकाउन सक्ने पत्ता लगाएको हो । यसरी बालबालिकालाई भाषासँग बढी परिचित गराउँदा उनीहरुले शब्द अनि वाक्यहरुको अर्थ चाँडै बुझ्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । 

यसका लागि योर्क युनिभर्सिटीको शिक्षा विभागका वैज्ञानिकहरुले दुईदेखि चारवर्षका बालबालिकाहरुको लुगामा स–साना अडियो रेकर्डर जडान गरिदिएका थिए । यसपछि अभिभावकसँग तिनको अन्तरक्रिया प्रतिदिन १६ घण्टा गरि तीनदिनसम्म रेकर्ड गरिएको हो ।  यसपछि तिनको बौद्धिक क्षमता परीक्षण गर्न अभिभावकहरुलाई पनि विभिन्न गतिविधिमा संलग्न हुन भनिएको थियो जस्तै चित्र बनाउने  लगायत बच्चाहरुसँग समान कार्यहरु । 

यसक्रममा ठुला मान्छेहरुले बोल्ने शब्दको सङ्ख्याले तिनको कुरा सुनिरहेका बच्चाहरुको बौद्धिक क्षमतामा सकारात्मक प्रभाव पर्ने गरेको पत्ता लागेको अध्ययनकी प्रमुख लेखिका तथा पिएचडी विद्यार्थी कटरिना डीएपिस बताउँछिन् । 

उनी भन्छिन्, “ती अडियो रेकर्डहरुले हामीलाई पारिवारिक वातावरणमा बालबालिका र अभिभावकबीच वास्तविक जीवनमा हुने अन्र्तक्रियाबारे अध्ययन गर्ने मौका दिलायो जसले ल्याबमा गरिने अध्ययन भन्दा प्रभावकारी नतिजा दिलाउन सक्छ । तरपनि यस्तो हुनु पछाडिका कारणहरुबारे थप जानकारी संकलन गर्न अझै धेरै अनुसन्धान गर्नुपर्ने हुन्छ । अनि मात्र हामीले बालबालिकालाई भाषासँग बढी परिचित गराउनुले वास्तवमै उनीहरुलाई धेरै सिक्ने अवसर प्रदान गर्नेबारे स्पष्ट जानकारी दिलाउन सक्छ ।”

त्यसैगरी बच्चाहरुलाई हुर्काउने शैलीले पनि उनीहरुको व्यवहारमा प्रभाव पार्ने गरेको बताइएको छ । जस्तै सकारात्मक रुपमा बालबालिकाका प्रत्येक कुराको जवाफ अनि प्रतिक्रिया दिने र अन्वेषण र आत्म अभिव्यक्तिलाई प्रोत्साहन गर्ने गर्दा उनीहरुमा आक्रमकता, भनेको नमान्ने, आतुरता लगायतका लक्षण कम देखा पर्ने गरेको पाइएको हो । 

वरिष्ठ लेखिका तथा प्रोफेसर सोफी भेन स्टमले पनि यो अध्ययन सुरुवाती जीवनमा घरको वातावरण सम्बन्धि हालसम्मकै ठूलो प्राकृतिक अवलोकन भएको बताएकी हुन् ।  यसरी भाषाले मस्तिष्कको विकासमा बढावा दिने सम्बन्धी प्रमाणहरु पहिलेको भन्दा वृद्धि हुँदै गइरहेका छन् । 

यसअघि कम उमेरमै दोस्रो भाषा सिकनुले मस्तिष्कको क्षमता बढाउँछ भन्ने पुष्टि गरिएको थियो । यही विषयमा अनुसन्धान गर्दा एउटा अमेरिकी अध्ययनले पनि बालबालिकाहरु बोल्न सुरु नगर्दै उनीहरुलाई दुईवटा भाषासँग परिचित गराउनुले दिमागमा हुने सेतो पदार्थलाई वृद्धि गराउने जसकारण उनीहरुलाई बौद्धिक क्षमतामा अतिरिक्त फाइदा पुग्ने गरेको पत्ता लगाएको थियो । 

यसरी परिवारमा एउटा भन्दा बढी भाषा बोलेको सुन्दै आइरहेका बालबालिकाहरुको समस्या समाधान गर्ने क्षमता र स्मरण शक्तिमा सुधार आउने गरेको वैज्ञानिकहरुको भनाइ छ । डेलीमेलबाट


 

More form the Internet

loading...