Suvadin, Home

Cover Image

फेसनको फेहरिस्त
शैलजा अधिकारीले भित्र्याएको फेसन उद्यम

नेपालमा फेसन उद्योग र शिक्षालाई व्यापक बनाउने देन शैलजा अधिकारीलाई जान्छ। भारतमा कम्प्युटर साइन्स र फेसन डिजाइन पढेर नेपाल फर्केकी शैलजाले फेसनमै आधारित रहेर स्कुल, कलेज स्थापना गरिन्।
शैलजा अधिकारी।

शुभदिन संवाददाता काठमाडौं, वैशाख १० - सन् १९९७ सम्म नेपालमा फेसनसम्बन्धी शिक्षा तथा फेसन उद्योगबारे कमैलाई जानकारी थियो। सहर बजारमा बसोबास गर्नेहरूमा पनि फेसनबारे त्यति आकर्षण थिएन।

एक त फेसन के हो भनेर जानकारी दिने उद्देश्य राखेर कुनै संघ–संस्था खुलेनन्, तालिम र शिक्षा थिएन। अर्को चाहिँ त्यससम्बन्धी दक्ष व्यक्ति नेपालमा भेटिन निकै मुस्किल थियो। कोही थिए भने पनि उनीहरू फेसन क्षेत्रमा झ्याप्प हाम्फालेनन्।

सन् १९९७ सालमा जब आइइसी स्कुल खुल्यो, त्यसपछि क्रमशः मान्छेहरूमा फेसनप्रति चासो बढ्न थाल्यो। आइइसीमा फेसनसम्बन्धी नै विषयलाई प्रमुख प्राथमिकतामा राखेर शिक्षा दिन थालियो। त्यसपछि राजधानीलगायत देशका मुख्य सहरमा फेसनप्रति मान्छेहरूको चासो बढ्न थालेको हो।

नेपालमा फेसन उद्योग र शिक्षालाई व्यापक बनाउने देन शैलजा अधिकारीलाई जान्छ। भारतमा कम्प्युटर साइन्स र फेसन डिजाइन पढेर नेपाल फर्केकी शैलजाले फेसनमै आधारित रहेर स्कुल, कलेज स्थापना गरिन्।

सन् १९७४ सालमा जन्मिएकी शैलजाले सुरूवातमा बागबजारमा आइइसी स्कुल खोलेकी हुन्। नेपालमा बिएस्सी सकेर भारत पढ्न गएकी उनलाई खासमा फेसन डिजाइन र यो उद्योगको विकास गर्ने भित्री मन भने थिएन।

‘१९९५ मा नेपाल फर्केर जब म बैंकमा काम थालेँ, त्यहाँबाट सन्तुष्टि पटक्कै मिलेन,’ शैलजा भन्छिन्, ‘त्यसकारण मैले फेसन उद्योगमा हात हालेँ।’

उनले सुरू गरेको आइइसी स्कुलमा चार सय विद्यार्थी अध्ययनरत् छन्। मन्डिखाटारमा फेसनकै ब्याचलर कोर्समा ३८६ जना विद्यार्थी छन्। नक्सालमा युरो किड्स स्कुल पनि सञ्चालनमै छ।

विद्यार्थीको चाप हेर्दा फेसनप्रति आकर्षण बढेको देखिन्छ। छोटो समयमै फेसनप्रति मान्छेहरूमा बढेको उत्सुकता र चासोले यो क्षेत्र विस्तारै मौलाउँदै गएको अधिकारीको बुझाइ छ। ‘सहर तथा गाउँसम्म पनि फेसन डिजाइनको प्रभाव परेको छ भन्ने मैले बुझेकी छु,’ उनी भन्छिन्।

फेसन शिक्षा लिने कसैले पनि बेरोजगार बस्नु नपरेकोमा उनी खुसी छिन्। उनीकहाँ पढ्ने विद्यार्थी कसैले बुटिक खोलेर जिन्दगी चलाइरहेका छन्, कसैले तालिम केन्द्र खोलेर नयाँ जनशक्ति उत्पादन गरिरहेका छन्। ‘अहिले यो क्षेत्रले भर्खर आकारमात्र लिएको छ, तैपनि फेसन शिक्षा लिने सतप्रतिशतले स्वदेशमै रोजगारी पाएका छन्,’ उनी भन्छिन्।

नेपाली फेसन डिजाइनकी स्थापित व्यक्तित्वभित्र उनी यसरी पनि परिन् कि दक्षिण एसियामै उत्कृष्ट फेसन डिजाइन अर्गनाइजिङ गरेको भनी चीनले उनलाई सम्मान दियो। त्यसले उनको उचाइलाई अन्तर्राष्ट्रिकरण गरेको छ। साथै यस क्षेत्रमा थप काम गर्ने जोशजाँगर प्राप्त भएको छ।

उनी फेसन डिजाइनका सम्बन्धमा जति पोख्त छिन्, व्यक्तित्व निर्माणमा पनि उत्तिकै सजग छिन्। शैलजा गर्मी मौसममा हाफ पाइन्ट र टिसर्टमा रमाउँछिन्। प्रायः वानपिसमा ठाँटिएर हिँड्न रुचाउने शैलजा आफ्ना लागि आवश्यक पहिरन विदेशबाटै खरिद गर्छिन्। ब्रान्डेड नै खरिद गर्नुपर्छ भन्ने मान्यता नराख्ने शैलजा आफूलाई सुहाउने र मन परेको पहिरन तत्कालै खरिद गर्छिन्।

मेकअपको हकमा म्याक ब्रान्डका उत्पादन प्रयोग गर्ने शैलजा आँखाको मेकअपमा बढी ध्यान दिन्छिन्। आई स्याडो, सनक्रिम, कम्प्याक्ट, ब्रसर उनी दैनिकजसो प्रयोग गर्छिन्। अधिकारीको हेयर स्टाइल परिवर्तन भइरहन्छ। व्यस्त दैनिकीका कारण शैलजा सुनका गहनाप्रति खासै चासो राख्दिनन्। औंलामा हीराको औंठी र हातमा चुरा लगाउने शैलजा फेसन ज्वेलरीहरूप्रति भने आशक्त छिन्।
राडो घडी लगाउने शैलजासँग स्वीस घडीको राम्रै संकलन छ। कुन पहिरनमा कस्तो ब्याग सुहाउँछ भन्ने कुरामा ध्यान दिने शैलजा जुत्ताको हकमा पनि चुजी छिन्। व्यक्तित्वका सम्बन्धमा शैलजा भन्छिन्, ‘हामी जब आफ्नो बाहिरी र भित्री दुबै आवरण सन्तुलित ढंगले व्यवस्थापन गर्न सक्छौं तब मात्र व्यक्तित्वमा निखार आउँछ। सकारात्मक सोच, सहयोग, सद्भाव एवं मेहनतले मानिसको व्यक्तित्व निर्माण हुन्छ।’

नेपालमा प्रत्येक वर्ष नेपाल फेसन विक हुन्छ। त्यसको प्रमुख व्यक्ति शैैलजा नै हुन्। फेसन क्षेत्रलाई व्यापक बनाउने सौख छ। तर, झट्टा हेर्दा फेसनमा अलि बढी खर्च हुने गरेको पाइन्छ। तर, उनी यसलाई सामान्य रुपमा लिन्छिन्।

फेसन डिजाइनिङलाई नेपाली समाजमा आकर्षक पेशाका रुपमा पनि लिन थालिएको छ। फेसन डिजाइनकै अर्का ख्यातिप्राप्त व्यक्ति हुन्, प्रबल गुरुङ। उनको फेसन डिजाइनिङले ख्याति कमाएको देखेर युवा हिजोआज यस पेशामा तानिन थालेका छन्।

नेपाली समाजमा विभिन्न किसिमका मान्छे छन्, कसैलाई फेसनप्रति खास रुची पनि छैन। तर, समाज आधुनिकीकरणतर्फ उन्मुख भइरहेको छ र युवापुस्ताले नयाँ–नयाँ किसिमका देशी विदेशी फेसनलाई आत्मसात गरिरहेका छन्। त्यसकारण फेसनप्रति युवापुस्ता नै बढी सजग र आकर्षित रहेको बुझ्न सकिन्छ।

अहिले काठमाडौंमा डब्लुएलसी फेसन कलेज, आइइसी, गर्जेयस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी, द क्रिएसन आइएनआइएफडी, नमुुना कलेज अफ फेसन टेक्नोलोजी, नेपाल इन्स्टिच्युट अफ फेसनलगायतले फेसन डिजाइनिङ सम्बन्धी अध्ययन गराइरहेका छन्। शैलजाले फेसन शिक्षा पोखरासम्म विस्तार गरिसकेकी छिन्।

आ–आफ्नै शैलीमा कक्षा सञ्चालन गर्दै आएका ती कलेज तथा इन्स्टिच्युटमा महंगो शुल्क तिरेर कक्षा लिनेहरूको संख्या ठूलो छ।

फेसन भन्नासाथ सुन्दर र चिटिक्क देखिने गरी लगाउने पोशाक भन्ने बुझिन्छ। आजकलका युवायुवती  शरीरलाई सुहाउने पहिरनमा सजिएर अरुलाई मोहित बनाउन चाहन्छन्। फेसन डिजाइन भनेकै शरीर सुहाउँदो पहिरन बनाउने कला हो। यसभित्र ग्राफिक डिजाइन, हेयर डिजाइनिङ, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, र्याम्प वाकिङ लगायत विषय पनि उतिकै महत्वपूर्ण छन्। ‘मान्छेले समयअनुसार आफ्नो व्यक्तित्व विकास गर्न सक्नुपर्छ, फेसन पनि व्यक्तित्व विकासको एउटा अभिन्न पाटो हो,’ अधिकारी भन्छिन्।

एक छोरा एक छोरी रहेकी अधिकारीको यस वर्ष कलेजमा दुई वटा कक्षा बृद्धि गर्ने लक्ष्य छ। श्रीमान् मनिष दीपक व्यापारिक क्षेत्रमा क्रियाशील छन्। शैलजाका पिता पनि व्यवसायी नै हुन्।
व्यवसायमा आफ्नो परिवारै रहेका कारण र आफूले यही क्षेत्रबाट लोकप्रियता हासिल गरेकाले यसैमा उनले आफूलाई सन्तुष्ट राख्न सकेकी छिन्। ‘फेसन शिक्षा र व्यवसायलाई फराकिलो बनाउँदै लैजाने मेरो उद्देश्य हो,’ उनी भन्छिन्, ‘मिडिया र आम मान्छेहरूको उद्भाव रहेकाले म यो कार्यमा सफल बनिरहेकी छु भन्ने लाग्छ।’


 

More form the Internet

loading...